आन्दोलनका ति दिन

स्मृतिमा चैत ३

आइतबार, ०३ चैत २०७५, ११ : २३ स्नेह सायमी

२०४६ सालको राजनैतिक आन्दोलनबारे लेख्न थुप्रै संस्मरण बाँकी छन्। म र मजस्ता थुप्रै नागरिकको योगदान र बलिदानले सफल भएको २०४६ को जनआन्दोलनसँग जोडिएका दुईवटा अनुभूती चैत्र ३ को सन्दर्भमा राखेको छु। लेखक–कलाकार मुलुकको रुपान्तरणको निम्ति ज्यान दिन सशरीर आन्दोलनमा खट्न पनि सक्छन भन्ने विश्वव्यापि उदाहरण छन्। नेपालका लेखक कलाकारले सामाजिक राजनीतिक आन्दोलनमा निर्णायक भूमिका खेल्न सक्छन् भन्ने एउटा उदाहरणीय दिन थियो, २०४६ चैत्र ३।

सडकमा साहित्यकार

२०४६ साल चैत्र ३ गते तत्कालीन पञ्चायती निरंकुशताविरुद्ध लेखक कलाकारहरुले कालो पट्टी बाँधी धर्ना बस्ने निर्णय भयो। प्रजातान्त्रिक र बाम पक्षधर लेखकहरुले प्रज्ञा प्रतिष्ठानको गेट अगाडी प्रदर्शन गर्ने निधो भएको थियो। तर त्यहाँ ट्रक र सडकभरी प्रहरीको घेरा देखिएपछि तत्कालै त्रिचन्द्र कलेज सरस्वती सदनमा बस्ने निर्णय भयो र आन्दोलन समर्थक साथीहरुलाई इसारै इसारामा सरस्वती सदन लैजाने काम भयो। त्यतिबेला म नारायण पुरीलाई सम्झन्छु। सानो उमेरको तर सारै छरितोसंग प्रज्ञा प्रतिष्ठानको गेट अगाडीको सडकपारी बसेर आन्दोलन समर्थित लेखक कलाकारहरुलाई इसारा गरीरहेका थिए। मसंग मेरो भाई नेमकृष्ण पनि थियो। म घरमा त्यसदिन ‘आज गिरफ्तारी दिने तयारीका साथ नै जान लागेको, प्रहरीले थुन्न वा यातना पनि दिन सक्छ’ भनेर आएको थिएँ। बिशेषतः आन्दोलनबारे लक्ष्मीजी र भाइ नेमलाइ भन्ने गरेको थिएँ।

 २०४६ साल चैत ३ गते कालो पट्टी बाँधेर साहित्यकारहरु सडकमा उत्रेको घटना अभिव्यक्ति संघर्षका लागि नेपाली साहित्यकारहरुले देखाएको अदम्य साहसको उदाहरण हो।

लेखक कलाकारहरुले करीब १५ मिनेट सरस्वती सदनमा बसेर मुखमा कालोपट्टी बाँध्न भ्याए। त्यतिखेर हामीले अग्रज साहित्यकारहरु युद्धप्रसाद मिश्र, पारिजात ,आनन्ददेव भट्ट, शक्ति लम्साल, गंगा प्रशाद उप्रेति, खगेन्द्र संग्रौला, कमलमणी दिक्षित र उहाँकी धर्मपत्नी अंजु दिक्षित, कृष्णचन्द्र सिँह प्रधान, बासु शशीलाई अघिल्लो पंक्तिमा राख्न हतार हतार ब्यबस्था गरेका थियौं। कालोपट्टी बाँध्नासाथन पुलिस घेर्न आइपुग्यो।

एकछिन हेर्यो पुलिसले। वास्तबमा प्रतिष्ठित लेखक कलाकारहरु लगायत ठूलो संख्यामा चुपचाप मुखमा कालोपट्टी बाँधेर बसेको घटनाले यति ठुलो अट्टहास गरेछ कि राज्यसत्ता वास्तबमा त्यही मौन आवाजले थर्र्र्किएको थियो। त्यति कार्यक्रम सम्पन्न हुनका लागी छुट्टाछुट्टै ठाउँमा बिभिन्न तयारी बैठक बसेको थियो र साँच्चैको संयुक्त मोर्चाको प्रदर्शन थियो। सम्भवत पुलिसले पनि अब के गर्ने भनेर सोच्न नै सकेन।  अन्ततः सबैलाई ट्रकमा राख्यो। त्यतिखेर साहित्यिक काम र  आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो हरिगोबिन्द लुईंटेल। २०४६ सालको आन्दोलनभरी पनि हरिगोबिन्द लुईटेल, म र राजेन्द्र अधिकारी संगसंगै हुन्थ्यौं। त्यो ट्रकभित्र पनि हामीसंगै थियौं । त्यहाँ उमेरले सबैभन्दा कान्छी लेखक चैं सुम्निमा तुलाधर थिइन, पद्मरत्न तुलाधरकी छोरी। युद्धप्रसाद मिश्र, आनन्ददेव भट्ट, भुवनलाल प्रधान, डायमण्ड शमशेर, सत्यमोहन जोशी, वाशु शशी, खगेन्द्र संग्रौला, , रायन, रामेश, ध्रुवचन्द्र गौतम, ,  हरि अधिकारी, उत्तम नेपाली, शक्ति लम्साल, मोहन कोइराला, दुर्गालाल श्रेष्ठ, निनु चापागाईं, रुद्र खरेल, विमल निभा, मुरारी अर्याल, ताराकान्त पाण्डेय, वासुदेव अधिकारी, बेन्जु शर्मा, गोविन्द वर्तमान, अशेष मल्ल, विष्णुविभु घिमिरे, शारदा शर्मा, मोहन खड्का, सुनिल पोखरेल, शैलेश श्रेष्ठ, कृष्णसेन इच्छुक, आहुति, मणि थापा, शार्दुल भट्टराई, प्रकाश सायमि, राजेन्द्र शलभ, सुरेश किरण, मल्ल के सुन्दर, राजकुमार के.सी., लगायत विविध विधा र उमेरका स्रष्टाहरु त्यहाँ थियौं।

ट्रकमा सबैलाई कोचिसकेपछि ट्रक कता लैजाला भन्ने कौतुहल थियो। अधिकांश लेखक कलाकार ट्रकको बारभन्दा होचा हुनुहुन्थ्यो। पछाडीको बार भने होचो भएको हुनाले बाहीर देखिन्थ्यो। केही बेर पछाडी पछाडी भाइ नेमले ट्रकलाइ मोटरसाइकलबाट पछ्याएको देखेँ। गाडी पुलिस क्लबभित्र लगेपछि भाइ घर फर्केको रहेछ। हामीलाई पुलिस क्लबमा ट्रकभित्रै केही समय राख्यो र त्यसपछि बग्गिखाना पुतलीसडक लग्यो, सबैलाइ एउटै हलमा राख्यो। मदनकृष्ण र हरिबंशलाई भने भ्यानमा राखेर ल्याएको रहेछ। पारिजातलाई प्रहरीले समात्न आएछन्, उहाँले मलाई पक्रन महीला प्रहरी नै लिएर आउनुस भन्नु भएपछि उहाँलाई सरस्वती सदनको चौरमै छोडेर गएछन्। हामी सबै गिरफ्तार भएपछि पनि पारिजात भने निर्णय अनुसार दिनभर एक्लै धर्ना दिएर बस्नुभएछ। त्यो उहाँको अडान र अठोटको प्रतिविम्ब हो। पछि हाम्रा एक मित्र कुमार राउतले उहाँलाई मोटरसाइकलमा राखेर घरमा पुर्याउनुभएछ।

हरिवंशको त्रुटी

यत्ति लेखेपछि हरिबंश आचार्यले लेख्नु भएको बहुचर्चित पुस्तक ‘चिना हराएको मान्छे’मा उल्लिखित केही घटनाबारे टिप्पणी गर्नु उचित होला। उहाँले पारिजात, युद्धप्रसाद मिश्र सहित महजोडीलाइ बग्गीखानाबाट पुलिस क्लब लगेको उल्लेख गर्नु भएको छ। तर पारिजातलाई पक्राउ नै गरेको थिएन र युद्धप्रसाद मिश्र पनि उहाँहरुको साथमा हुनुहुन्थेन। यो ऐतिहासिक घटनाका साक्षी धेरै नै हुनुहुन्छ र अधिकांश अहिले पनि जिवित हुनुहन्छ। त्यसैले सच्याउनु हुन अनुरोध पनि छ।

बग्गीखानामा खान त के पानी पिउन पनि दिईएन। बर्दीका प्रहरी र सुराकीहरु दुबै थिए। कसैकसैले पुलिसहरुलाइ नै फकाएर खाजा किन्न लगाएर पनि खानु भएछ। तर अधिकांश लेखक कलाकार भोका प्यासा त्रसित नै थिए।

अन्ततः राति करीब १० बजेतिर भिडीओ क्यामेरा अगाडी राखेर बयान लिने काम शुरु भयो। नाम ठेगाना, किन, कसले भनेर आएको आदी प्रश्न गरीसकेपछि बिस्तारै एक एक जना गरेर छुटे। म र हरिगोबिन्दजी करीब १० बजेतिर छु््ट्यौं। को कता गए पनि थाहा भएन। त्यसबेला सबैभन्दा बढी कठोर व्यवहार शार्दुल भट्टराई र रामेशप्रति गरिएको थियो। हामीले बयान दिएको ठाउँमा बिना बर्दीका सुराकीहरु चर्को स्वरमा कराउँथे र यही हो यही हो भन्थे। त्यहाँ भएका सुराकी मध्ये एक जनाले शार्दुलजीलाई चिनेको र आन्दोलनमा लागेको थाहा पाएको मान्छे परेछ। उहाँलाई तीन पटकसम्म बयान लिएर छोडेछ। उहाँप्रति गरेको ब्यबहार देखेर शार्दूलजीलाई छोड्दैन की भनेर हरिगोबिन्दजी र म चिन्तित हुँदै पुतलीसडकको  एउटा पसलमा खाजा खाएर हिँड्दै नैकाप ढुंगेअड्डातिर लाग्यौं।

 हरिबंश आचार्यले आफ्नो पुस्तक ‘चिना हराएको मान्छे’मा पारिजात, युद्धप्रसाद मिश्र सहित महजोडीलाइ बग्गीखानाबाट पुलिस क्लब लगेको उल्लेख गर्नु भएको छ। तर पारिजातलाई पक्राउ नै गरेको थिएन र युद्धप्रसाद मिश्र पनि उहाँहरुको साथमा हुनुहुन्थेन।

नारायण ढकाल  त्यतिखेर दृष्टि साप्ताहिकका सम्पादक हुनुहुन्थ्यो। दृष्टि तत्कालीन नेकपा मालेको मुखपत्र। त्यस्तै नेकपा चौथो महाधिवेशनले मूल्यांकन र गर्जन साप्ताहिक प्रकाशित गथ्र्यो, जसको सम्पादक थिए गिरिराजमणी पोखरेल। राजनैतिक पार्टीहरु प्रतिबन्धित थिए। ती पत्रिकाहरुका पार्टीको नाम अगाडी प्र्र. लेख्नु पथ्र्यो। प्र.पार्टी फलानोको आयोजनामा फलानो कार्यक्रम भयो भनेर लेखिन्थ्यो। पार्टीहरुको आन्तरिक रणनीति अनुसार कतिपय लेखक पत्रकारहरुलाई पक्राउ हुन जाने त कतिपयलाई कुनै पनि हालतमा पक्राउ हुन नहुने सूचिमा राखेको थियो। त्यसो हुँदा हुँदै पनि कतिपय लेखक पहिले नै पक्राउ भएसकेका, कतिपय पक्राउ नहुने रणनीतिमा परेका त कतिपयले पक्राउ पर्ने नै हो भन्ने निर्णय अनुसार सहभागी भएको देखिन्छ।

आन्दोलनको स्मृति

मूल्यांकन प्रकाशन गृह बाम र प्रजातान्त्रिक बिचार रहेका मानिसहरुको मञ्च थियो। कतिपय सार्वजनिक महत्व र राष्ट्रिय सवालमा मूल्यांकनले छलफल गर्ने र त्यसको निचोड प्रकाशन गर्ने गथ्र्यो। सोही क्रममा हरिगोबिन्द लुईटेलजीको सक्रियतामा २०५४ साल फागुन २६ गते  एउटा अभियानको न्वारान भयो – ‘सिर्जना चैत्र ३ साहित्यिक अभियान।’

यो अभियानको शुरुमा कालोपट्टीका सहभागीमध्ये हरिगोन्द लुइंटेल, म, गोविन्द वर्तमान, राजकुमार के. सी. र राजेन्द्रप्रसाद अधिकारी थियौं। पछि २०५६ फागुन २० गते यसलाई पुनर्गठन गरियो, जसमा नारायण ढकाल, विमल निभा, राजेन्द्र महर्जन र सुरेश किरण थपिनु भएको थियो भने खगेन्द्र संग्रौला र रामेश श्रेष्ठ सल्लाहकारको रुपमा रहनु भएको थियो। मेरो कविता संग्रह ‘पुल र पर्खालहरु’ सिर्जना चैत्र ३ कै नामबाट प्रकाशित भएको थियो।

हरिगोबिन्दजीकै सक्रियतामा हामीले लेखक सुब्वा कृष्णलाल अधिकारीको अग्रगामी स्रष्टा चेतना र प्रयत्नको समेत स्मरण गर्दैं २०५६ माघ २८ गते उनको ११३ औं जन्मजयन्ति मनायौं। सिर्जना चैत्र ३ ले बुलेटीन पनि निकाल्यो। यसले पछिल्ला समयहरुमा अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको पक्षमा यसले समसामयिक आवाजहरु उठाउने काम पनि गर्दैआयो। तर लामो समय यो मंच धेरै सक्रिय हुन सकेन।

सिर्जना चैत्र ३ ले सरस्वती सदनमा कालोपट्टी बाँधेको प्रतिकात्मक मुर्तिको स्थापना गर्ने पहल पनि ग¥यो। त्यसको चित्र कलाकार राजन काफ्लेबाट तयार पनि भयो। तत्कालीन सरकार र त्रिविविकोे ब्यबस्थापनसंग एकआध पटक कुरा पनि गरियो तर सकारात्मक जवाफ नआएपछि यो काम पनि स्थगित नै छ। सम्भवत नेपाल प्रगतिशील लेखक संघ र नेपाल लेखक संघले यो ऐतिहासिक राजनैतिक र साहित्यिक एकताको सम्झना गर्ने आबश्यक पनि ठानेन।

जे होस कमसेकम त्यतिखेर सहभागी हुनुहुने जीवित स्रष्टाहरुको यसै नामबाट स्मरण भेला मात्र गर्न सकिएपनि राम्रै हुन्थ्यो।

कर्माचार्यलाई मैदानमा लैजाँदा

२०४६ फागुन ७।

नेपाली कांग्रेस र बाममोर्चाको संयुक्त पहलमा आन्दोलन शुरु गर्ने दिन। त्यसका लागी कति तयारी बैठक, कति भूमिगत बैठक बस्यो, मलाई थाहा छैन। मैले यति मात्र थाहा पाएँ– न्युरोडको मध्य भागबाट जुलुश निकाल्ने निर्णय भएको रहेछ। सबै शिर्षस्थ नेताहरु त्यहाँ ठीक समयमा पुग्नु पर्ने। न्युरोडको बीचमा जहाँ अहिले एभरेष्ट बैंक बसेको छ, त्यहाँ बसेको थियो अमेरिकन पुस्तकालय। न्युरोडको केन्द्र पनि भुगोल पार्क देखि त्यही पुस्तकालयसम्मलाइ मानिन्थ्यो।

फागुण ७ कै लागी मेरा भागमा एउटा जिम्मा आइलाग्यो। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यलाई आन्दोलन शुरु हुने ठीक समयमा अमेरिकन पुस्तकालय अगाडी पुर्याउने। म बिहानै नैकाप घरबाट बस चढेर रत्नपार्क आएँ। रत्नपार्कबाट बीर अस्पताल, महाबौद्ध, प्युखा हुँदै आउँदा नै खाकी लुगा लगाएका प्रहरीहरु प्रशस्त देखें। प्रहरीहरु चनाखो भएर सबैलाई सश्ंकित रुपमा हेरिरहेका थिए। नर बहादुर मेरा बाजे उमेरका हुनुहुन्थ्यो तर सबैले भन्थे दाई। अनि मेरो पनि दाई हुनु भयो। उहाँको पाटन स्थित घरमा पटक पटक गएको थिएँ। तर मैले उहाँलाई पाटनबाट ल्याउने होइन रहेछ। पहिले नै भूमिगत भएर घर छोडीसक्नु भएको थियो। अहिले जस्तो मोबाइल त के ल्यान्डलाइन फोन पनि थोरै घरमा हुन्थ्यो। मलाई जानकारी आयो – नर बहादुर दाई गणबहालमा हुनुहुन्छ। खोज्दै गएँ, उहाँ एउटा लजमा बसिरहनु भएको रहेछ। अब समस्या के भने गणबहाल देखि अमेरिकन पुस्तकालय सम्म ठीक समयमा कसरी लुकाएर पुर्याउने। त्यतिखेरका चर्चित जनताका नेता हुनुहुन्थ्यो पद्मरत्न तुलाधर। मैले सोधें, उहाँ कसरी आउनु हुन्छ त ? उहाँको त नजिकै घरका ब्यबस्था भइसक्यो रे। समयमा तोकिएको ठाउँमा निस्कन सक्ने गरी बसिरहनु भएको छ रे। हामीलाई समस्या के भयो भने नरबहादुरदाई बस्नु भएको छ गणबहालमा। ठीक समयमा पुर्याउनु पर्ने बीच न्युरोडमा, जुलुश शुरु भइसकेपछि पक्राउ परे पर्ने भन्ने नीति रहेछ। तर जुलुस गर्ने स्थलमा भने जसरी पनि पुर्याउनु पर्यो। गणबहाल देखि त्यहाँसम्म पुग्न गारो हुने देखेर मैले नरबहादुरदाईलाई प्युखा लाने निधो गरेँ।  उहाँलाई नचिनोस भनेर मेरो गलबन्दीले मुखमा बेर्न लगाएँ। उहाँलाइ पछाडी छेकेर म अलि अघि परेर ट्याम्पु (अटोरिक्सा) रिजर्भ गरेर लगें, प्युखा स्थित मेरो पुरानो सहपाठी मित्र बिद्यामुनि बज्राचार्यको घरमा। बिद्यामुनिको कोठा घरको माथिल्लो तल्लामा थियो जहाँबाट सडकको गतिबिधि हेर्न सकिन्थ्यो। बिद्यामुनिको परिवार ठुलो थियो – बा, आमा, बहिनीहरु, भाई। सबैसंग मेरो राम्रो सम्बन्ध थियो सबैले सोधे – कसलाई लिएर आउनु भएको ? मैले भने मेरो बाजे। उहाँलाई बिद्यामुनिको कोठामा राखेर म झ्यालबाट बाहिरको गतिबिधि हेरिरहेको थिएँ। मैले कुनै पनि बेला उहाँलाई कुदाउनु पर्ने हुनाले म कहिले कोठा भित्र त कहिले बाहिर हेर्नु पर्ने थियो। घरका मान्छेहरु पनि अचम्मित थिए। प्रदर्शनमा उत्रिने समय भयो मैले उहाँलाइ लिएर तल आएँ र तोकिएको ठाउँमा छोडेर अन्त लागेँ। पछि थाहा भयो प्रहरीले उहाँलाइ पनि चिनेनछ। त्यतिखेर प्रहरीको तारो हुनुहुन्थ्यो पद्मरत्न तुलाधर।

बिद्यामुनि र उनको परिवारले पछि थाहा पाए नरबहादुरदाईकोबारे। बिद्यामुनिको परिवारले अलि अबिश्वास, अचम्मित आँखाले हेर्न थाले मलाई। दाईको बाजे भनेर हाम्रा घरमा ल्याएको मान्छे त आन्दोलनकारी पो रहेछन भनेर बिद्यामुनिको बहिनीले सुनाइन। मैले आफ्नो कुरा बताएँ र सहयोगको लागी धन्यवाद पनि दिएँ।







यसमा तपाईको मत


अन्य समाचार

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सल धेरै हुँदैमा क्यामरा राम्रो हुने होइन ! ...

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

हामी सबैको घरमा फ्रीज हुने नै गर्छ। लामो समयसम्म खाना वा कुनै बस्तु ताजा राख्नका लागि यसको प्रयोग गर्ने गरिन्छ।

इण्डिया एडमिसन एक्स्पो २०१९

इण्डिया एडमिसन एक्स्पो २०१९

उच्च शिक्षाका लागि सहि गन्तव्य भारत हुनसक्छ भन्ने अभिप्रायले इण्डिया एडमिसन एक्स्पो २०१९ अर्थात १० औं बृहद भारतिय शैक्षिक मेला...

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन् ।

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा 
आइएलओको १०८ औं सम्मेलनमा संबोधन

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा आइएलओको १०८ औं सम्मेलनमा संबोधन

अन्तर्राष्ट्रिय श्रम सम्मेलन (International Labour Organization-ILO)  को १०८ औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद...

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा आज...

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा आज...