१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आगो निभाउन छैन दमकल

सर्लाही - बिहीबार बिहान सदरमुकाम मलंगवा नगरपालिका–१० स्थित ६ वटा पसलमा आगो लाग्दा ५९ लाख ५० हजार रुपैयाँभन्दा बढीको धनमाल नष्ट भयो। घटनास्थलबाट करिब एक किलोमिटर दक्षिण रहेको नगरपालिका कार्यालयमा दमकल नहुँदा आगलागीबाट ठूलो धनमालको क्षति व्यहोर्नुप-यो।

मलंगवाको दमकल नहुँदा ३० किलोमिटर उत्तर हरिवनबाट दमकल मगाउनुपरेको थियो। एक मिनेटको दूरीमा स्ट्यान्डबाई रहनुपर्ने मलंगवाको दमकल नभएकाले पौने घण्टा समय लाग्ने हरिवनबाट दमकल आउँदाओर्दा आगोले निकै क्षति गरेको स्थानीय बताउँछन्। हरिवनबाट गएको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा त आयो तर त्यतिखेरसम्म ६ वटा पसलका सामान डढेर खरानी भइसकेको थियो।

२० स्थानीय तह रहेको सर्लाहीमा दुइटा तहमा मात्र दमकल

आगलागीबाट स्थानीय नारायण ठाकुरको फर्निचर पसलका सम्पूर्ण सामान जल्दा २५ लाख, प्रमोद शर्मा ठाकुरको फर्निचर पसल जल्दा १५ लाख, राजकिसुन पण्डितको किराना पसल जल्दा १० लाख, हुसैन मुकेरीको सिरक डसनाको पसल जल्दा चार लाख, पिण्टु यादवको आर्टिस्ट पसल जल्दा तीन लाख र शम्भु ठाकुरको सैलुन जल्दा दुई लाख ५० हजार रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ। आगोले सम्पूर्ण सामान डढेकाले पीडित व्यवसायीको बिल्लीबाठ नै भएको छ।

दुई साताअघि बिग्रिएपछि मर्मतका लागि वीरगन्ज पठाइएको दमकलको सामान नपाउँदा बनाउन ढिलाइ भएको मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले बताए। ‘वीरगन्जमा नपाएपछि भारतको लखनउबाट सामान मगाएर मर्मत गर्नु परेकाले दमकल ल्याउन ढिलाइ भयो,’ सुवेदीले भने, ‘जिल्लामा दमकलको संख्या एकदमै कम हुँदा अधिकांश ठाउँमा कुदाइराख्नुपर्ने भएकाले प्राविधिक समस्या आइराख्ने गरेको छ, फेरि यता कसैले बनाउन पनि सक्दैन।’

नगरपालिकाको दमकल नहुँदा ‘स्टेन्ड बाइ’ नहुँदा ठूलो क्षति व्यहोर्नुपरेको भन्दै मलंगवाबासीले बिहीबार दिउँसो नगरपालिका कार्यालय घेराउनसमेत गरेका थिए। विरोध प्रदर्शन भएपछि हतारहतार दमकल बनाउन लगाएर बिहीबार राति मलंगवा ल्याइएको छ।

यो त एउटा उदाहरण मात्र हो। जिल्लामा हुने अधिकांश आगलागीका घटनामा दमकल अभावले ठूलो परिमाणमा धनमालको क्षति भइरहेको छ। फागुन लागेयता जिल्लास्थित ३७ स्थानमा आगलागीको घटना भएको जिल्ला प्रहरी कार्यालय विशेष शाखाले जनाएको छ। जसमा सयौं घरगोठसहित २० बिघाभन्दा बढीको उखु आगलागीबाट ध्वस्त भएको छ। आगलागीको घटनामा परी करोडौं रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ।

हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाल जिल्लाका अधिकांश ठाउँमा दमकल कुदाउनु पर्दा पटक–पटक प्राविधिक समस्या आउने गरेको बताउँछन्। हरिवन नगरपालिकामा दमकल नयाँ भए पनि दमकल चलाउन सक्ने जनशक्तिको अभाव छ। प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जिल्लामा दमकलको संख्या न्यून हुँदा आगलागीबाट ठूलो धनमालको क्षति भइरहेको बताए। ‘२० वटा स्थानीय तह रहेको सर्लाहीमा दुईवटा तहमा मात्र दमकल रहेको छ,’ विपद्् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रजिअ पोखरेलले भने, ‘जसले गर्दा समयमै दमकल घटनास्थलमा पुग्न नसक्दा ठूलो धनमालको क्षति भइरहेको छ।’

विपद् व्यवस्थापन समितिको बैठकले जिल्लास्थित सबै स्थानीय तहलाई दमकल किन्न अनुरोध–पत्र पठाइएको उल्लेख गर्दै प्रजिअ पोखरेलले भने, ‘अझै कम्तिमा दुई–तीनवटा दमकल तत्काल थपिए मात्र पनि आगलागीको घटना नियन्त्रणमा सहयोग पुग्ने थियो।’

पूर्व प्राधानाध्यापक एवं सामाजिक अभियन्ता रजनिकान्त झा स्थानीय तहहरुबीच समन्वय गरेर तत्काल दमकल खरिद गर्नुपर्ने बताउँछन्। ‘एउटै स्थानीय तहले मात्र दमकल खरिद गर्न आर्थिक रूपले कठिन हुन्छ, त्यसैले वरपरका चार–पाँचवटा स्थानीय तहले समन्वय गरेर दमकल किन्दा राम्रो हुन्छ,’ झाले भने, ‘अहिले दुईवटा स्थानीय तहमा मात्र दमकल छ, त्यो पनि समय–समयमा बिग्रिएर थन्किरहेको हुन्छ।’

प्रकाशित: २४ चैत्र २०७५ ०३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App