२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

गोलाप्रथामा काठमाडौं भाग्यमानी

काठमाण्डौं सुपर च्याम्पियनसिपकी मालिक रेखा थापा खेलाडीमाथि बोली लगाउदै । तस्बिर: नागरिक

काठमाडौं– वैशाखमा आयोजना हुन लागेको वुमेन्स ट्वान्टी–२० फ्रेन्चाइज क्रिकेट लिगको खेलाडी अक्सन रोचक बन्यो। 
आयोजक एनसिएलले आइतबार राजधानीमा आयोजना गरेको अक्सनमा १० खेलाडी सर्वाधिक मूल्यमा बिक्री हुँदा रेखा थापा मालिक रहेको काठमाडौं सुपर च्याम्पियन्स सबैभन्दा भाग्यमानी टोली बन्यो। सहभागी प्रत्येक टोलीले अक्सनमार्फत १३ खेलाडी भित्र्याउनुपर्ने थियो। यस्तोमा एकभन्दा बढी क्लबले एकै खेलाडीमाथि बोली लगाउँदा भएको गोलाप्रथामा काठमाडौंले ९ खेलाडी भित्र्याउन सफल भएको हो।

आयोजक एनसिएलले आइतबार एसियामै पहिलो पटक आयोजना हुन लागेको वुमेन्स ट्वान्टी–२० फ्रेन्चाइज क्रिकेट लिगका लागि खेलाडी अक्सन गरेको थियो। अक्सनमा सोनु खड्का, इन्दु बर्मा, विन्दु रावल, काजोल श्रेष्ठ, अप्सरी बेगम, कविता कुँवर, ज्योति पाण्डे, ममता चौधरी, सरिता मगर र  रोमा थापा गरी १० खेलाडी सर्वाधिक रकममा विभिन्न क्लबमा अनुबन्धित भए।

प्रतियोगितामा विराटनगर रोओरिङ लायोनेस, भैरहवा क्विन्स, धनगढी वन्डर वुमन र काठमाडौं सुपर च्याम्पियन्स गरी विभिन्न ४ सहरका ४ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। प्रतियोगिताका लागि यसअघि नै सहभागी ४ टोलीका मार्की खेलाडी र टिम मालिक घोषणा भइसकेका थिए। नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान रुविना क्षत्री भैरहवाकी मार्की खेलाडी रहेकी छिन् भने उपकप्तान सीता रानामगर धनगढीकी, नेरी थापा काठमाडौंकी र करुणा भण्डारी विराटनगरकी मार्की खेलाडी छन्। त्यस्तै विराटनगरको टिम मालिक अनुप सक्सेना, भैरहवाका अनिल भण्डारी, धनगढीका हरि खनाल छन् भने काठमाडौैंको मालिकमा नायिका रेखा थापा छिन्।

अक्सनमा ८० खेलाडीले नाम दर्ता गरेकोमा ५२ खेलाडी विभिन्न क्लबमा अनुबन्धित भए। प्रतियोगिता खेल्न दर्ता भएका खेलाडीहरूलाई ग्रेड ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन तहमा विभाजन गरिएको थियो। अक्सनमा ग्रेड ‘ए’ अन्तर्गतका खेलाडीको न्यूनतम मूल्य ४० हजार र अधिकतम मूल्य ७५ हजार थियो। ग्रेड ‘बी’ का खेलाडीको न्यूनतम मूल्य २५ हजार र अधिकतम मूल्य ५० हजार र ग्रेड ‘सी’ मा रहेका खेलाडीको  न्यूनतम मूल्य १५ हजार र अधिकतम मूल्य २५ हजार रहेको थियो।

नायिक  थापा मालिक रहेको काठमाडौं सुपर च्याम्पियन्सले ममता, सरिता र रोमा गरी ३ ए ग्रेडका खेलाडीलाई अधिकतम ७५ हजार रुपियाँ मूल्यमा भित्र्याएको हो। ममतालाई काठमाडौंका साथै धनगढी र विराटनगरले सर्वाधिक रकममा बोली लगाएपछि त्यसको निर्णय गोलाप्रथामार्फत लिइएको थियो। जहाँ काठमाडौं भाग्यमानी बनेको थियो। काठमाडौंले सरितालाई भित्र्याउनलाई पनि धनगढी  र विराटनगरलाई गोलाप्रथामा पछि छाडेको काठमाडौंले रोमालाई क्लबमा भित्र्याउन विराटनगर, भैरहवा र धनगढीलाई निराश पारेको थियो।

त्यस्तै भैरहवाले पनि ३ ‘ए’ ग्रेडका खेलाडीलाई अधिकतम मूल्य ७५ हजारमा भित्र्याउनको हो। भैरहवाले सोनु, इन्दु र विन्दुलाई सर्वाधिक रकममा भित्र्याएको हो। विन्दुलाई भित्र्याउँदा गोलाप्रथामा काठमाडौंलाई पछि पारेको भैरहवाले इन्दुलाई क्लबमा अनुबन्धित गर्न गोलाप्रथामै विराटनगर र धनगढीलाई तथा सोनुलाई अनुबन्धित गर्दा धनगढीलाई पछि पारेको थियो।
यता विराटनगर र धनगढीले समान २ ए ग्रेडका खेलाडी भित्र्याउन सफल भए। विराटनगरले काजोल र अप्सरीलाई तथा धनगढीले कविता कुँवर र ज्योतिलाई सर्वाधिक रकममा अनुबन्धित गरेको हो। सहभागी  टोलीले कुल ६ लाख ५० हजार रकममा कम्तीमा १३ खेलाडी अनुबन्धित गर्नुपर्ने नियम बनाइएको थियो । जहाँ प्रत्येक टोलीले ग्रेड ‘ए’ का कम्तीमा ३ खेलाडी अनुबन्धन गर्नुपर्ने थियो। यस्तोमा विराटनगरले काजोल र अप्सरीबाहेक रितुकुमारी कनौजियालाई ६५ र डोली भट्टलाई ४० हजारमा अनुबन्धित ग-यो। त्यस्तै धनगढीले सवनम राईलाई ७०, रेखा रावललाई ५० तथा संगीता राई र आरती बिडारीलाई समान ४० हजारमा अनुबन्धित गरेको हो। अक्सनको पहिलो चरणमा कुनै पनि क्लबले बोली नलगाए पनि आरती अनसोल्ड विधाबाट धनगढीमा न्यूनतम ४० हजारमा अनुबन्धन भएकी हुन्।

त्यस्तै ‘बी’ ग्रेडतर्फ कविता जोशी भैरहवामा, अन्जली  चन्द र सरस्वती पुन विराटनगरमा, रेखा रावल धनगढीमा तथा मन्जुकुमारी बोगटी, सुमन विष्ट र रेवती धामी काठमाडौंमा अधिकतम ५० हजारमा अनुबन्धित भए।

प्रकाशित: १८ चैत्र २०७५ ०५:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App