१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रेलिङ राख्न पर्यटन व्यवसायीको आग्रह

रसुवा – धादिङका पर्यटन व्यवसायी मिलन तामाङ दुई जना विदेशी पर्यटक सहित गोसाईकुण्ड पुगे। तीन दिनको ट्रेकको लागि शनिबार गोसाईकुण्ड जाँदा बाटोभरि हिउँ थियो। हिउँमा मान्छेको पाइला देखिन्थे। ‘मान्छेले खनेर बाटो खोलेको थिएन, उनले भने, मान्छे हिँड्दा बनेको पाइलाले बाटो पहिल्याउन सक्यौँ।’

गोसाईकुण्ड पुग्ने पर्यटक यो बेला जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। ‘यो पदमार्गको चार ठाउँमा निकै अप्ठेरो बाटो रैछ,’ उनले भने, ‘यसमा रेलिङ हालिदिए राम्रो हुन्थ्यो।’ आइतबार २७ जना पर्यटक गोसाईकुण्ड पुगेका थिए। जसमा १८ जना नेपाली थिए। 

पदमार्गमा एउटा मात्रै होटल सञ्चालनमा आएको छ। पदमार्ग सुधारको काम अघि बढाउन सकिएमा एक पटक आएका पर्यटक दोहोर्याएर आउने अर्का पर्यटन व्यवसायी रमेश पुनले बताए। रसुवाको लाङटाङ र गोसाईकुण्डमा पर्यटक आउने क्रम बढेको छ। 

पर्यटकीय मौसम सुरु भएसँगै पर्यटक आउन थालेका हुन्। हिमपातका कारण एक महिनादेखि अवरुद्ध धुन्चे गोसाईकुण्ड पदमार्ग सञ्चालनमा आइसकेको छ। लाङटाङ पदमार्ग भने स्थानीयको सक्रियतामा तत्कालै सञ्चालनमा ल्याइएको थियो।

दैनिक रूपमा १०–१५ जना गोसाईकुण्ड तथा सोही संख्यामा लाङटाङ गइरहेका निकुञ्जले जनाएको छ। नेपालको तेस्रो गन्तव्य स्थल लाङटाङमा जाने पर्यटक क्यान्जिनसम्म मात्रै पुग्ने अवस्था रहेको छ। क्यान्जिनसम्म पुग्नका लागि बाटो खोलिसकेको गोसाईकुण्ड गाउँपालिका–४ लाङटाङका वडाध्यक्ष सुप्पा लामाले बताए। 

एक महिनासम्म रुट बन्द हुँदा पर्यटन क्षेत्रमा धेरै घाटा भएको होटल व्यवसायी निशान गजुरेलले बताए। पर्यटकको आगमन भइरहँदा हिउँ पर्ने समयमा हुनसक्ने जोखिम, जोखिमयुक्त क्षेत्र, पदमार्गमा होटल तथा लज सञ्चालन भए वा नभएको, बाटोको अवस्थाको विषयमा निकुञ्जले सबैलाई जानकारी दिनुपर्ने उनको भनाइ थियो। 

बुद्ध मन्दिरदेखि गणेश मन्दिरसम्म रेलिङको आवश्यकता रहेको भए पनि यो वर्ष राख्न सम्भव नभएको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी शिवलाल गैरेले बताए। ‘यस क्षेत्रमा पहिले राखेको रेलिङ भत्किएको हो, उनले भने, आगामी आर्थिक वर्षमा रेलिङ राख्छौँ।’  यो निकुञ्जमा बाह्रै महिना पर्यटक आउने गरेपनि मुख्यतया असोजदेखि मंसिर र फागुन १५ देखि वैशाख अन्तिमसम्म पर्यटक आगमन बढी हुन्छ। 

निकुञ्जका अनुसार चालु आर्थिक वर्ष २०७५–७६ को आठ महिनामा सात हजार एक सय ८१ विदेशी र एक सय २८ सार्क राष्ट्रका गरी सात हजार तीन सय नौ पर्यटक निकुञ्ज आएका छन्। निकुञ्जले तथ्यांक राख्न थालेदेखि फागुन मसान्तसम्ममा दुई हजार पाँच सय ७७ स्वदेशी पर्यटक भित्रिएका छन्। निकुञ्ज स्थापना भएदेखि हालसम्म तीन लाख १२ हजार आठ सय १६ पर्यटकले निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन्। 

निकुञ्ज प्रवेश गर्दा विदेशीलाई तीन हजार, सार्क राष्ट्रका पर्यटकलाई एक हजार पाँच सय, क्याम्पेनिङमा आउनेलाई एक हजार पाँच सय, नेपालीलाई एक सय र भरियालाई २५ रुपैयाँ शुल्क लाग्छ। यहाँ आउने पर्यटक धार्मिकस्थल गोसाईकुण्ड, नेपालको तेस्रो गन्तव्यस्थल लाङटाङ, ऐतिहासिकस्थल रसुवागढी, कालो गाउँको रूपले परिचित गत्लाङ र थुमनको नागथलीमा जान्छन्। 

पर्यटकीय जिल्ला रसुवामा धार्मिक, सांस्कृतिक, प्राकृतिक, ऐतिहासिक स्थल हुनुका साथै विश्वकै दुर्लभ रेडपाण्डा, हिमचितुवालगायत जीवजन्तुको अध्ययन, अवलोकन गर्नका लागि स्वदेशी तथा विदेशी पर्यटक भित्रने गरेका छन्।

 

प्रकाशित: ६ चैत्र २०७५ ०३:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App