१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पुलिसलाई रोक्दै आयोजक फाइनलमा

आयोजक मकवानपुर ११ का खेलाडीलाई छलाएर अघि बढ्दै नेपाल पुलिस क्लबका बुद्ध लामा।    तस्बिरः अशोकसुजन/नागरिक

मकवानपुर – नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै आयोजक मकवानपुर ११ हेटौंडामा जारी दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमिफाइनलमा पुलिसलाई पराजित गर्दै मकवानपुरले आफूलाई उपाधिको दाबेदारका रूपमा प्रस्तुत गरेको हो।

प्रतियोगिताको उपाधिका लागि मकवानपुरले रुस्लान थ्री स्टार क्लब र क्यामरुनी क्लब दाउफिन्स फुटबल क्लबमध्ये विजेतासँग फाइनलमा भिड्ने पक्का गरेको छ। हेटौंडा १० स्थित वनविज्ञान अध्ययन संस्थानको चौरमा भएको खेलको ७८औं मिनेटमा मकवानपुरका रेजिन सुब्बाले निर्णायक गोल गरेका थिए।

दानु थापाको पासलाई सदुपयोग गर्दै रेजिनले डी बक्सबाट प्रहार गरेको बल सुन्दर गोलमा परिणत  भयो। प्रतियोगितामा मकवानपुरका सुब्बा म्यान अफ दी म्याच हुँदै नगद दश हजार रुपैयाँ पाउन सफल भए। गोलरक्षक अशोक बरालको कप्तानीमा रहेको मकवानपुरले तीन विदेशी खेलाडी उगो, मेस्सी र काजिमलाई मैदानमा उतारेको थियो।

खेलको ७८औं मिनेटमा मकवानपुरका रेजिन सुब्बाले निर्णायक गोल गरेका थिए।

दिनेश गुरुङको कप्तानी रहेको पुलिसले खेललाई बराबरीमा ल्याउन निक्कै प्रयास गरे पनि सफलता पाउन सकेन। सुरुआतदेखि नै दबाबमा राखे पनि पुलिसले प्राप्त धेरै मौका सदुपयोग गर्न नसक्दा सेमिफाइनलबाटै खाली हात घर फर्किन बाध्य भयो। खेलको १२औं मिनेटमा डी बक्सबाट रवि पासवानको सशक्त प्रहार मकवानपुरका गोलरक्षक अशोक बरालले उत्कृष्ट बचाउ गरे। खेलको एक मिनेट बाँकी हुँदा डी बक्सभित्रै पाएका अवसरलाई पासवानले सदुपयोग गर्न सकेनन्। 

यता, मकवानपुरका काजिमले ६३औं मिनेटमा गरेको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुघ्न चौधरीले असफल पारे। खेलको ७४औं मिनेटमा डी बक्सबाट मकवानपुरका मनोज विष्टले प्रहार गरेको फ्रिकिक पुलिसका गोलरक्षक चौधरीले उत्कृष्ट बचाउ गर्न सफल भए। खेलमा मकवानपुरका गोलरक्षक तथा कप्तान अशोक बरालले उत्कृष्ट खेल प्रदर्शन गर्दै पुलिसका झन्डै आधा दर्जनभन्दा बढी प्रहारलाई असफल पारे।

जितपछि प्रतिक्रिया दिँदै मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठले खेलाडीले शतप्रतिशत दिएर खेल्दा फाइनल यात्रा तय गरेको बताए। ‘हामीले अध्ययन गरेर दुई दिनदेखि पुलिसविरुद्ध रणनीति बनाएका थियौं,’ उनले भने, ‘सोहीअनुसार खेल्दा जित निकाल्न सफल भयौं, सोचेअनुसार केही अवसर गुमायौं।’

फाइनल खेलमा अझै रणनीति परिवर्तन गरी खेलेर उपाधिमा नाम लेखाउने उनको योजना छ। ‘फाइनलमा हामी अझै राम्रो तयारी गर्छाैं उनले थपे, ‘विदेशीभन्दा नेपाली टोली  भए उपाधि नजिक पुग्न सहज हुनेछ।’ पुलिसका प्रशिक्षक अनन्तराज केसीले धेरै मौकालाई खेलाडीहरूले सदुपयोग गर्न नसक्दा हार भोग्नुपरेको स्विकारे। ‘खेलअवधिभर पाएका धेरै अवसर सदुपयोग गर्न सकेनाैं,’ उनले भने, ‘तर विपक्षीले पाएको एउटै राम्रो अवसरलाई हाम्रा खेलाडीले असफल पार्न सकेनन्।’ 

प्रतियोगिताको बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा रुस्लान थ्री स्टार क्लबले क्यामरुनी क्लब दाउफिन्स फुटबल क्लबको सामना गर्नेछ। प्रतियोगितामा घरेलु मकवानपुर, एक विदेशी र राष्ट्रिय स्तरका चर्चित ‘ए’ डिभिजनसहित दश टोलीको सहभागिता छ।

प्रकाशित: १४ चैत्र २०७५ ०४:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App