१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एपिएफ मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा

सशस्त्र प्रहरीको एपिएफ क्लबका खेलाडीलाई छक्याउँदै हिमालयन शेर्पाका रवि थापा मगर(पहेंलो)।    तस्बिरः अशोकसुजन/नागरिक

मकवानपुर – हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ क्लब हेटौंडामा जारी दोस्रो सहिद स्मृति मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। वन विज्ञान अध्ययन संस्थानको चौरमा शुक्रबार भएको खेलमा हिमालयनलाई १–० ले एपिएफ अन्तिम आठमा स्थान बनाएको हो।

हरि कार्कीले खेलको ३९औं मिनेटमा गरेको गोल नै एपिएफको जितका लागि निर्णायक बन्यो। हिमालयनका कप्तान मानबहादुर तामाङ र विदेशी खेलाडी उइरिच सेइवेलाई छक्याउँदै कार्कीले प्रहार गरेको बललाई गोलकिपर किशोर गिरीले रोक्न सकेनन्। दोस्रो हाफमा हिमालयनका खेलाडीले बललाई जाली चुमाउने प्रयास गरे पछि खेल निकै प्रतिष्पर्धात्मक भएको थियो। 

कप्तान तोपबहादुर बिष्टको नेतृत्वमा मैदानमा उत्रिएको एपिएफले हिमालयनको प्रहारलाई रोक्दै खाली हात घर पठाए। एपिएफका हरि कार्की म्यान अफ दी म्याच हुँदै नगद दश हजार रुपैयाँ पाउन सफल भए। हिमालयन शेर्पाका प्रशिक्षक बिजेन्द्र पुडासैनीले टिमको प्रदर्शनबाट सन्तुष्ट रहे पनि विपक्षीको डिफेन्स राम्रो भएकाले खेल जित्न नसकेको बताए। ‘अस्ति भर्खर माइभ्याली कप सकाएर आएका हौ,’ उनले भने, ‘केही खेलाडी हिजो मात्र आएकाले थकाई र थप तयारी गर्न नसक्दा जित निकाल्न सकेनाैं।’

एपिएफका प्रशिक्षक सुदीप श्रेष्ठले अनुमान गरिएजस्तो खेलमा स्कोर ल्याउन नसके पनि जितले हौसला थपिएको बताए। समूह ‘बी’ अन्तर्गतको एपिएफले सेमिफाइनलका लागि आइतबार क्यामरुनको दाउफिन्स फुटबल क्लबविरुद्ध चुनौती प्रस्तुत गर्नेछ। चैत १६ गतेसम्म चल्ने प्रतियोगितामा शनिबार समूह ‘ए’ को नेपाल पुलिस र च्यासल युथ क्लब भिड्नेछन्। गत बिहीबारको खेलमा मच्छिन्द्र क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै मकवानपुर–११ ले सेमिफाईनलमा सुरक्षित गरी सकेको छ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएको प्रतियोगितामा घरेलु मकवानपुर–११, दाउफिन्ससहित ‘ए’ डिभिजनका आठ क्लबको सहभागिता रहेको छ। 

प्रतियोगिताको विजेताले ८ लाख, उपविजेताले ४ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैंया, मेडल र प्रमाणपत्र पाउने छन्।

प्रकाशित: ९ चैत्र २०७५ ०४:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App