१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘सडक र पुलको काम ढिला र गुणस्तरहीन’

खोटाङ - मध्यपहाडी लोकमार्गलगायत राष्ट्रिय महत्त्वका सडक तथा पुल निर्माणको काममा चरम ढिलासुस्ती र गुणस्तरहीन भएको भन्दै युवा संघ र योङ कम्युनिस्ट लिग खोटाङले विरोध जनाएको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको जयराम–दिक्तेल र दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डको कालोपत्रेको काम, दिक्तेल–गाईघाट सडक कालोपत्रेको काम, दिक्तेल–गाईघाट सडक–खण्डमा पर्ने सुनकोसी फोक्सिङटार पुल, मनमाया राई खानीडाँडा विमानस्थल मर्मतलगायत काममा चरम ढिलासुस्ती र गुणस्तरहिन काम भएको तिनीहरू आरोप छ।

बार प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेललाई ज्ञापनपत्र बुझाउँदै युवा संघ र योङ कम्युनिस्ट लिगले राष्ट्रिय महत्त्वका सडक तथा पुल निर्माणमा भइरहेको ढिलासुस्ती र गुणस्तरका विषयमा प्रश्न उठाएका हुन्। खोटाङकै बतासे र रेग्मीटार जोड्ने साप्सु खोलास्थित मोटरेवल पुल, लफ्याङ र मात्तिम जोड्ने साप्सु खोलाको मोटरेवल पुल, मात्तिम र टेम्मा जोड्ने तावा खोला पुल र बिजुले–बुइँपा–डल्लेखोला–दिक्तेल सडक निर्माणको काममा ठेकेदारको चरम ढिलासुस्ती भएकाले जनताका तर्फबाट आवाज उठाउनुपरेको युवा संघ खोटाङका उपाध्यक्ष रसकुमार राईले बताए।

राष्ट्रिय महत्त्वका विकास निर्माणका योजनाको काम शीघ्र र गुणस्तरीय ढंगले पूरा भए मात्र सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराले सार्थकता पाउने भएकाले दुई युवा संगठनले ढिलासुस्ती गर्ने ठेकेदारमाथि कडा कारबाहीको माग राखेको बताएका छन्। ‘यी योजनाहरूमा भएको ढिलासुस्ती र गुणस्तरहीनताप्रति गम्भीर भएका छौं,’ प्रशासनलाई बुझाइएको ज्ञापन–पत्रमा भनिएको छ, ‘राष्ट्रिय महत्त्वका यी योजनाहरू चाँडोभन्दा चाँडो गुणस्तरीय रूपमा सम्पन्न गर्न सम्बन्धित सरोकारवाला पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं।’

युवा संगठनले मध्यपहाडी लोकमार्गको जयरामदेखि बाँझे च्यानडाँडासम्मको खण्ड मापदण्ड अनुसार नबनाइएको, निर्माणका कारण सडक वरपरका ग्रामीण सडक, बाटोघाटो, नहर, खानेपानी, समाधिस्थल, पाटीपौवालगायत संरचनामा असर पु¥याए पनि पुनर्निर्माण र मर्मतमा ध्यान नदिइएको गुनासो गरेको छ। गुणस्तर कायम गरेर सडक तथा पुल निर्माणको कामलाई गति नदिए कडा संघर्षमा उत्रने योङ कम्युनिस्ट लिग खोटाङका अध्यक्ष मिलनचन्द्र राईले बताए।
मध्यपहाडी लोकमार्गलगायत सडक तथा पुलको पर्खाल र ढल निर्माणका क्रममा सिमेन्ट, बालुवा र गिटीको मात्रा नमिलाएको, कमसल गिटी प्रयोग गरिएको, मसला बनाउन फोहोर र धमिलो पानी उपयोग गरिएको युवा संगठनको दाबी छ। कामको जिम्मा लिएका मुख्य ठेकेदारले बढी नाफा कमाउने उद्देश्यले काम गर्दा र विभिन्न पेटी ठेकेदारलाई कामको जिम्मा दिँदा कालोपत्रेको काम गुणस्तरहीन भएको स्थानीयको भनाइ छ। अधिकतम २८ दिन र न्यूनतम १४ दिनसम्म दैनिक तीन पटक क्युरिङ गर्नु (पानीले भिजाउनु) पर्नेमा त्यसै छाड्ने गरिएको स्थानीयको गुनासो छ।

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी (३५.४३ किलोमिटर), जयराम–हलेसी (३० किलोमिटर) र दिक्तेल–चखेवा–भञ्ज्याङ (४६ किलोमिटर) सडक कालोपत्रेकामा ढिलासुस्ती र गुणस्तरहीन काम गर्ने ठेकेदारमाथि कारबाही माग गर्दै नेकपा माले खोटाङले गत वैशाखमा जिल्ला समन्वय समितिलाई ज्ञापनपत्र बुझाएको थियो।

प्रकाशित: ११ चैत्र २०७५ ०३:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App