१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मकवानपुर गोल्डकप : सडन डेथबाट पुलिस क्वार्टरफाइनलमा

च्यासलका खेलाडीलाई रोक्दै पुलिसका मानबहादुर परियार (रातो)।    तस्बिरः अशोकसुजन/नागरिक

मकवानपुर – सडनडेथमा च्यासल युथ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब हेटौंडामा जारी भूगर्भ सिमेन्ट दोस्रो सहिद स्मृति मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि शनिबार भएको खेलको सडनडेथमा ६–५ गोलअन्तरले पुलिस विजयी भएको हो। 

च्यासललाई प्रतियोगिताबाट बाहिर्याएसँगै समूह ‘ए’अन्तर्गत पहिलो चरणको खेल सकिएको छ। बाइ पाएर क्वार्टरफाइनल पुगेको आर्मीविरुद्ध पुलिसले सोमबार भिड्नेछ। निर्धारित समय गोलरहित भएपछि भएको टाइब्रेकरमा पनि बराबरी गोल भएपछि खेल सडनडेथमा पुगेको थियो। 

सडनडेथमा पुलिसका लागि बुद्ध लामा र निरकुमार राईले गोल गरेका थिए। च्यासलका नरेन्द्र चौधरीको प्रहारले जाली चुमे पनि सन्जोग राईको प्रहार भने पुलिसका गोलरक्षकले रोकेका थिए। खेलमा पुलिसका कप्तान दिनेश गुरुङ म्यान अफ दी म्याच घोषित भए। उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे।

टाइब्रेकरमा पुलिस र च्यासलका तर्फबाट ४–४ गोल भए। पुलिसका लागि भरत शाह, तीर्थ रानामगर, हरि कठायत र सन्तोष हेमरुनले गोल गरे भने च्यासलका तर्फबाट क्याप्टेन अमिर श्रेष्ठ, विश्व अधिकारी, चेतन थारू र विक्रम लिम्बुले गोल गरेका थिए।

हेटौंडा उपमहानगरपालिका १० स्थित वनविज्ञान अध्ययन संस्थानको चौरमा भएको खेलमा दुवै टोलीले निर्धारित समयमा बललाई जाली चुमाउने प्रयास गरे पनि सफल हुन सकेनन्। प्रतिस्पर्धात्मक खेलमा च्यासलका नरेन्द्र चौधरीले खेलको ७०औं मिनेटमा पहेंलो कार्ड पाएका थिए।

आइतबार प्रतियोगिताको पहिलो सेमिफाइनल एफिएफ र दाउफिन्स फुटबल क्लबबीच हुनेछ। शनिबारसम्म चल्ने प्रतियोगिता जिल्ला फुटबल संघ मकवानपुरको आयोजना गरेको हो। प्रतियोगिताको विजेता टोलीले ८ लाख, उपविजेताले ४ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ। 

प्रकाशित: १० चैत्र २०७५ ०४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App