१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

हारको दोष खेलाडीलाई

लन्डन – चेल्सीका प्रशिक्षक माउरिसियो सारीले आफू खेलाडीहरूको मानसिकताबाट चिन्तित भएको बताएका छन्।आइतबार एभर्टनलाई २–० को नतिजा सुम्पिएसँगै चेल्सीको जारी सिजन इङ्लिस प्रिमियर लिगको शीर्ष ४ मा बस्दै सिजनको अन्त्य गर्ने लक्ष्यमा गम्भीर धक्का लागेको थियो। रिचार्लिसन र गेल्फी सिगुर्डसनको समान एक गोलमा एभर्टनले गुडिसन पार्कमा भएको खेलमा चेल्सीलाई स्तब्ध पारेको हो।

‘म टोलीको मानसिकता देखेर चिन्तित छु,’ सारीले भने, ‘हाम्रो अहिलेको अवस्थाबारे सबै जानकार छन्। हामीले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरे पनि दोस्रो हाफको सुरुआतबाटै आफ्नो स्वाभाविक लय गुमायाैं। मलाई थाहा छैन टोलीले किन दोस्रो हाफमा पूरै लय गुमायो भनेर।’ ‘यो सबै खेलाडीमा भएको कमजोर मानसिकताको नतिजा हो,’सारीले थपे।

४९औं मिनेटमा रिचार्लिसनले बललाई जाली चुमाएसँगै एभर्टनले अग्रता लिएको थियो। सिगुर्डसनको कर्नर प्रहारमा डोमिनिक काल्भर्ट–लेविनले गरेको हेड चेल्सीका गोलकिपर केपा अरिजाबागलालले रोक्दा रिबाउन्डमा प्राप्त बललाई रिचार्लिसनले जाली चुमाएका थिए। ७१औं मिनेटमा सिगुर्डसनले पेनाल्टीको सदुपयोग गर्दै एभर्टनको अग्रता दोब्बर पारेका थिए। मार्कोस ओलन्साले रिचार्लिसनमाथि खराब फाउल गरेपछि एभर्टनले पेनाल्टीको अवसर पाएको थियो।

यस हारपछि ३० खेलमा ५७ अंक जोडेको चेल्सी छैटौं स्थानमा रहेको छ। एक खेल बढी खेलेको लिभरपुल ७६ अंकका साथ शीर्ष स्थानमा छ भने म्यानचेस्टर सिटी ३० खेलमा ७४ अंकका साथ दोस्रो स्थानमा छ। समान ३० खेलमा ६१, ६० र ५८ अंक जोडेका टोटेनह्याम, आर्सनल र म्यानचेस्टर युनाइटेड क्रमशः तेस्रो,चौथो र पाँचौ स्थानमा छन्।

‘हामीले हरेक खेलमा पहिलो हाफमा गरेजस्तै स्वाभाविक प्रदर्शन दोस्रो हाफमा पनि दोहो¥याउन सकेको भए हामी अंकतालिकामा सम्मानजनक अवस्थामा हुन्थ्यौं होला,’ सारीले भने, ‘हामीसँग अब शीर्ष ४ मा बस्दै सिजनको अन्त्य गर्ने झीनो आशा मात्र बाँकी छ।’ यसअघि खेलको छैटौं मिनेटमा इडेन हाजार्डले गरेको प्रहार पोस्टका लागेर फर्कंदा चेल्सी निराश बनेको थियो।

 

प्रकाशित: ५ चैत्र २०७५ ०४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App