१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सानीभेरी छुवाछूतमुक्त गाउँपालिका

रुकुम– रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका जातीय सद्भावयुक्त तथा छुवाछूत मुक्त स्थानीय तह घोषणा भएको छ। जातीय छुवाछूत तथा सद्भावयुक्त क्षेत्र घोषणाका लागि आवश्यक सबै सूचक पूरा भएपछि विहीबार औपचारिक कार्यक्रमका बीच कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका सभापति राजु नेपालीले घोषणा गरेकी थिइन्। घोषणा सभा कार्यक्रमलाई सम्बोधन गर्दे उनले जातको नाममा विभेद् गर्नेलाई कानुन अनुसार कारबाही हुनुपर्ने बताइन्।

संविधाले छुवाछूतलाई अपराधको रुपमा लिएकाले कसैले पनि अपराधिक काम गर्न नहुने सभापति नेपालीको भनाई थियो। जातको नाममा कसैलाई अमानवीय व्यवहार गर्न नहुने भन्दै उनले सद्भावयुक्त क्षेत्र निर्माण गरेकोमा यहाँका जनप्रतिनिधिलाई धन्यवाद समेत दिइन्। ‘कामी, दमाईले बनाएको मुर्ती घरभित्र लिएर पुजा गरिन्छ’, उनले भनिन्, ‘तर त्यहीँ मुर्ती बनाउने व्यक्तिलाई घरभित्र जान दिइँदैन्, यो कस्तो व्यवहार हो?’ संविधान र कानुनले नेपाललाई छुवाछूत मुक्त घोषणा गरेको भए पनि अझै व्यवहारमा नआउँदा दलित समुदायका मान्छेले दुःख पाउने गरेको सभापति नेपालीले बताइन्।

कार्यक्रममा बोल्दै कर्णाली प्रदेशसभा सदस्य गोपाल शर्माले समृद्ध समाज निर्माण गर्नको लागि समाजमा रहेका कुप्रथाको अन्त्य हुनुपर्ने बताए। सभ्य र समृद्ध समाज निर्माण गर्न वर्तमान सरकार सक्रिय भएकाले छुवाछूतजस्तो अमानवीय कार्यलाई रोक्नको लागि सबै एक भएर लाग्नुपर्ने उनको भनाई छ। कर्णाली प्रदेशमा छुवाछूत, छाउगोठ, बालविवाह लगायतका समस्या धेरै रहेकाले यहीँबाट अन्त्य गर्न सुरुवात गरिएको प्रदेश सांसद् शर्माले बताए। विकृति र कुसंस्कारलाई अन्त्य गरेर सभ्य कर्णाली प्रदेश बनाउन पनि सरकारले काम गर्दै आएको उनको भनाई थियो। उनले यसबाट अब कर्णाली प्रदेशमा अन्य स्थानीय तहले पनि सिको गर्नुपर्ने र जातकै नाममा हुने विभेद्को अन्त्य गर्नुपर्ने बताए। 

गाउँपालिकामा ९० प्रतिशतभन्दा बढी छुवाछूतको अन्त्य भएपछि घोषणा गरिएको आयोजकले बताएका छन्। यहाँका सार्वजनिक धारा, मन्दिर, विद्यालय, स्वास्थ्य चौकीलगायतका सार्वजनिक स्थानमा कुनै पनि छुवाछूत नरहेको गाउँपालिका अध्यक्ष नरबहादुर पुनले बताए। यसका साथै गैरदलित र दलितबीच पनि वैवाहिक सम्बन्ध हुने गरेको र सबैका चुलो, घरआँगनमा पनि आवतजावत हुने गरेकाले सद्भावयुक्त गाउँपालिका घोषणा गरिएको उनको भनाइ छ। घोषणा सभामा कर्णाली प्रदेशसभा सदस्यहरु रातो कामी, झोवा विक, जिल्ला समन्वय समितिका प्रमुख राजकुमारी शर्मा, सदस्य धनबिर ओली लगायतको पनि आतिथ्यता रहेको थियो। 

औपचारिक कार्यक्रम सुरु हुनुभन्दा पहिले विभिन्न वडाहरुबाट झाँकीसहित आएका सर्वसाधारणले ¥याली प्रदर्शन गरेका थिए। कार्यक्रममा स्थानीय पैसेरी, मयुर, सिंगारु नाँच तथा पञ्चेबाजा समेत प्रदर्शन गरिएको थियो। सानीभेरी गाउँपालिका जिल्लामा तेस्रो जातीय सद्भावयुक्त तथा छुवाछूत मुक्त क्षेत्र भएको छ। यो भन्दा पहिले जिल्लाको बाँफिकोट गाउँपालिका र चौरजहारी नगरपालिका जातीय सद्भावयुक्त तथा छुवाछूत मुक्त घोषणा भइसकेका छन्। बाँफिकोट कर्णाली प्रदेशकै पहिलो हो भने चौरजहारी दोस्रो भएको दलित अगुवाको दाबी छ। 

प्रकाशित: २१ चैत्र २०७५ १३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App