१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

भुकुटीमण्डपको जुत्ता मेलामा ३० वटा ब्रान्ड

भृकुटीमण्डपमा जारी जुत्ता, चप्पल मेलामा जुत्ता किन्दै उपभोक्ता।    तस्बिर : अर्जुन तामाङ/नागरिक

काठमाडौं – भृकुटीमण्डपमा विवाह तथा पार्टीलाई लक्ष्य गरेर सुरु गरिएको ‘शुभविवाह महाकुम्भ जुत्ता मेला’मा विभिन्न ३० ब्रान्डको जुत्ता राखिएको छ। फागुनमा विवाहको लगन र पार्टी हुने समय भएकाले उपभोक्तालाई चाहिने सबै प्रकारका जुत्ता मेलामा उपलब्ध गराइएको छ। 

भुकुटीमण्डप बाह्रै महिना जुत्ता–चप्पल मेला आयोजना गरे पनि यसपटक भने विवाहको लागि लक्षित गरेको देखिन्छ। विवाह तथा पार्टीका लागि डिजाइन गरिएका नयाँ–नयाँ जुत्ता मेलामा छन्। मेलामा दुई सय ५० भन्दा बढी नयाँ डिजाइनका साथै एक हजारभन्दा बढी डिजाइनका जुत्ता राखिएको आयोजकले जानकारी दिएको छ।

एउटै छानामुनि सबै प्रकारका जुत्ता, चप्पल पाएपछि बौद्ध नयाँबस्तीका सोमलाल तामाङले तीन जोर जुत्ता खरिद गरे। फागुन ६ गतेबाट सुरु भएको मेला केही दिन अझै चल्ने केटिएम सुजका सञ्चालक प्रमोद महतोले जानकारी दिए। विवाह तथा पार्टीमा नयाँ जुत्ता लगाउने परिपाटीलाई लक्षित गरेर एउटै छानामुनि सबै मोडलका जुत्ता, चप्पल छानीछानी किन्ने अवसर दिन मेला आयोजना गरिएको अर्को सहभागी भेनस सुजका सञ्चालक जीवन श्रेष्ठले जानकारी दिए। 

गुणस्तरीय जुत्ता, चप्पल सस्तो मूल्यमा एउटै थलोमा उपलब्ध हुनु नै यो मेलाको आकर्षक पक्ष हो। नेपाली जुत्ताको लोेकप्रियता अझ बढाउन हरेक डिजाइनका जुत्ता फ्याक्ट्री लागतमा नै उपलब्ध गराइने आयोजकको भनाइ छ। 

मेलामा नेपालका प्रख्यात ब्रान्डका जुत्ता, चप्पल राखिएका छन्। मेलामा भेनस सुज, केटिएम सुज, पारागन सुज, फुटस्टेप सुज, बोस सुज, जाल्पा फुटवेयर लगायत ब्रान्डका नयाँ–नयाँ डिजाइनका जुत्ता, चप्पल राखिएका छन्।

एउटै छानामुनि उत्कृष्ट ब्रान्डका जुत्ता, चप्पल उपभोत्ताले छानीछानी किन्न पाउनेछन् भने हरेक ब्रान्डका जुत्तामा कम्तीमा ६ महिनाको वारेन्टी रहेको छ। उपभोक्ताले खोजेका हरेक भेराइटीहरु मेलामा उपलब्ध गराइएको आयोजकले जनाएको छ। 

नेपाली जुत्ता, चप्पल प्रयोग गरौं, स्वदेशी उत्पादनमा गर्व गरौं भन्ने नाराका साथ मेला आयोजना गरिएको हो। नेपाली उपभोक्तालाई स्वदेशी उत्पादनका जुत्ता, चप्पल लगाउने बानी बसाल्न र स्वदेशमै गुणस्तरीय जुत्ता उत्पादन हुन्छन् भनेर चिनाउन मेला राखिएको बोस सुजका गंगा श्रेष्ठको भनाइ छ।

नेपाली सीप र पुँजीको प्रयोगबाट बनेका स्वदेशी जुत्ताले अहिले विदेशी जुत्तालाई विस्थापित गरिरहेका छन्। नेपाली उपभोक्ताले स्वदेशी जुत्तानै खोजी खोजी प्रयोग गर्न थालेका छन्।

 

प्रकाशित: २९ फाल्गुन २०७५ ०३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App