१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वन्यजन्तुपीडित परिवारलाई राहत

रसुवा - वन्यजन्तुले क्षति पु-याएका परिवारलाई लाङटाङ राष्ट्रिय निकुञ्जले तेस्रोपटक राहत वितरण गरेको छ। निकुञ्जको ४३औं स्थापना दिवसका अवसरमा शनिबार १० जना पीडितलाई राहत वितरण गरिएको हो। निकुञ्जका अनुसार तोयानाथ आचार्य, ठुली कान्छी लमिनी, पेमा देकी लामा, ग्याल्जेन लामा, छिरिङ पेमा तामाङ, मिठु माया वाइबा, बुद्धराम तामाङ र पासाङ लामाले १०÷१० हजार पाएका छन्।

त्यसैगरी खिलकुमारी भट्टराईलाई ९ हजार ९ सय र हुमनाथ घिमिरेलाई ९ हजार ५ सय रुपयाँ प्रदान गरिएको हो। पीडितले क्षतिबापत ५ लाख ३६ हजार १ सय माग गरेकोमा ९९ हजार ४ सय रुपैयाँ पाएका छन्। निकुञ्जले यसअघि २१ जना पीडितलाई राहत दिइसकेको छ। वन्यजन्तुले क्षति गर्न थालेपछि खेतीपाती तथा पशुपालनमा कमी आउन थालेको छ।

धेरैजसो जंगली बँदेलले बाली क्षति गरेको निवेदन आएको छ। वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ (दोस्रो संशोधन २०७४) अनुसार राहत वितरण गरिएको प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताइन्। ‘वन्यजन्तुले क्षति गरेअनुसार क्षतिपूर्ति दिन सकिँदैन,’ उनले भनिन्, ‘सहयोगस्वरूप राहत दिएका हौं।’ मानव–वन्यजन्तुबीच हुने द्वन्द्वका कारण संरक्षणमा चुनौती सिर्जना हुने निकुञ्जका सूचना अधिकारी शिवलाल गैरेले बताए। ‘निकुञ्जमा मानव वन्यजन्तुबीच द्वन्द्व हुने गरेको छ,’ उनले भने, ‘पीडितलाई थोरै भए पनि राहत दिँदा संरक्षणमा उनीहरूले भूमिका निर्वाह गर्छन्।’

कार्यालयबाटै राहत वितरण गर्न पाउँदा खुसी लागेको मध्यवर्ती क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष टेम्पा नुर्पु तामाङले बताए। ‘पहिले राहत रकम लिन विभागमै जानुपथ्र्यो,’ उनले भने, ‘अहिले कार्यालयबाटै रकम दिने व्यवस्था भएपछि सहज भएको छ।’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको राहत अक्षयकोषको ब्याजबाट राहत वितरण गरिएको निकुञ्जले जानकारी दिएको छ। २०६९ सालदेखि वन्यजन्तुबाट पीडित भएका परिवारलाई राहत वितरण गर्न थालिएको हो। हात्ती, गैंडा, बाघ, भालु, चितुवा, हिउँचितुवा, जंगली बँदेल, ध्वाँसे चितुवा, जंगली कुकुर, अर्ना, मगर गोही, गौरी गाई र अजिंगरले क्षति गरे राहत पाउने निर्देशिकामा व्यवस्था छ। तर रसुवामा बाँदरले बढी क्षति पु¥याउने गरेको छ। बाँदरले क्षति पु¥याएबापत पीडितले राहत पाउँदैनन्।

प्रकाशित: १० चैत्र २०७५ ०४:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App