१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘जनप्रतिनिधिहरु आफ्नो क्षेत्रको विकास गर्नुभन्दा पनि पैसा कमाउनतिर लागे’

रुकुम– नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री जीवनबहादुर शाहीले स्थानीय तहका जनप्रतिनिधिले जनताको इच्छा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन्। जनप्रतिनिधिले आफ्नो क्षेत्रलाई विकास गर्नको लागि काम गर्नुपर्ने भएपनि पैसा कमाउने काम गरिरहेको उनको भनाई थियो। 

शनिबार रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिकामा काँग्रेसले आयोजना गरेको जागरण तथा विरोध सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनभावना अनुसार काम नहुँदा जनताले संघीयताको अनुभूति समेत गर्न नपाएको उनको भनाई थियो। जनप्रतिनिधिले गाउँको विकास गरेर समृद्ध गराउने भन्दा पनि आफूले आर्थिक कमाउने काम गरिरहेको उनले आरोप लगाए। 

स्थानीय तहमा जनप्रतिनिधिहरु विभिन्न बहानामा भ्रष्टचार गर्न संस्थागत रुपमा लागेको आरोप लगाउँदै पूर्वमन्त्री शाहीले यसलाई रोक्न सबैले खबरदारी गर्नुपर्ने बताए। यहाँका स्थानीय सरकारहरुले उपभोक्ता समितिबाट गर्नुपर्ने काम समेत श्रम सहकारी, युवा क्लब लगायतका विभिन्न नाममा सञ्चालन गरेर भ्रष्टाचार गर्ने गरेको उनले दाबी गरे।

दुई तिहाइको वर्तमान सरकारले जसरी काम गर्न सक्थ्यो त्यसरी कामै नहुँदा जनतामा निराशा पैदा भएको उल्लेख गर्दै दम्भ देखाउनेबाहेक अन्य कुनै पनि काम गर्न नसकेको आरोप लगाए। कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता समेत रहेका शाहीले संघीयताको मर्म अनुसार प्रदेश सरकार सबैभन्दा शक्तिशाली हुनुपर्ने भए पनि अहिले सबैभन्दा कमजोर देखिएको बताए। प्रदेश सरकारलाई संघीय सरकारले सबै अधिकार प्रत्यायोजन नगर्दा सबैभन्दा कमजोर भएको उनको भनाई छ। 

कर्णाली प्रदेश सरकार पछिल्लो समय राजनितिक रुपमा पूर्वाग्रही बन्दै गएको शाहीले गुनासो गरे। यहाँको विकास गर्नको लागि प्रदेश सरकारसंग कुनै ठोस कार्ययोजना समेत नभएको उनको आरोप थियो। ‘निश्चित भिजन भएन भने विकास निर्माणका काम गर्न सकिँदैन्’, प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका शाहीले भने, ‘कुरा गरेर मात्र हाम्रो प्रदेश समृद्ध हुँदैन्, अहिलेको सरकार कुरामा मात्र रमाएको छ।’ मन्त्रीहरुले ठुला ठुला गफ मात्रै गर्ने गरेको र साना साना काम पनि गर्न नसकेको उनको आरोप थियो। प्रशस्त सम्भावना र अवसर हुँदा हुँदै पनि प्रदेश सरकारले विभिन्न बहानामा काम नगरेको नेता शाहीको भनाई थियो। 

प्रकाशित: २३ चैत्र २०७५ १५:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App