२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

पाटनमा हस्तकला महाेत्सव

स्थानीय सर्वसाधारणको सीपबाट बनेका हस्तकला सामग्रीको महोत्सव ललितपुरको पाटनमा दुई दिनयता चलिरहेका छ। बेरोजगार र शैक्षिक योग्यता कम भएका सिपालु व्यक्तिले बुनेका तीनै हस्तकला अहिले विदेशीको लागि आकर्षक साम्रगी बनेका छन्। विदशी पर्यटकले नेपालको चिनो अर्थात् ‘कोसेली’का रुपमा हस्तकलाका सामग्री नै रोजाइमा पार्न थालेका छन्।

पाटन दरबार क्षेत्रमा घुम्न आउने पर्यटकले अहिले सबैभन्दा बढी हस्तकलाका सामान रुचाउने गरेको हस्तकला व्यवसायी सुन्दर महर्जनले बताए। उनका अनुसार दुई दिनयता सुरु भएको हस्तकला महोत्सवमा हातले बुनेकासाम्रगी राखिएको छ। ‘यस्तो किसिमको महोत्सव पहिलोपटक भएको छ। हामीले बुनेको सामान्य नेपाली उत्पादन पनि विदेशीले मन पराउन थालेका छन्,’ उनले भने, ‘पर्यटकको लागि अरु सामानभन्दा हस्तकलाकै सामान राख्न जोड गरेका छौं।’ उनका अनुसार हातले बुनेको टोपी, झोला, स्वीटर, झण्डा, पछ्यौरी, खेलौना विदेशीले बढी मन पराउने गरेका छन्। महोत्सवमा काष्ठकला पनि प्रदर्शनमा राखिएको छ। मेलामा राखिएका सबैजसो सामान विदेशी र नेपाली पर्यटकको लागि राखिएको हो।

उपत्यकाभित्रका तीन जिल्लालाई हेर्दा पछिल्लो समय हस्तकला व्यवसाय ललितपुरमा फस्टाउँदो छ। अहिले नेपाली उत्पादन तग्रिँदै हस्तकला व्यवसाय महोत्सवबाट त्यहाँको कला र संस्कृतिलाई विश्वमा चिनाउन सघाउ पुग्ने अपेक्षासहित ललितपुरका व्यवसायीहरु मेलामा जुटिरहेकका छन्। वल्र्ड क्राफ्ट काउन्सिलले ललितपुरलाई ५ महिनाअघि ३५ औं हस्तकला नगरी घोषणा गरेको थियो। सोही अवसरमा ललितपुर महानगरपालिका–१६ ले सो महोत्सव आयोजना गरेको हो।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ३५ औं हस्तकला नगरी घोषणा भएपछिको पहिलो बृहत् कार्यक्रमको रुपमा वडा नं १६ ले कला र संस्कृतिको महोत्सव गरेको बताउँदै यसलाई क्राफ्ट सिटीको घोषणा अनुरुप कार्य अघि बढाउन मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘पाटन दरबार क्षेत्रलाई युनेस्कोले सन् १९७९ मा विश्व सम्पदा सूचिमा सूचिकृत गरेको थियो। यो हाम्रो मात्र सम्पदा होइन। यो विश्वकै सम्पदा हो। यसको गुणस्तरमा कुनै कमी हुन दिनु हुँदैन। यी सम्पदाको पुनर्निर्माण, मर्मत, रिटोफिटिङ्ग गर्नतिर हामीले बढी चासो दिइरहका छौं।’

उनका अनुसार सम्पदा मर्मत गर्न नेपाल सरकारको नियम अनुसार टेण्डर गर्नुपर्छ। ठेक्का लगाउने ठेकेदारहरुले योजना हात पार्न सबैभन्दा कम मूल्यमा ठेक्का राख्छन्। अनि त्यही मूल्यमा नाफा निकाल्छन्। यसरी काम गर्दा सम्पदाको काम गुणस्तरको हुँदैन। त्यसैले नेपाल सरकारलाई धेरै चरणमा सुझाव दिएर पाटन क्षेत्रमा सम्पदा पुनर्निर्माणमा चासो दिएको उनले बताए।

वल्र्ड क्राफ्ट काउन्सिल एसिया प्यासिफिकका उपाध्यक्ष धर्मराज शाक्यले महोत्सवले हस्तकला नगरीको घोषणाबारे बहस छाडेको जानकारी दिए। उनले क्राफ्ट सिटीको अवधारणा बनाउन महोत्सव महत्वपूर्ण कडी रहेका बताए।  ‘यहाँ अनेक हस्तकला र अन्य संस्कृति छन्, तीनको प्रयोग र प्रचारप्रसार हामीले गर्न सकिरहेका छैनौं, त्यसकारण सबै संस्कृति र स्थानीय उत्पादनको महत्व सबैले बुझेर अघि बढ्न जरुरी देखिन्छ,’ उनले भने।

हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यले वडाले महोत्सव आयोजना गरेर क्राफ्ट सिटीको इतिहासमा कीर्तिमानी काम बताए। उनले वडा नं १६ लाई सांस्कृतिक, हस्तकला र पर्यटकीय वडाको रुपमा विकास गर्न टेवा पु¥याउने बताए। ‘यो वडा साच्चै नै सांस्कृतिक छ, यसलाई यही ढंगले विकास गर्र्नु अहिलेको आवश्यकता पनि हो,’ उनले भने, ‘यसतर्फ सरकारले बढीभन्दा बढी चासो दिएर अघि बढ्नुपर्ने देखिन्छ।’ पाँच दिनसम्म चल्ने महोत्सवमा नेपाल हस्तकला महासंघ, ललितपुर हस्तकला संघ, ललितपुर उद्योग वाणिज्यको सहकार्य रहेको छ।

महोत्सवका विषेशता
नागबहाल टोल सुधार समितिले नागबहालमा धातुकला, मूर्तिकलाको करिब २५ वटा स्टल राखेको छ। नकबहीलस्थिल लोकाकिर्ति महाविहारमा चीनपछिको दोस्रो लिपिको रुपमा रहेको रञ्जना लिपि लेखन विधिबारे प्रदर्शनी भइरहेको छ।  नकबहीलमा सांस्कृतिक प्रदर्शनी भइरहेको छ। नकबहीलमा फल्चामा (पाटीमा) मच्छिन्द्रनाथ बनाउने विधिको जीवन्त प्रदर्शनी भइरहेको छ। भास्करदेव संस्कारित लोकाकीर्ति महाविहार न्याखाचोकमा बज्राचार्य पूजाविधिको सहयोगमा मानिस जन्मदेखि नमरुञ्जेलसम्म गर्नुपर्ने दशकर्म संस्कारमा र विभिन्न पूजाविधिमा प्रयोग गरिने सामग्रीको प्रदर्शनीमा राखिएको छ।

स्वठ टोल सुधार समिति सहआयोजनामा नेवारी परम्परागत भेषभूषा प्रदर्शनी, सांस्कृतिक नृत्य एवं सांगितिक कार्यक्रम छ। सोही ठाउँमा धातुका मूर्तिकला, मूर्ति बनाउने प्रक्रियाको जीवन्त प्रदर्शनीमा राखिएको छ।

स्थानीय टंगल, तिच्छुगल्लीमा तामाका भाडा राखिएको छ। महोत्सव अवधिभर वडाका परम्परागत धिमे बाजा, धां बाजा, नाय्खी बाजा, नौ बाजा मृदंङ्ग भजन, लाखे नाच लगायत विभिन्न सांस्कृतिक झाँक्रीहरु प्रदर्शनी भइरहने छन्। क्राफ्ट सिटी, संस्कृति संरक्षण, पर्यटक प्रर्वद्धनबारे अन्तरक्रिया, डबली बहस हुनेछ। हरेक दिन स्थानीय ब्रान्डहरुको सांस्कृतिक प्रस्तुति भइरहेको छ।

 

प्रकाशित: १५ चैत्र २०७५ ०५:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App