१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जन्ती बस दुर्घटनामा २ को मृत्यु, २२ घाईते

मकवानपुर- कान्तिलोकपथको हेटौंडा–काठमाडौं अन्तरगत मकवानपुर गढी गाउँपालिका २ धरमपानीमा जन्ती बोकेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २२ जना घाईते भएका छन्। भक्तपुरबाट २८ जना जन्ती बोकेर हेटौंडातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस सडकको घुमाउरो मोडबाट भीरमा खस्दा दुर्घटना भएको हो।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको पाँचखाल लामिडाँडाका ३५ बर्षिय नवराज परियार र नुवाकोट घर भई बालाजु बस्ने २५ बर्षिय विकाश धमला रहेको मकवानपुर प्रहरीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताए। दुर्घटनामा गम्भीर घाईते सिन्धुपाल्चोकको बलेफी ५ का १८ बर्षिय भुवन नेपालीको चितवनस्थित भरतपुर अस्पतालमा उपचार भईरहेको छ।

त्यस्तै घाईतेहरु सिन्धुपाल्चोकको सुनकोशी ७ का ४० बर्षिय मित्रप्रसाद नेपाल, काभ्रेपलाञ्चोकका २१ बर्षिय राजन ढुङ्गानाको हेटौंडा अस्पतालमा उपचार भईरहेको छ। बाँकी सामान्य घाईते भएका १९ जनाको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा सामान्य उपचार गरी घर फर्किएको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक भट्टराईका अनुसार सडकबाट करिब २० मिटर तल भीरमा खसेर रुखमा अड्किएको अवस्थामा बसबाट यात्रुको उद्धार गरिएको थियो। केही समयअघि मात्र सडक विस्तारसँगै कालोपत्रे (पीच) भएको निर्माणाधिन लोकपथमा मंगलबार दिउँसो पौने २ बजे दुर्घटना भएको थियो।

भक्तपुरबाट सूर्यप्रसाद न्यौपानेको बिहेको जन्ती बोकेर हेटौंडा ५ पिप्लेमा दुलही अनुषा भट्टलाई लिन आउने क्रममा बस दुर्घटनामा परेको थियो। जन्ती बोकेर आएको तीन वटा बस मध्ये सबैभन्दा पछाडीको बस दुर्घटनामा परेको हो।

 

प्रकाशित: २८ फाल्गुन २०७५ १३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App