१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

होटल र रेस्टुरेन्टको स्तरीकरण अभियान सुरु

सौराहाको राप्ती नदी किनारमा रहेको रेस्टुरेन्टमा पर्यटक।    तस्बिरः नागरिक

चितवन – पर्यटकीय गन्तव्य सौराहामा रहेका होटल तथा रेस्टुरेन्टको खाद्य स्वच्छता मूल्यांन गरेर स्तरीकरण गर्ने अभियान सुरु गरिएको छ। खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले होटल तथा रेस्टुरेन्ट स्तरीकरणको अभियान सुरु गरेको हो। 

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागबाटै प्रयोगशाला भ्यानसहित आएको टोलीले फागुन अन्तिम साता तीन दिनसम्म चितवनका विभिन्न स्थानमा रहेका होटल तथा रेस्टुरेन्टको अनुगमन गरेको थियो। 

केन्द्रीय टोली नै आएको समयमा सौराहामा रहेका होटल तथा रेस्टुरेन्टको स्तरीकरण गर्ने अभियानसमेत थालनी गरिएको छ। सौराहामा रहेका होटल तथा रेस्टुरेन्ट अनुगमन गरेर पहिलो पटक खाद्य स्वच्छताका आधारमा स्तरीकरण गर्न स्टिकर वितरण गरिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख विक्की राउतले बताए। अभियानअन्तर्गत सौराहामा रहेका १८ वटा होटल तथा रेस्टुरेन्टको निरीक्षण गरिएको छ। 

ति मध्ये नौवटाले खाद्य स्वच्छता कायम गरेको आधारमा स्तरीकरणको स्टिकर प्राप्त गरेका छन्। निरीक्षण गरेर मूल्यांकन गरिसकेपछि प्राप्त नतिजाका आधारमा स्तरीकरण गर्दा दिइने चार प्रकारका स्टिकर रहेको कार्यालयका चितवन प्रमुख राउतले जानकारी दिए। अति उत्तम हुनेलाई तीनवटा तारा अंकित हरियो स्टिकर, उत्तमलाई दुई तारा अंकित हरियो स्टिकर, सन्तोषजनकलाई एक तारा अंकित हरियो स्टिकर दिइने उनले बताए। यस्तै, मूल्यांकनमा सामान्य खाद्य स्वच्छता कायम गरेको पाइएकालाई पहेलो स्टिकर दिइने व्यवस्था रहेको छ। 

निरीक्षण गरेर स्तरीकरणमा परेको एउटा रेस्टुरेन्टले दुइटा तारा अंकित हरियो स्टिकर र आठवटा होटल तथा रेस्टुरेन्टले एउटा तारा अंकित हरियो स्टिकर प्राप्त गरेका छन्। दुइटा तारा अंकित हरियो स्टिकर पाउनेमा केसिज रेस्टुरेन्ट रहेको छ। निरीक्षणमा मापदण्ड पूरा नभई सुधार गर्नुपर्ने भेटिएका नौवटा होटल तथा रेस्टुरेन्टले कुनै स्टिकर प्राप्त गर्न सकेनन्। 

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले तयार गरेको खाद्य स्वच्छताका आधारमा होटल, रेस्टुरेन्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका २०७४ का आधारमा सौराहामा स्तरीकरण अभियान सुरु गरिएको उनले बताए। त्यस्तै होटल रेस्टुरेन्ट सञ्चालकले पालना गर्नुपर्ने मापदण्डको व्यवस्था गरिएको छ। त्यही मापदण्डका आधारमा स्तरीकरण तथा मूल्यांकनका लागि चेकलिस्ट बनाइएको छ। निर्देशिकामा उल्लेख भएअनुसार होटल तथा रेस्टुरेन्टले पालना गर्नुपर्ने मापदण्डका आधारमा खाद्य स्वच्छता निरीक्षण गर्न ५० बुँदे चेक लिस्ट बनाइएको छ।

कामदारको व्यक्तिगत सरसफाइ, भान्छा, रेस्टुरेन्टमा बसेर खाने ठाउँ, भण्डारणसम्मको सरसफाइ हेरिन्छ। खानामा दिइने गुणस्तरियता, खाना बनाउन प्रयोग गरिने तेललगायत सामग्री के कस्तो प्रयोग गरिएको छ भन्नेलगायतको जाँच गरेर मूल्यांकन गरिने राउत बताउँछन्। ‘नाला, ट्वाइलेट, बाथरुमको सुविधा र अवस्था लगायतबारे अनुगमन गरिन्छ,’ उनी भन्छन्, ‘कारोबारको तथ्यांक कसरी राख्छन् लगायत बारेमा उल्लेख भएको चेकलिस्टको आधारमा मूल्यांकन गरिन्छ।’ 

रेस्टुरेन्टमा नै गएर अनुगमन गर्दा तत्काल देखिएको अवस्थालाई चेकलिस्टमार्फत मूल्यांकन गरेर स्टिकर प्रदान गरिने उनले बताए। चेकलिस्टमा मार्किङ गर्ने तरिकासमेत उल्लेख छ। त्यही आधारमा प्राप्त हुने नतिजाअनुसार स्टिकर प्रदान गरिएको छ। यसरी दिइएको स्तरीकरणको स्टिकर एक वर्षका लागि मान्य हुने गरी दिइन्छ। अनुगमन र मूल्यांकनका लागि व्यवसायी, उपभोक्ता र स्थानीयसहितको समिति बनाइएको छ। समितिले समय–समयमा पुनः अनुगमन तथा छड्के जाँच गर्न सक्ने व्यवस्था गरिएको छ। 

यस्तै, होटल तथा रेस्टुरेन्ट सञ्चालकले पनि स्तरीकरणमा सहभागी हुनका लागि निवेदन दिन सक्ने उनी बताउँछन्। निवेदन आएपछि समितिले अनुगमन गरेर मूल्याकंन गरेर स्तरीकरणको स्टिकर प्रदान गर्न सकिने उनले बताए। सौराहामा एक सय १० वटा होटल तथा ५२ वटा रेस्टुरेन्ट रहेका छन्। सौराहाका सबै होटल तथा रेस्टुरेन्टमा क्रमशः निरीक्षण गरेर स्तरीकरणको स्टिकर प्रदान गरिने उनले जानकारी दिए। 

सौराहामा सुरु गरिएको यो अभियानअन्तर्गत आर्थिक वर्षभित्र सौराहाका सबै होटल तथा रेस्टुरेन्टको निरीक्षण गरेर स्तरीकरण गर्ने योजना कार्यालयले अघि बढाएको छ। विभागको टिमले तीन दिनमा मुग्लिन, नारायणगढ र सौराहाका ६० भन्दा बढी होटल तथा रेस्टुरेन्टमा निरीक्षण गरेको राउतले जानकारी दिए। मुग्लिन र रामनगरका होटल तथा रेस्टुरेन्टमा यसअघि २०७२ मा अनुगमन गरेर स्तरीकरण गर्ने प्रयास गरिए पनि त्यसले निरन्तरता नपाएको उनले बताए। 

यस पटकको निरीक्षणमा चेकलिस्टमा उल्लेख भएका स–साना कुरा पनि मिहिन ढंगबाट हेरिएको उनको भनाइ छ। ‘कर्मचारीको व्यक्तिगत सरसफाइ र भान्छाको सरसफाइमा कमजोरी देखिएका छन्,’ उनले भने, ‘भण्डारण व्यवस्थित गर्न, देखिएका कमजोरी  सुधार गर्न केही समय दिएका छौं।’ होटल तथा रेस्टुरेन्टलाई सुधारोन्मुख बनाउन नै निरीक्षणलाई प्राथमिकता दिइएको उनी बताउँछन्। 

प्रकाशित: ६ चैत्र २०७५ ०३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App