१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

लडेको शालिक उठाउने बजेट समेत छैन

राजा भित्रुवनको सम्झनामा निर्माण गरिएको थानकोटस्थित भित्रुवन पार्क जीर्ण बनेको छ । पार्क संरक्षणका लागि सरकारले आवश्यक बजेट विनियोजन नगर्दा र स्तरोन्नतिको योजना नल्याउँदा पार्कको सुन्दरता गुम्न लागेको हो । 

पार्कलाई सिंगार्न नसक्दा चहलपहल पनि घटेको स्थानीयवासी बताउँछन् । ‘चारैतिर धुलो र फोहरमात्रै छ, कच्ची सडकको धुलोले पार्कलाई कुरूप बनाएको छ,’ थानकोटका स्थानीय सूर्यराज पौडेलले भने, ‘पर्खाल भत्किएका कारण जोकोही पनि पार्क प्रवेश गर्न सक्छन्, कर्मचारीले पनि यसबारे खासै चासो दिएका छैनन् ।’ 

कर्मचारी समयमै कार्यालय आउँदैनन्, काम नगर्ने कर्मचारीलाई बिदाई गरौं भने पनि उनीहरूको उपदान तिर्ने बजेट प्रतिष्ठानसँग छैन, पार्कबाट कर्मचारी पाल्ने रकम पनि उठेन, स्थानीय निकायले सहयोग गरेनन् र सरकारले आफ्नो सम्पतिको संरक्षण गर्न सकेन, त्यसैले यसतर्फ माथिल्लो निकायले चासो दिओस् । 

एक सय ६५ रोपनी क्षेत्रफलमा फैलिएको पार्क अहिले चारैतिरको बार भत्किएको छ । वरपरका बार र पर्खाल भत्किएपछि स्थानीयवासी जथाभावी प्रवेश गर्न थालेका हुन् । उनीहरूले पार्कमा निःशुल्क प्रवेश गर्न पाउनुपर्ने माग राख्दै पार्कको वरपरको बारसमेत भत्काएका छन् । चारैदिशामा पर्खाल उठाउन नसक्दा स्थानीयवासी प्रवेश गरेर पार्कभित्र फोहर गरेको सहिद स्मारक प्रकृति प्रतिष्ठानका कार्यवाहक अध्यक्ष मदन ताम्रकारले जानकारी दिए । उनले पार्कको अस्तित्व जोगाउन आफूलगायत प्रतिष्ठानका पदाधिकारी बारम्बार खटिए पनि बजेट अभावमा पार्कको स्तरोन्नति गर्न नसकिएको उनको भनाई छ । ‘बजेट अभावले भूकम्पमा भत्किएको राजा त्रिभुवनको शालिक समेत ठड्याउन सकिएको छैन,’ उनले भने, ‘धेरै सरकारी निकायलाई पार्कको अस्तित्व जोगाउनका लागि केही बजेट प्रदान गर्न आग्रह ग¥यौं । तर, त्यति सहयोग मिलेको छैन ।’ उनले पार्कभित्र जेनतेन हुने गरेका पिकनिकका कार्यक्रमबाट कर्मचारीलाई तलब खुवाउन पनि नपुगेको जानकारी दिए । 

पार्कमा चहलपहल बढ्न थालेपछि ‘श्री ५ त्रिभुवन स्मारक समिति’ले नै २०४२ सालमा आसपासको ४० रोपनी जग्गा खरिद गरेर पार्कको क्षेत्रफल बढाएको थियो । पार्कभित्र राजा त्रिभुवनको शालिक र भैरवनाथको मन्दिर पनि छ । शालिकमुनि नेपालको नक्सा आकारको पोखरी छ । तर, भूकम्पयता शालिक पोखरी छेवमा लडेको छ । शालिक मर्मत गरेर ठड्याउनका लागि बजेट अभाव भएको प्रतिष्ठानले जनाएको छ । 

पार्क जीर्ण बनेपछि घुम्न, भेटघाट गर्न र रमाउनका लागि आउने सहरवासीको संख्या निकै घटेको छ । अहिले पार्कभित्रका केही ठाउँमा पिकनिकका कार्यक्रम मात्रै आयोजना हुन्छन् । यसबाहेक घुम्न, आराम गर्न र भलाकुसारी गर्न आउने कोही देखिँदैनन् । पार्कमा आउनेको संख्या घटेसँगै आम्दानीको स्रोत पनि घटेको छ । ‘चारैतिरको भाग भत्किएको छ, सरकारले बजेट पनि दिँदैन, बनाउछु भनेर टक्रिने मान्छे पनि कोही छैनन्, पार्क हेरचाहका निम्ति ३०/३२ वर्ष अघिदेखि जागिर खाएका कर्मचारीले वास्तै गर्न छाडेका छन्, तलब समयमै नआएको बहानामा कामै गर्दैनन्,’ कार्यवहाक अध्यक्ष ताम्रकारले थपे, ‘उपत्यकाभित्र खुला ठाउँ भनेकै यस्तैखाले २/४ वटा पार्ककै हुन्, तिनको पनि संरक्षण नगरे उपत्यकावासी कहाँ जाने ?’ 

उनका अनुसार २०११ सालमा राजा त्रिभुवनको मृत्युपश्चात श्रद्धाञ्जली दिन आउने आम सर्वसाधारणको घुइँचो टुँडिखेलमा लागेको थियो । तत्कालीन समयमा सबैले राजाको सम्झना स्वरूप एउटा समिति गठन गर्ने प्रस्ताव राखे । सबैको प्रस्तावरुवरुप ‘श्री ५ त्रिभुवन स्मारक समिति’ गठन भयो । त्यो समितिले राजाको सम्झनामा कुनै उल्लेखनीय काम गर्ने  निर्णय पनि तत्कालीन समयमा ग¥यो । त्यसलाई मूर्त रूप दिन राजाको सम्झना गर्दै थानकोटमा त्रिभुवन पार्क बनाउने निर्णय भएको थियो । तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री केशवसम्शेर जबरा थिए । उनैको सक्रियतामा सरकारी लगानीमै थानकोटमा १ सय १२ जग्गा खरिद गर्ने काम भयो । जग्गा  खरिद गरेपछि २०२४ सालमा ‘त्रिभुवन पार्क’ पार्क भनेर दर्ता गरियो । त्यसपछि पार्क निर्माण अघि बढेको थियो । निर्माण भइसकेपछि २०३२ सालमा सर्वसाधारणका निम्ति खुल्ला गरिएको थियो । 

२०६५ साल अघिसम्म यो पार्क सञ्चालक समितिको नाम ‘श्री ५ त्रिभुवन स्मारक समिति’ थियो । २०६५ मा तत्कालीन नाम (श्री ५ त्रिभुवन स्मारक समिति) परिवर्तन गरी ‘सहिद स्मारक प्रकृति प्रतिष्ठान’ राखिएको हो । पार्कको हेरचाह र संरक्षणका लागि २७ जना कर्मचारी पनि राखिएको छ । त्यसमध्ये २० जना कर्मचारी स्थानीय हुन् । तर, अहिले प्रतिष्ठानका कर्मचारीबीच नै लडाइँ छ । उनीहरू तलब समयमै नपाएको भन्दै कार्यालयमा समेत उपस्थित भएका छैनन् । कर्मचारीले काम नगर्दा अहिले पार्क फोहर छ । बिदाको दिन शान्त ठाउँ खोज्दै घुम्न पुग्नेहरूले पनि पार्क अव्वस्थित देखेपछि फर्कने गरेका छन् ।

कार्यबाहक अध्यक्ष ताम्रकारले भएका कर्मचारीले पनि मिलेर काम नगर्दा पार्कको दुरावस्था भएको जानकारी गराए । ‘कर्मचारी समयमै कार्यालय आउँदैनन्, सबैले काम छल्न खोज्छन्, काम नगर्ने कर्मचारीलाई बिदाइ गरौं भने पनि उनीहरूको उपदान तिर्ने बजेट प्रतिष्ठानसँग छैन,’ उनले भने, ‘कर्मचारी पाल्ने रकम पनि उठेन, स्थानीय निकायले सहयोग गरेनन् र सरकारले आफ्नो सम्पतिको संरक्षण गर्न सकेन, त्यसैले यसतर्फ माथिल्लो निकायले छिटो चासो दिओस् ।’ उनका अनुसार तीन वर्षअघि पार्क संरक्षण र सपार्नका निम्ति संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा उपसचिवको संयोजकत्वमा एउटन कार्यदल गठन गरिएको थियो । तर, उक्त कार्यदलले पार्कको संरक्षणको निम्ति कुनै कदम अघि बढाएन । 

पार्क प्रतिष्ठानका हेरचाह कार्यालय प्रमुख प्रमोदलाल श्रेष्ठले बजेट अभावकै कारण पार्कको अवस्था बिग्रिएको जानकारी दिए । उनले पार्कलाई व्यवस्थित गर्नको लागि स्थानीय तहले पनि ध्यान दिनुपर्ने माग राखे । ‘हामीले त भएको जनशक्ति र बजेट प्रयोग गर्ने हो । तर, बजेट नै नभएपछि पार्कलाई सुधार्न निकै मुस्किल परेको छ,’ उनले भने, ‘अरु निकायले आर्थिक सहयोग गर्ने हो भनेमात्रै पार्कलाई सुधार्न सकिन्छ, पार्कभित्रको आम्दानीले कर्मचारीलाई तलब खुवाउन समेत पुग्दैन ।’ 

 

प्रकाशित: २७ फाल्गुन २०७५ ०७:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App