१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाले भेनेजुएलाबाट आफ्ना कर्मचारी फिर्ता गर्ने

वासिङ्टन- अमेरिकाले भेनेजुएलाको राजधानी काराकासस्थित राजदूतावासमा रहेका आफ्ना सबै कूटनीतिक कर्मचारीलाई स्वदेश फर्काउने अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले बताएका छन्। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त घोषणा गरिएको हो। 

भेनेजुएलामा जारी राजनीतिक सङ्कट गहिरिँदै गएपछि अमेरिकाको सो घोषणा आएको हो। यद्यपी अमेरिकी विदेश मन्त्रालयले गत जनवरी २४ मा नै दूतावासका उच्चस्तरीय कर्मचारी, उनीहरुका परिवारजन र अन्य आश्रित व्यक्तिहरुको संख्या कटौती गर्न निर्देशन दिएको थियो। 

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले आफूलाई दोस्रो अवधिको लागि पनि राष्ट्रपति भएको घोषणा गरेसँगै अमेरिकाले उक्त निर्णयप्रति असहमति जनाउँदै आएको थियो। यहीबीच गत जनवरी २३ मा भेनेजुएलाका विपक्षी नेता हुवाँ गुआइदोले आफूलाई विवादस्पद रुपमा मुलुकको अन्तरिम राष्ट्रपति घोषणा गरेपछि अमेरिकाले गुआइदोलाई नै मान्यता दिएको थियो। 

गुआइदोलाई यस प्रकारको अमेरिकी सहयोग प्राप्त भएलगत्तै मदुरोसँग अमेरिकाको सम्बन्ध अझ बिग्रिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मदुरोलाई सत्ताबाट हटाउन चौतर्फी दबाब दिँदै आएको छ। 

भेनेजुएलामा केही दिनयता विद्युत् आपूर्ति बन्द भएका कारण १७ जनाको ज्यान गइसकेको छ। विद्युत आपूर्ति सुचारु हुन नसकेपछि विद्यालय तथा व्यवसाय बन्द गर्न सरकारले आदेश दिएको छ। भेनेजुएलामा जारी राजनीतिक सङ्कटसँगै खाद्यान्न सङ्कट पनि थपिएको छ। 

भेनेजुएलामा लगातार पाँचौँ दिन पनि विद्युत् आपूति बन्द भएपछि सर्वसाधारण सडकमा उत्रिएका छन्। हाल देशका २३ मध्ये १४ राज्यमा सरकार विरुद्ध प्रदर्शन जारी रहेको बताइएको छ। विपक्षीहरूले राष्ट्रपति मदुरोले सत्ता नत्यागेसम्म प्रदर्शन जारी राख्ने बताएका छन्। 

गुआइदो आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि अमेरिकालगायत ५० भन्दा बढी देशले समर्थन गरेका थिए। यद्यपी राष्ट्रसङ्घ सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्रहरु रूस र चीनले राष्ट्रपति मदुरोलाई समर्थन गरेका छन्। सिन्ह्वा

प्रकाशित: २८ फाल्गुन २०७५ १०:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App