१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भरतको ह्याट्रिकबाट पुलिस सेमिफाइनलमा

मकवानपुर गोल्डकपमा नेपाल पुलिस क्लबका खेलाडीबाट बल खोस्दै फ्रेन्ड्स क्लबका विदेशी खेलाडी फोफना (नीलो)।    तस्बिरः अशोकसुजन/नागरिक

मकवानपुर – भरत शाहले ह्याट्रिक गर्दा फ्रेन्ड्स क्लबलाई ३–० ले पराजित गर्दै पुलिस भूगर्भ सिमेन्ट दोस्रो सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बाई पाएर क्वार्टरफाइनलमा पुगेको फ्रेन्ड्सलाई पराजित गर्दै पुलिसले अन्तिम चारमा आफूलाई सुरक्षित गरेको हो। हेटौंडा १० स्थित वनविज्ञान अध्ययन संस्थानको चौरमा जारी प्रतियोगिताको फाइनल प्रवेशका लागि पुलिसले आयोजक मकवानपुर ११ सँग सामना गर्नेछ।

स्ट्राइकर भरत शाहले प्रतियोगिताको पहिलो ह्याट्रिक गर्दै पुलिसलाई जिताएका हुन्। खेलको १२औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका शाहले ४२औं मिनेटमा दोस्रो गोल गरे। ४३औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे। पुलिसका शाहले खेलको म्यान अफ दी म्याच घोषित हुँदै दश हजार रुपियाँ  प्राप्त गरे। उनी प्रतियोगिताको हालसम्मकै सर्वाधिक गोलकर्तासमेत भए।

खेलको पहिलो हाफमा पुलिसले फ्रेन्ड्समाथि तीव्र दबाब बनाउँदै ३ गोल गरे पनि दोस्रो हाफमा भने खासै राम्रो खेल प्रदर्शन गर्न सकेन। दोस्रो हाफमा फ्रेन्ड्सले खेल सुधारे पनि बललाई जाली चुमाउन सकेन। फ्रेन्ड्सका लागि दोस्रो हाफमा विदेशी खेलाडी फोफना र स्यान्कोले राम्रो मौका पाए पनि गोलमा परिणत गर्न सकेनन्।

दोस्रो हाफमा पुलिसका गोलरक्षक शत्रुघ्न चौधरी निकै व्यस्त हुँदै फ्रेन्ड्सका खेलाडीको प्रहार असफल पारेका थिए। खेलपछि प्रतिक्रिया दिँदै पुलिसका प्रशिक्षक अनन्तराज थापाले खेलाडीहरूको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए। ‘पहिलो हाफमै स्कोर निस्किएपछि हामीले टोलीको गल्ती सुधार्न र रक्षात्मक खेल खेल्न बढी ध्यान दियौं,’ उनले भने, ‘जसले गर्दा खेलमा केही सुस्तता आएको जस्तो मात्र देखिएको हो।’

फ्रेन्ड्सका प्रशिक्षक चेतनाथ श्रेष्ठले ‘ए’ डिभिजन लिगपश्चात् मोफसलमा पहिलो पटक सहभागी भएको र टिम सेट नभएकाले राम्रो प्रदर्शन गर्न नसकेको बताए। ‘डिफेन्स कमजोर, फरवार्ड खेलाडीबीच समन्वयमा कमी र खेलाडीहरू घाइते हुँदा अप्रत्याशित हार भोग्नुपर्याे,’ उनले भने। प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा मंगलबार थ्री स्टार क्लबसँग सरस्वती क्लबले भिड्ने भएको छ।

प्रतियोगिताको विजेताले ८ लाख, उपविजेताले ४ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैंया, मेडल र प्रमाणपत्र पाउनेछन्।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको फाइनल शनिबार हुनेछ। प्रतियोगिताबाट फ्रेन्ड्स क्लबसँगै सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब, च्यासल युथ क्लब, हिमालयन शेर्पा क्लब र मछिन्द्र क्लब बाहिरिसकेका छन्।

प्रकाशित: १२ चैत्र २०७५ ०४:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App