१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सिन्धुपाल्चोकमा पुनर्निर्माण अन्तिम चरणमा, ६२ हजार घर बने

तस्बिर : सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिकाको गातीगाउँमा परम्परा कायम राख्दै पुनर्निर्माण गरिएका भूकम्पप्रतिरोधी घर।

सिन्धुपाल्चोक - विनासकारी भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोकमा ६२ हजार घर पुनर्निर्माण सकिएको छ। भूकम्पको झण्डै चार वर्ष हुँदै गर्दा उक्त संख्यामा नयाँ घर बनेका हुन्। 

जिल्ला आयोजना कार्यान्वयन इकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (डीएलपीआईयू÷जिमाली) को तथ्यांकअनुसार झण्डै ७१ प्रतिशत नयाँ घर बनिसकेका छन्। पछिल्लो एक महिनामा मात्रै पाँच हजार घर पुनर्निर्माण भएका हुन्। फागुनसम्म ५८ हजार घर बनेका थिए।  

पुनर्निर्माण अभियान थालनी भएको भने बल्ल तीन वर्ष बित्न लाग्दै छ। भूकम्पको एक वर्षपछि २०७३ वैशाख १२ गते सबैभन्दा बढी भौतिक क्षति भएको सिन्धुपाल्चोकबाटै पुनर्निर्माण अभियान थालनी गरिएको थियो। चौताराका सर्वे तामाङको घरको जग शिलान्यास गर्दै तत्कालीन प्रधानमन्त्री केपी ओलीले पुनर्निर्माण अभियान घोषणा गरेका थिए। 

जिल्ला आयोजना व्यवस्थापक जयप्रकाश गुप्ताले जिल्लाको पुनर्निर्माण सकिन लागेको बताए। ‘पुनर्निर्माण तीव्र छ। यही रफ्तारमा काम भए छिट्टै सकिने अपेक्षा गरेका छौँ,’ उनले भने। भूकम्पबाट मुख्य प्रभावित १४ र कम प्रभावित १८ गरी ३२ जिल्लामध्ये सिन्धुपाल्चोकमा सबैभन्दा बढी क्षति पुगेको थियो। तथ्यांकअनुसार १७ हजारभन्दा बढी घर पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ भने थप ६ हजार पुनर्निर्माण सुरु भइसकेको छ। 

जिल्लामा झण्डै साढे दुई हजार घर मात्र पुनर्निर्माण थाल्न बाँकी रहेको देखिएको छ। गुनासोमार्फत लाभग्राही थपिँदै जाँदा यो संख्या बढेर ८७ हजार ८ आठ सय २८ पुगेको छ। लाभग्राहीमध्ये ८५ हजार तीन सय ७० (९९ प्रतिशत) ले पहिलो, ७९ हजार चार सय ३२ (९० प्रतिशत) ले दोस्रो र ६२ हजार ८१ (७० प्रतिशत) ले तेस्रो किस्ता अनुदान लिइसकेका छन्। गुठी जग्गा, बहुस्वामित्व, सुकुमवासी, विस्थापित, एकल तथा असहाय, वैदेशकि रोजगारीमा रहेका भूकम्प प्रभावितले मात्र घर बनाउन सुरु गर्न नसेकेको आयोजना व्यवस्थापक गुप्ताले जनाए।

आवास निर्माणमा ६९ प्रतिशत खर्च

चालु वर्षमा भूकम्पपीडितका व्यक्तिगत आवास निर्माणमा साढे तीन अर्व रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको छ। जिल्लामा जिमालीमार्फत आवास अनुदानको रकम खर्च हुँदै आएको छ। सिन्धुपाल्चोकका पीडितका आवास निर्माणमा नेपाल सरकारको स्रोत र जापान सरकार सहयोग नियोग (जाइका) को ऋण सहयोग खर्च गरिँदै आएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत दुबै स्रोतबाट चालु वर्षको हालसम्म उपलब्ध खर्च अख्तियारीमध्ये ६९ प्रतिशत अनुदान रकम खर्च भएको जिल्ला कोष तथा लेखा नियन्त्रक लक्ष्मीप्रसाद प्याकुरेलले बताए। उनका अनुसार दुबै स्रोतबाट ५ अर्व २३ करोड २६ लाख ९४ हजारको अख्तियारी आएकोमा तीन अर्व ६३ करोड ५६ लाख रुपैयाँ अनुदान खर्च भइसकेको छ। 

जाइकाले चालु वर्षको लागि ४ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खर्चको अख्तियारी पठाएको थियो। योमध्ये तीन अर्ब १२ करोड ७३ लाख रुपैयाँ खर्च भएको छ। त्यस्तै सरकारले पठाएको ६० करोड ८२ लाख खर्च अख्तियारीमध्ये ५० करोड ८२ लाख ९७ हजार रुपैयाँ अनुदान वितरण भइसकेको छ। किस्ता माग गर्नेको संख्या बढिरहेकाले चालु वर्षलाई बाँकी रकमले नपुग्न सक्ने नियन्त्रक प्याकुरेल बताउँछन्। ‘त्यस्तोमा थप रकम खर्चको अख्तियारी आउँछ,’ उनले भने। 

 

प्रकाशित: १० चैत्र २०७५ १३:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App