१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सञ्चालन नहुँदै क्षमता विस्तार

भैरहवास्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रय विमानस्थल। तस्बिर: नागरिक

भैरहवा– राष्ट्रिय गौरवको आयोजनामध्येको निर्माणाधीन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन र पार्किङ क्षमता बढ्ने भएको छ। अहिले निर्माणाधीन टर्मिनल भवन र पार्किङको क्षमताले भविष्यमा बढ्ने चाप धान्न नसक्ने भएपछि क्षमता बढाउने तयारी गरिएको हो।

आयोजनाले टर्मिनल भवन र पार्किङ क्षमता बढाउने प्रक्रिया पहिलेदेखि नै थालेको भए पनि गत चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थल निरीक्षण गरेपछि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमलाई टर्मिनल भवन र पार्किङ क्षमता बढाउन निर्देशन दिएका थिए।

राष्ट्रिय गौरव आयोजनाका निर्देशक प्रदिप अधिकारीका अनुसार टर्मिनल भवन र पार्किङ क्षमता बढाउन परामर्शदाता (कन्सलट्यान्ट) चयन प्रक्रिया अघि बढेको बताए। परामर्शदाताले विमानस्थलको अध्ययन गरेर के कति क्षमता बढाउने सकिने भनि प्रतिवेदन दिनेछ। हाल निर्माण भएको स्थानमा ६ वटा विमान पार्किङ गर्न सकिन्छ जसलाई स्तरोन्नति गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरहकै कम्तीमा १० वटा विमान अट्ने पार्किङ टर्मिनल भवन बनाउने कि भन्ने योजना छ। अध्ययनपछि डिपिआर तयार गरेर थप टेन्डर आह्वान गरी काम अघि बढाइने उनले बताए।

गौतमबुद्ध विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार भैरहवामा निर्माणाधीन विमानस्थलको टर्मिनल भवन र पार्किङ सन् २०१२ को मोडलमा निर्माण भएकाले सानो भएको हो। यसलाई बढाएर नया मोडलअनुसार अत्याधुनिक टर्मिनल भवन बनाइने छ, जुन काठमाडौंभन्दा बढी क्षमताको हुने छ।

अब बन्ने टर्मिनल भवनमा एरोब्रिज पनि निर्माण हुनेछ। त्रिभुवन विमानस्थलमा समेत नभएको एरोब्रिज नेपालमा पहिलो पटक पोखरामा बन्दै छ। पोखरापछिको दोस्रो भैरहवामा निर्माण हुनेछ। एरोब्रिजको सहयोगमा यात्रु टर्मिनल भवनबाट सिधै विमानमा जान सक्नेछन्।

कालोपत्रेको काम अन्तिम चरणमा
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ। चार तहको कालोपत्रे हुने धावनमार्गको तीन तहको काम सम्पन्न भई अन्तिम तहको आठ सेन्टिमिटरको कालोपत्रे गर्ने काम भइरहेको छ।

‘आउदो असार १३ गते अन्तर्राष्ट्रिय जहाजकोे परीक्षण उडान गर्ने तयारीमा रहेको विमानस्थलको तीन हजार मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्गको काम वैशाखको दोस्रो सातासम्म सकिने छ,’ आयोजना प्रमुख अधिकारीले भने, ‘एक हजार नौ सय मिटर लम्बाइ र २३ मिटर चौडाइको ‘ट्याक्सी वे’को कालोपत्रे (पिच)को काम पनि सँगसँगै भइरहेको छ।’

विमानस्थलको करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको छ। १८ प्रतिशत विद्युत्को काम र १२ प्रतिशत अन्य सिभिलतर्फको काम बाँकी रहेको छ । जुन तोकिएको समयसम्म समानान्तर रुपमा हुन्छ।

हालसम्म विमानस्थलको ६ वटा विमान पर्किङ गर्ने एप्रोनको काम सम्पन्न भइसकेको छ। त्यस्तै विमानस्थलको टर्मिनल भवन, प्रशासनिक भवनको फिनिसिङको काम, कन्ट्रोल टावरको काम अन्तिम चरणमा पुगेको छ। विमानस्थलको स्ट्रक्चरल कम्पोनेन्टमध्येको आगमनतिरका सबै संरचना तयार भइसकेका छन्। छाना फिटिङको काम मात्र बाँकी छ। त्यस्तै प्रस्थानतर्फको ढलानको काम सकिएर छानाको काम भइरहेको छ। विद्युत् सबस्टेसन्, अग्नि नियन्त्रक कक्ष, पानी ट्यांकी, सुरक्षाकर्मीको आवासगृह निर्माणलगायत काम भइरहेको छ। ‘समग्रमा संरचनाको काम पूरा भइसकेको छ। तोकिएको समयमै परीक्षण उडान गर्न सक्छौं,’ अधिकारीले भने।

भौतिक कामसँगै प्रविधिक काम पनि भइरहेको छ भने केही प्रक्रियामा छन्। एयर ट्राफिक कन्ट्रोलका लागि आवश्यक पर्ने उपकरण आयात तथा जडानका कार्यका लागि बोलपत्र तथा अन्य प्रक्रियागत कामलाई तीव्रता दिइएको छ। आवश्यक उपकरण अन्तर्रााष्ट्रिय बोलपत्र आह्वान (आइसिपी) प्रक्रियाबाट खरिद भइसकेर आउने प्रकियामा छ।

‘आइकाओ’बाट प्रमाण पत्र प्राप्ति लगायत सबै कार्य पनि गरी सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई लक्षित गर्दै विमानस्थलमा परीक्षण उडानभन्दा पहिला भौतिक पूर्वाधारसहित तोकिएको समयावधिभित्र संरचना निर्माण हुन्छ। विमानस्थलमा कार्गो भवनको काम पनि तीव्र गतिमा भइरहेको छ। प्राधिकरणकै करिब एक अर्ब लागतमा बन्दै गरेको उक्त भवनको पनि १५ प्रतिशत काम सम्पन्न भइसकेको छ।

१० हजार रोपनीमा रहेको यो विमानस्थलमा राडर, सुरक्षा, ह्यांगर, आयल निगम डिपो, अध्यागमन मर्मतसम्भार क्षेत्र, क्याटरिङ लगायत संरचना बन्ने छ। यो विमानस्थलको अगामी ५० वर्षसम्म अन्तर्राष्ट्रिय स्तरको उडान भर्ने क्षमता रहेको छ।

‘फोर ई’ स्तरको यो विमानस्थलमा त्रिभुवन विमानस्थलमा आउने सबै जहाज प्वाइन्ट एयर बस ३३०, बोइङ७७७ लगायत जहाज यहाँ अवतरण गर्न सकिन्छ। दैनिक १६ हजार यात्रुलाई सेवा दिने दीर्घकालीन लक्ष्य रहेको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा टर्मिनल भवनमात्र केही सानो भए पनि अन्य भौतिक संरचना अत्याधुनिक र स्तरीय रहेका छन्।

६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँ ९१ पैसामा सम्झौता भई काम सुरु भएको आयोजनाको क्याट १ को सम्झौता भएको भए पनि यसले कम भिजिबिलिटीमा विमान अवतरण गर्न कठिनाइ हुने देखिएपछि क्याट २ का लागि हाराहारी आधार बनाएर क्याट २ मा जान सजिलो होस् भन्ने उद्देश्यले केही संरचना सुधार गरेको आयोजना प्रमुख इन्जिनियर अधिकारीले बताए। काममा केही थप काम गर्नुपर्ने भएकाले लागत अहिलेसम्म ९.६२ प्रतिशतले बढेर ६ अर्ब ८२ करोड ४० लाख ८६ हजार आठ सय ८४ रुपैयाँ ३२ पैसा पुगेको छ। यसमा एडिबीको ४०.५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान रहेको छ।

सन् २०१७ को डिसेम्बरमा आयोजना सम्पन्न गर्ने लक्ष्यसहित सुरु भएको गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानास्थलको अहिलेसम्म दुईपटक म्याद थप भइसकेको छ। विमानस्थल निर्माणपछि सरकारले लक्ष्य लिएको पर्यटन वर्ष २०२० लाई सघाउने छ। यसका अतिरिक्त विमानस्थल निर्माणले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटक सोझै आउन सक्ने वातावरण बन्ने छ भने मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा हुने विमानको चापलाई घटाएर विकल्पमा यो विमानस्थललाई ल्याउन सकिनेछ।

प्रकाशित: २२ चैत्र २०७५ ०६:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App