१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

निर्मला हत्या प्रकरण : एसपी बिष्ट र डिएसपी जिसीका नाममा ३५ दिने वारेन्ट जारी

काठमाडाैँ - कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला हत्या प्रकरणमा प्रहरीका दुई अधिकारीका नाममा ३५ दिने वारेन्ट जारी भएको छ। कञ्चनपुरका तत्कालिन एसपी डिल्ली बिष्ट र सिआईवीका डिएसपी अंगुर जिसीका नाममा अदालतले उपस्थित हुन ३५ दिने वारेन्टसहितको सूचना जारी गरेको हो।

प्रहरी द्धय  एसपी  बिष्ट र डिएसपी अंगुर जिसीसहित आठ जनाविरुद्ध प्रमाण नष्ट गरेको र पीडितहरुलाई यातना दिएको अभियोग लगाउँदै कञ्चनपुरको सरकारी वकिल कार्यालयले जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरेको हो। उक्त मुद्दामा अदालतले उपस्थित हुन  एसपी  बिष्ट र डिएसपी जिसीसहित ८ जनालाई पत्र काटेको थियो। तर उक्त पत्रको आधारमा ६ प्रहरी मात्र उपस्थित भए।

एसपी बिष्ट र डिएसपी जिसी अहिले पनि प्रहरी सम्पर्कमा अाएका छैनन्। गत बिहीबार न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलाशमा भएको प्रारम्भिक सुनुवाइमा मुद्दा अघि बढाउने आदेश भएको थियो। डिएसपी ज्ञानबहादुर सेठीलगायत ६ प्रहरीको बिहीबारदेखि नै अदालतमा बयान लिन सुरु गरिएको थियो।

डिएसपी सेठी, प्रहरी निरीक्षक जगदीश भट्ट, प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी नायव निरीक्षक हरिसिंह धामी, रामबहादुर धामी र प्रहरी जवान चाँदनी साउदको बयान लिइसकिएको अदालतका स्रेष्तेदार हरिकृष्ण अवस्थीले बताए। उनका अनुसार उपस्थति सबैकाे बयान लिने काम सोमबारनै सकिएकाे हाे। ‘६ जना प्रहरीको बयान लिने काम सकिएको छ,’ उनले भने, ‘डिल्ली बिष्ट र अंगुर जिसी उपस्थित नभएकाले उनीहरूको बयान भने लिन बाँकी छ।’

स्रेष्तेदार अवस्थीले  मुद्दा परेका ८ जनामध्ये उपस्थित नभएका बिष्ट र जिसीका नाममा सोमबार अदालतमा उपस्थित हुन ३५ दिने वारेन्टसहितको सूचना जारी भएको बताए।

निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह बिष्टका दाजु खडक बिष्टले गत पुस ४ गते दिएको उजुरीका आधारमा सरकारी वकिल कार्यालयले उनीहरूमाथि यातना दिएको र प्रमाण नष्ट गरेको अभियोगमा फौजदारी अपराध संहिताअनुसार मुद्दा दर्ता गरेकाे थियो। प्रमाण नष्ट गरेको भन्दै एसपी बिष्ट र निरीक्षक खड्कालाई भविष्यमा अयोग्य नहुने गरी जागिरबाट बर्खास्त गरिएको छ भने अन्य ६ जना निलम्वनमा परेका छन्। २०७५ साउन १० गते साथी रोशनी बमको घरमा पढ्न गएका बेला हराएकी निर्मलाको भोलिपल्ट नग्न अवस्थामा शव फेला परेको थियो।

प्रकाशित: २९ फाल्गुन २०७५ ०६:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App