१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रपति अयोग्य भएको अल्जेरियाली सेना प्रमुखको आरोप

अल्जियर्स– अल्जेरियाका सेना प्रमुखले राष्ट्रपति अब्देल्लाजिज बतेफ्लिकालाई शासनका लागि अशक्त घोषणा गरेर पदबाट हटाउनु पर्ने बताएका छन्।

दुई दशकसम्म शासन गरेका अशक्त र रोगी नेताले पद त्याग्नु पर्ने मागसहित केही साता यता अल्जेरियामा प्रदर्शन जारी रहेको छ।
जनरल अहमद गइद सलाहले एक टेलिभिजन सम्बोधनमा देशमा उत्पन्न संकटको संवैधानिक सीमाभित्रै रहेर तत्काल समाधान खोजिनुपर्ने बताउँदै मंगलबार राष्ट्रपति अयोग्य भएको जिकिर गरेका हुन्।

सेना प्रमुख सलाहका अनुसार सन् २००४ मा नियुक्त भएका राष्ट्रपति बतेफ्लिकालाई संविधानको धारा १०२ मा रहेर गम्भीर र लामो समयको बिरामीको कारण अयोग्य घोषणा गर्न सकिने छ। उनले संसद्मा मतदान गरेर राष्ट्रपतिलाई अयोग्य घोषणा गर्न सकिने बताएका हुन्। यद्यपि सेना प्रमुखको यस्तो धारणालाई धेरै विपक्षी दलहरूले आलोचना गर्दै सेनालाई आफ्नो सीमाभित्रै रहन चेतावनी दिएका छन्। सेना प्रमुखको पछिल्लो अभिव्यक्तिले भने धेरैलाई आश्चर्यचकित पारेको बताइएको छ। 

राष्ट्रपति अब्देल्लाजिज बतेफ्लिकाले करिब एक महिनाअघि पाँचौ कार्यकालको लागि चुनाव लड्ने बताएपछि अल्जेरियामा प्रदर्शन जारी रहेको छ। पछि उनले आफ्नो मनसाय बदलेको बताए पनि प्रदर्शनका शृंखला रोकिएको थिएन। उनको राजीनामाको माग गर्दै प्रदर्शन जारी रहिरहेको छ। 

८२ वर्षीय नेता बतेफ्लिक ह्विलचेयरको प्रयोग गरेर मात्रै हिँड्डुल गर्न सक्छन्। उनी कमै मात्र सर्वसाधारणका बीचमा आउने गरेका छन्। सन् २०१३ मा उनलाई हृदयघात भएपछि उपचारका लागि फ्रान्स र स्विजरल्यान्ड लगिएको थियो। उपचार गरेर उनी गत मार्च ११ मा मात्र स्वेदश फर्किएका थिए। उल्लेख्य मात्रामा अल्जेरियाली रहेको फ्रान्समा पनि बतेफ्लिकाविरुद्ध प्रदर्शन भएका छन्। तय भएको निर्वाचनको मिति सारिएको तर अर्को मिति घोषणा नभएकाले धेरैले त्यसलाई चौथो कार्यकाल लम्ब्याउने चालको रूपमा हेरेका छन्। जारी प्रदर्शनमा ३० वर्षभन्दा कम उमेरका मानिसको उल्लेखीय सहभागिता रहेको बताइएको छ। कमजोर स्वास्थ्य अवस्थाका कारण राष्ट्रपति सत्ता सम्हाल्न नसक्ने हालतमा पुगिसक्नु भएको उनका आलोचकहरुले पनि बताउँदै आएका छन्।

प्रकाशित: १४ चैत्र २०७५ ०४:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App