१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मकवानपुर गोल्डकप : घरेलु टोलीकाे विजयी सुरूवात

मकवानपुर ११ का खेलाडीलाई रोक्न खोज्दै मछिन्द्र क्लबका खेलाडी (सेतो)।    तस्बिरः अशोकसुजन/नागरिक

मकवानपुर – मच्छिन्द्र क्लबलाई २–१ ले पराजित गर्दै मकवानपुर ११ हेटौंडामा सुरु भएको भूगर्भ सिमेन्ट दोस्रो सहिद स्मृति मकवानपुर गोल्डकपमा विजयी भएको छ।

बिहीबार वन विज्ञान अध्ययन संस्थानको चौरमा आयोजित उद्घाटन खेलमा मच्छिन्द्रले मकवानपुरलाई दबाबमा राखेको थियो। खेलको १६औं मिनेटमा मच्छिन्द्रका अजित गुरुङको पासमा डोम्बिया मोहमदले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाउन सफल भए।

निक्कै दबाबका बीच खेलको ३०औं मिनेटमा मच्छिन्द्रका खेलाडीहरूलाई छक्याउँदै अफ्रिकन खेलाडी काजिमले गोल फर्काएपछि मकवानपुर ११ का खेलाडीमा उत्साह छाएको थियो। खेलको ६३औं मिनेटमा काजिमले पुनः गोल गरेपछि मकवानपुर २–१ गोलअन्तरले विजयी भएको हो। मकवानपुरका काजिमले खेलको म्यान अफ दी म्याच हुँदै नगद दश हजार रुपैयाँ पाए।

चैत्र १६ गतेसम्म चल्ने प्रतियोगिताको तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गरेका थिए। उद्घाटन गरेपछि उनले कुनै जमानामा फुटबल महारथीको रूपमा रहेको मकवानपुरलाई फुटबलको हब बनाउन पहल गरिने बताए।

शुक्रबारको खेल हिमालयन शेर्पा क्लबविरुद्ध सशस्त्र प्रहरीको एपिएफ क्लब भिड्ने भएको छ। प्रतियोगितामा घरेलु मकवानपुर ११, विदेशी दाउफिन्स फुटबल क्लबसहित राष्ट्रियस्तरका चर्चित ‘ए’ डिभिजनका आठ टोली थ्री स्टार क्लब, नेपाल आर्मी क्लब, प्रहरीको नेपाल पुलिस क्लब, सशस्त्र, हिमालयन शेर्पा क्लब, च्यासल क्लब, सरस्वती क्लबलगायतको सहभागिता  छ।

प्रतियोगिताको विजेताले ८ लाख, उपविजेताले ४ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाउनेछन्। साथै, हरेक खेलको म्यान अफ दी म्याच हुने खेलाडीले १० हजार रूपैयाँ पाउने आयोजकले जनाएको छ।

प्रकाशित: ८ चैत्र २०७५ ०३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App