२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

महाकाली नदीको पानी सिधै पिउन अयोग्य

डडेल्धुरा-  शुद्धीकरण मापन गर्दा महाकाली नदीको पानी दूषित रहेको पाइएको छ। महाकाली नदीमा मिसिने नेपाल भारत दुवैतर्फका खोलाको पानीको शुद्धता र गुणस्तर मापन गर्दा सिधै पिउनयोग्य नरहेको पाइएको हो।

शुक्रबार विश्व पानी दिवसका अवसरमा पहिलो पटक महाकाली नदीको पानीको शुद्धता र गुणस्तर मापन गरिएको हो। महाकाली नदीमा मिसिने खोलाको पानी महाकाली किनारबाटै निकाली शुद्धता गुणस्तर मापन गर्दा दूषित पाइएको वातावरणविद् कृष्णदेव जोशीले बताए। पानी शुद्धता गुणस्तरका लागि अपनाइने २७ विधिमध्ये सामान्यतया दूषित रहे–नरहेको पत्ता लगाउन पाँच किसिमका विधि अपनाउँदा दूषित रहेको पाइएको उनले बताए।

पानी शुद्धीकरण गुणस्तर मापन गर्दा अपनाइने विधिहरूमध्ये स्थानीयले नै जानकारी लिन सक्ने गरी जिपिएस तरिकासँगै पिएच (पानीको गुणस्तर), टिडिएस (पानीमा घुलित तत्व), डिओ (जैविक तत्वको मात्रा) र टिएम (तापक्रम) मापन गर्दा खानयोग्य नरहेको पाइयो। वातावरणविद् जोशीका अनुसार स्थानीयले नै शुद्धीकरण गुणस्तर मापन गर्ने गरी दुई वटा मेसिनको प्रयोग गरी नेपाल तर्फको रंगुन–पन्तुरा खोला र भारततर्फको चल्थी नालाको पानीको नमुना संकलन गरी जाँच गरिएको थियो।

वस्ती–समुदाय हुँदै बगेका खोला नै महाकालीमा मिसिने भएकाले महाकाली नदीको पानीमा मिसिने स्थानबाट पानी संकलन गरी प्रारम्भिक परीक्षण गर्दा दूषित पाइएकाले थप डिओ र बिओडी जाँचका लागि धनगढी पठाइएको जोशीले बताए।

उनका अनुसार रंगुन–पन्तुरा खोलाको महाकाली नदीमा पानी मिसिने एउटा स्थान समुद्री सतहदेखि तीन सय मिटर उचाई जिपिएसमा उत्तरमा २९ डिग्रीतर्फ आठ मिनेट ३९ सेकेन्ड, पश्चिममा ८० डिग्रीतर्फ १६ मिनेट ३७ सेकेन्डमा पिएच (पानीको गुणस्तर) महत्त्व आठ दशमलव दुई पाइएको छ। र टिडिएस (पानीमा घुलित तत्व) ७४ पिपिएम रहेकाले सामान्यतया दूषित नै देखियो। शून्यदेखि पाँच अंकसम्म प्रयोग गर्न सकिने रूपमा लिइन्छ। उच्चतम् सात अंकसम्म रहेको पानी उपयोग गर्न सकिन्छ।

महाकाली नदीमा मिसिने पानीको गुणस्तर आठ दशमलव दुई पाइएकाले दूषित भन्न सकिने र खोलाबाट पानी सिधै पिउन, प्रयोग गर्न नमिल्ने तर उमालेर वा फिल्टर गरेर भने प्रयोग गर्न सकिने खालको पाइएको छ। ‘रंगुन–पन्तुरा खोलाकै दोस्रो स्थान र भारतको चल्थी नालामा पनि एक दुई अंकको तलमाथि रहेकाले दूषित नै रहेको छ,’ उनले भने, ‘पानीमा कुन–कुन घुलित पदार्थ छ, कुहिने कति छ लगायत जानकारी ल्याब टेस्टबाट प्राप्त हुने भएकाले पानीको नमुना संकलन गरेको २४ घण्टाभित्र ल्याबमा राखी पाँच दिनभित्र जानकारी लिन सकिने उनको भनाइ छ।

पानीमाथिको सुशासनका लागि महाकाली नदी तटीय क्षेत्रमा काम गर्दै आएको ट्रोसा परियोजनाको प्राविधिक सहयोगमा पहिलो पटक महाकाली नदीको पानीको शुद्धता गुणस्तर मापन गरिएको परशुराम नगरपालिका–६ का वडाध्यक्ष मीनबहादुर चन्दले बताए।

प्रकाशित: ११ चैत्र २०७५ ०३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App