१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वीरगन्जमा अश्वमेध महायज्ञ सुरु

वीरगन्जमा आयोजित अश्वमेध महायज्ञ उद्घाटनका क्रममा आइतबार निकालिएको कलशयात्रा। तस्बिरःरितेश/नागरिक

वीरगन्ज  - पर्साको वीरगन्जमा आइतबार अश्वमेध गायत्री महायज्ञ सुरु भएको छ। नेपालमा यो यज्ञ आयोजना गर्ने पहिलो अवसर भएको आयोजकले बताएका छन्। बुधबारसम्म चल्ने उक्त महायज्ञ दीप प्रज्वलन, कलश पुजन, विभिन्न झाँकी प्रदर्शन तथा मन्त्रोचारण गर्दै भव्य समारोहबीच सुभारम्भ गरिएको हो।

आयोजकका अनुसार महायज्ञको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट गराउने पूर्वनिर्धारित कार्यक्रम थियो। तर खराब मौसमका कारण हेलिकोप्टर आउन नसक्ने भएपछि आइतबार बिहान राष्ट्रपति कार्यालयको सचिवालयले उनको आगमन स्थगन भएको जानकारी गराएको थियो। यसैकारण उद्घाटन समारोहमा यज्ञ आयोजक मूल समितिका अध्यक्ष डा. उपेन्द्र महतोले राष्ट्रपति भण्डारीको सन्देश पढेर सुनाएका थिए। ‘राष्ट्रको समृद्धि र सामथ्र्य विकासको उद्देश्यसाथ आयोजित अश्वमेध महायज्ञको सफलताका लागि शुभकामना व्यक्त गर्दछु,’ राष्ट्रपतिको सन्देशमा भनिएको थियो।

विश्वभरमा १०८ वटा अश्वमेध महायज्ञ गर्ने क्रममा अखिल विश्व गायत्री परिवारले नेपालको वीरगन्जमा आयोजना गरेको यो यज्ञ ४५औं हो। गायत्री परिवारका संरक्षक डा. प्रणव पाण्ड्या र शैलवाला देवीले दीप प्रज्वलन गरी महायज्ञको उद्घाटन गरेका थिए। आध्यात्मिक गुरु मानिने डा. पाण्ड्याले नेपाल र भारत सहोदर दाजुभाइ राष्ट्र भएको उल्लेख गर्दै नेपालको उन्नति र समृद्धिको कामना गर्ने यस यज्ञको उद्देश्य भएको बताए। स्वदेश र विदेशका गरी पाँच लाख बढी भक्तजन सहभागी हुने आयोजकको अनुमान छ। कार्यक्रम संयोजक तथा वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले यसमा अमेरिका, क्यानडा, मरिसस, इन्डोनेसिया, जापान, बेलायतलगायत करिब ४० देशका नागरिक सहभागी भएको जानकारी दिए। यो महायज्ञको आयोजक नेपाल हुनु तथा वीरगन्जमै आयोजना हुनु सौभाग्य भएको उल्लेख गरे।

महायज्ञ अवधिभर विभिन्न प्रदर्शनी र प्रवचन सहितका कार्याक्रम आकर्षण रहने आयोजकले जनाएको छ। उद्घाटन समारोहअघि आइतबार बिहान वीरगन्जमा विशाल कलश यात्रा गरिएको थियो। घण्टाघरबाट सुरु गरिएको कलश यात्रा माइस्थान, माहावीरस्थान, आदर्शनगर र पशुपति घोष चोक हुँदै यज्ञस्थल आदर्शनगरस्थित रंगशालामा पुगेको थियो। कलश यात्रामा १० हजारभन्दा बढी महिला, किशोरी तथा बालिका सहभागी भएको आयोजक समितिका महासचिव छोटेलाल प्रसादले जानकारी दिए। महायज्ञमा सहभागी हुन नेपाल र भारतका २० हजारभन्दा बढी जना वीरगन्जमा आइसेको आयोजकले जानकारी दिएको छ। महायज्ञमा २ सय ५१ यज्ञकुण्डमा हवन तथा पुजन गर्ने व्यवस्था गरिएको छ। प्रति हवनकुण्डमा ६ जनाका दरले एक पटकमा करिब १५ सय जनाले हवन गर्नेछन्। हवन सोमबार बिहान ८ बजेदेखि प्रारम्भ हुने मूल आयोजक समितिका सह–संयोजक डा. राजु अधिकारीले बताए। आगन्तुकका लागि भोजन, आवास तथा औषधोपचारको निःशुल्क व्यवस्था मिलाइएको उनले बताए।

प्रकाशित: २० फाल्गुन २०७५ ०२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App