१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आश्विनप्रति टीकाटिप्पणी जारी

दिल्ली – इन्डियन प्रिमियर लिग (आइपिएल) मा किङ्स इलेभन पन्जाबका कप्तान रविचन्द्रन आश्विनले बलिङ गर्नुअगावै राजस्थान रोयल्सका जस बट्लरलाई नन स्ट्राइकिङ इन्डमा रनआउट (म्यानकाडिङ) गरेको घटनाले विश्व क्रिकेटमा विभिन्न टीकाटिप्पणी भइरहँदा केही पूर्वखेलाडीले भने म्यानकाडिङ आवश्यक भएको बताएका छन्।

रनआउट भएसँगै बट्लर आक्रोशित देखिएका थिए भने आश्विनले पनि त्यस्तै व्यवहार देखाएका थिए। जुन खेल भावनाविपरीत भएको भन्दै यस घटनाको चर्को आलोचना भइरहेको छ।

‘खेलमा नियम पनि आवश्यक छ र खेलअवधिभर दुवै टोलीका खेलाडीले खेल भावनाविपरीत कार्य गर्नु हुँदैन,’ मेरिलिबोन क्रिकेट क्लब(एमसिसी) ले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। अस्ट्रेलियाका पूर्वस्पिनर सेन वार्नले आश्विनको कार्य खेल भावनाविपरीत भएको भन्दै उनको चर्को आलोचना गरेका थिए तर अन्य केही खेलाडीले भने आश्विनको कार्य खेलको नियमअनुसारै भएको भन्दै त्यसको बचाउ गरेका हुन्।

आश्विनले बट्लरलाई नन स्ट्राइकिङ इन्डमा रनआउट गर्दै विवादास्पद रूपमा पवेलियनका बाटो देखाएको खेलमा सोमबार आइपिएलमा  राजस्थान रोयल्सले किङ्स इलेभेन पन्जाबलाई १४ रनको नतिजा सुम्पिएको थियो ।

तर आश्विनले राजस्थानका बट्लरलाई पवेलियनको बाटो देखाएको घटनाले खेलको नतिजा छायामा परेको थियो। यस्तो प्रकारको आउटलाई क्रिकेट जगतमा ‘म्यानकाडिङ’ भनिन्छ । जहाँ बलरले बलिङ गर्नुभन्दा अघि नन स्ट्राइकिङ इन्डमा रहेका ब्याट्सम्यानलाई पवेलियनको बाटो देखाउँछन्। विश्व क्रिकेटमा भारतका विनो मान्कडले १९४७ मा पहिलो पटक अस्ट्रेलियाका बिल बाउनलाई यस्तै प्रकारले पवेलियनको बाटो देखाएका थिए।

यसअघि २०१४ मा पनि बट्लर म्यानाकाडिङको सिकार बनेका थिए। श्रीलंकाका सचित्रा सिनानायकेले एकदिवसीय शृंखलामा बट्लरलाई यस्तै प्रकारले पवेलियनको बाटो देखाएका थिए।

‘रन स्ट्राइकिङमा रहेका ब्याट्सम्यानले बलिङ गर्नुअगावै क्रिज छोडेमा बलरले बलिङ गर्नुअघि नै उक्त ब्याट्सम्यानलाई रनआउट गर्न पाउँछन्,’ आइसिसीको नियम ४१.१६ मा उल्लेख गरिएको छ। रिप्लेमा बलिङ गर्नुअघि बट्लर क्रिजमै रहेको तर आश्विनले बलिङ गर्नु अगावै क्रिज छोडेको देखिएको थियो।

 

प्रकाशित: १५ चैत्र २०७५ ०४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App