१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

मनै लोभ्याउने गुलाफ

गुलाफको फूललाई फूलको रानी मानिन्छ। यसको डाँठमा काँडा हुने भए पनि गुलाफको फूल मन नपराउने सायदै होलान्। गुलाफको फूल हेर्दै मनमोहक हुन्छ। घर तथा बगैँचामा गुलाफ फुलाएर सुन्दरतालाई नै मनमोहक बनाउन सकिन्छ। बिहानी पख मोतिका दानाजस्ता शीतका थोपा गुलाफको थुँगामा लुटुपुटु गर्दा मनै आनन्द बनाइदिन्छ।

बिहानको आनन्दले दिनै खुसी हुने संकेत गर्छ। गमलामा रोपेर गुलाफ फुलाउनेको संख्या पनि दिन दिनै बढिरहेको छ। 
नेपालमा गुलाफको खपत कुनै वर्ष पहिलो नम्बरमै आउँछ भने कहिले दोस्रोमा पनि झर्छ। अन्य फूलको उत्पादन र गुलाफकै उत्पादन र मौसममा पनि गुलाफको खपत भर पर्ने गरेको छ। विश्वमा भने गुलाफको खपत पहिलो नम्बरमै पर्ने बताउँछन्, हर्टिकल्चर विशेषज्ञ। 

वनस्पति विज्ञ कुमार केसी पनि गुलाफको फूललाई फूलमध्येको रानी नै मान्छन्। गुलाफको फूल फुलेको देख्दा मानिसमा सकारात्मक सोच ल्याउने बताउँछन, केसी। रंगीचंगी गुलाफ फुल्दा गुलाफको बगैँचामा रमाउन कसलाई मन नलाग्ला र ! तिखो काँडै काँडा भएको डाँठमाथि सुन्दर गुलाफको फूलको इतिहाँस पनि लामै छ। 

चार हजार वर्ष अगाडिबाटै गुलाफको फूल बगैँचामा फुलाउन थालिएको इतिहास पाइन्छ। इसा जन्मिनु भन्दा ६ सय वर्ष पूर्व ग्रिक कवयित्री सफाले गुलाफको फूललाई ‘फूलहरुकी रानी’ उपनाम दिएको बताउँछन्, केसी। 

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का महासचिव विश्वमणि पोख्रेल पनि गुलाफको लोकप्रियता बढिरहेको बताउँछन्। गुलाफ धेरै मन पराइने फूलमध्येको रहेको उनको तर्क छ। बानेश्वरस्थित रोज डेल नर्सरीका देव प्रकाश राई पनि नर्सरीमा गुलाफको व्यापार राम्रो भएको बताउँछन्। 

प्राचीन कालमा समेत गुलाफको फूल महँगो पर्ने र शौखिनले बगैँचामा फुलाउने गरेको पाइन्छ। अहिले पनि गुलाफको लोकप्रियता कम छैन। विशेषगरी गाउँका महिलाले गुलाफको फूल कपालमा सिउरिएर हिँड्नेको संख्या आज पनि कम छैन। प्रणय दिवसको अवसरमा त झन् गुलाफ फूलको माग उच्च हुने गरेको छ। नेपालमा पृथ्वीनारायण शाहले पनि गुलाफको फुुलको महिमा उजागर गरेको बताउँछन्, केसी। 

गुलाफ पनि विभिन्न प्रकारका हुन्छन्, कुनै जंगली हुन्छन् त कुनै हाइब्रिड गरेर होचैमा फुलाउन सकिने किसिमका पनि हुन्छन्। कटफ्लावरका लागि डज जातको गुलाफ रोप्नु उपयुक्त हुने भए पनि घर तथा गार्डेनको सजावटका लागि भने अन्य स्थानीय, कलकत्तेजस्ता गार्डेन भेराइटिका गुलाफ रोप्नु उपयुक्त हुने बताउँछन्, रोज डेलका राई।

नेपालका अब्बल रैथाने गुलाफ
नेपालमा पनि आफ्नै किसिमका रैथाने जंगली गुलाफहरु पाइन्छन्। नेपाली रैथाने जातका गुलाफ मनमोहक रंग र बास्नादार हुने बताउँछन, केसी। रैथाने गुलाफ फुल्दा जंगलदेखि घर आँगनसम्म मनमोहक बास्नादार बनाइदिन्छ, गुलाफले। 

नेपालमा स्थानीय रोजा म्याक्रोफिला, रोजा सेरिसिया र रोजा ब्रुनानी जस्ता मुख्य जातका गुलाफ पाइने विशेषज्ञ बताउँछन्। रोजा म्याक्रोफिला हिमाली झाडिदार बिरुवामा पर्छ। यो जातको गुलाफको उचाइ ८ फिटसम्मको हुने बताउँछन्, केसी। जंगली रुखमा लहरा भइ फैलिने यो जातको गुलाफ आठदेखि १३ हजार फिटसम्मको उचाइमा पाइन्छ। झुप्पा आकारमा फुल्ने म्याक्रोफिला जातको गुलाफ हेर्दै मनमोहक हुन्छ। 

नेपालमा पाइने अर्को जात हो, रोजा सेरिसिया। करिब ६ फिटको उचाइ हुन्छ यस जातको गुलाफ। यो घ्यू कलरमा फुल्छ। सेरिसिया जातको गुलाफको फूल नरम र चम्किलो हुने बताउँछन्, हर्टिकल्चर विशेषज्ञ। सेरिसिया जातको गुलाफ नौ हजार फिटभन्दा माथि वनस्पति उम्रिन सक्ने ठाउँसम्म फुल्ने बताउँछन्, वनस्पति विज्ञ केसी। 

रोजा ब्रुनोनी जातको गुलाफ लहरे हुन्छ। यो जातलाई ‘हिमालयन मस्क’ को नामले पनि चिनिन्छ। यो जातको गुलाफ काठमाडौं उपत्यकामा प्रशस्तै पाइन्छ। घ्यू रंगमा एक झुप्पामा १० थुँगासम्म फुल्छ। यो जातको गुलाफ सामान्यतया फागुनको अन्त्यदेखि असारसम्म फुल्ने बताउँछन्, केसी। रोजा बु्रनोनी जातको गुलाफ चार हजार फिटदेखि सात हजार फिटसम्मको उचाइमा फुलाउन सकिने बताउँछन्, हर्टिकल्चर विशेषज्ञ। 

गार्डेन र कट भेराइटी

सामान्यतया गुलाफलाई पनि कट भेराइटी र पट भेराइटी गरी दुई किसिमले विभाजन गरिन्छ। कट भेराइटीमा गुलाफको फूलको थुँगा सजाइन्छ।  कट भेराइटी गुलाफ लामो–लामो डाँठ राखेर टिपिन्छ। करिब एक फिटको डाँठ राखिन्छ। लामो डाँठ भएको गुलाफ बुकी बनाएर गिफ्ट दिन सजिलो हुन्छ। बिहेका कार सजाउन  पनि सजिलो हुन्छ। घडामा तथा भाँडोमा डाँठैसँग राखेर गुलाफको फूल सजाउन सकिन्छ। आजकाल त बैंक, होटललगायतमा गुलाफको फूल सजाइन्छ।

विशेषगरी गमलामा रोपेर गमलामै फुलाउने किसिमको गुलाफको फूललाई पट भेराइटी गुलाफ भनिन्छ। गमला वा गार्डेनमा रोपेर सजाउने गुलाफलाई गार्डेन भेराइटी पनि भनिन्छ। गार्डेन भेराइटी धेरै फुल्छ तर डजको तुलनामा कम टिक्छ। गार्डेन तथा गमलाका लागि गार्डेन अर्थात् पट भेराइटी गुलाफ नै उपयुक्त हुन्छ भने ग्राटिङ गरेको गुलाफमा मुनिपट्टीबाट जंगली पनि पलाउने भएकाले त्यो जंगलीलाई चुँडेर फ्याँक्नु पर्छ। 

प्रणय दिवसमा २ लाख खपत
नेपालमा वर्षेनी करिब ३० लाखको हाराहारीमा गुलाफको फूलको (थुँगा) खपत हुने बताउँछन्, महासचिव पोख्रेल। भ्यालेन्टाइन अर्थात् प्रणय दिवसको समयमा मात्रै करिब २ लाख (स्टिक) को हाराहारीमा गुलाफको फूलको थुँगा नेपालमा खपत हुने गरको बताउँछन्,फ्यानका कार्यक्रम संयोजक जेबि तामाङ। प्रतिदिन करिब ८ हजार स्टिक गुलाफको फूल नेपालमा खपत हुने गरेको फ्यानको तथ्यांक छ।

विवाह, कुनै उत्सवको समयमा गुलाफको फूल महँगो हुने गर्छ। प्रणय दिवस तथा कुनै उत्सवको समयमा ५० देखि १०० रुपैयाँ प्रतिस्टिक खुद्रा मूल्य पर्ने बताउँछन्, तामाङ। अन्य समयमा भने ३० देखि ५० रुपैयाँ पर्छ। जाडो मौसममा नेपालमा गुलाफको फूल फुल्न नसक्ने भएकाले जाडो मौसममा पनि केही महँगो हुन्छ। जाडो मौसममा भारतबाट पनि आयात गर्नुपर्ने हुन्छ। फ्यानका अनुसार भ्यालेन्टाइनको समयमा ८० प्रतिशत गुलाफ आयात गरिन्छ भने २० प्रतिशत भने आन्तरिक उत्पादनले धान्छ। अन्य समयमा भने ८० प्रतिशत आन्तरिक उत्पादनले धान्ने संयोजक तामाङ बताउँछन्। नेपालमा करिब २० जनाले गुलाफको व्यावसायिक खेति गरिरहेको बताउँछन्, पोख्रेल। गर्मी मौसममा भने भारतमा पनि गुलाफको फूल निर्यात हुने पोख्रेल बताउँछन्। 

थरी थरी रंग
नेपालमा रातो, पहेँलो, पिङ्क, सेतोलगायतको करल अत्यधिक मन पराइने गुलाफका रंग हुन्। चाहे फूल किन्दा होस् वा गार्डेनमा नै रोप्दा किन नहोस् रातो कलर बढी खोजिन्छ। नेपालमा पनि हाइब्रिड गरेर एउटै थुँगामा पनि विभिन्न रंग मिसिएका गुलाफका बिरुवा तथा फूल पाइन्छन्। रातोमा सेतो, मिसिएको, छिरबिरे रंगका गुलाफ पनि त्यत्तिकै मन पराइएका कलर हुन्। गुलाफका कलर धेरै पाइन्छन्। 

तातो हावापानी 
गुलाफको फूल तातो हावापानीमै राम्रो फुल्ने बताउँछन्, हर्टिकल्चर विशेषज्ञ। महासचिव पोख्रेल पनि तातो हावापानीमै गुलाफ राम्रो फुल्ने बताउँछन्। विशेषगरी घर तथा गार्डेनमा गुलाफ रोप्दा दक्षिणी मोहोडामा राम्रो फुल्ने बताउँछन्, केसी पनि। करिब ३५ देखि ३८ डिगी्र सेल्सियस तापक्रममा राम्रो गुलाफ फुल्न सक्ने बताउँछन्, विशेषज्ञ। रातिको तापक्रम भने ५ देखि ७ डिग्री सेल्सियसभन्दा माथि नै हुनुपर्ने केसी बताउँछन्। 

जाडो मौसम बिरुवाको आराम गर्ने समय भएकाले जाडो मौसममा नै बिरुवाको छाँटकाँट गर्नुपर्ने विशेषज्ञ बताउँछन्। केसी भन्छन्, ‘जाडो मौसममा गुलाफको बोट सुसुप्त अवस्थामा हुन्छन्। जाडोमा धेरै खाना खाँदैनन्। त्यसैले जाडो मौसममा छाँटकाँट गर्नुपर्छ।’ जाडो मौसममा गुलाफको छाँटकाँट तथा मलजल गर्दा गर्मी सुरु हुनेबित्तिकै पात आएर फुल्न थाल्ने बताउँछन्, रोज डेल नर्सरीका राई पनि।

जाडो मौसममा सुषुप्त अवस्थामा हुने भएकाले सो समयमा सञ्चय गरेर राखेको मल गर्मी लाग्नासाथ गुलाफले लिन्छन् र फुल्छन्। सामान्यतया नेपालका सबै क्षेत्रमा गुलाफ फुल्ने भए पनि तराईदेखिमध्ये पहाडसम्मको हावापानीमा राम्रोसँग गुलाफ फुल्ने बताउँछन्, पोख्रेल। धेरै चिसो ठाउँमा भने गुलाफ फुल्न कठिन हुन्छ। रातो रंगलाई युद्ध तथा क्रोधको प्रतीक मानिए पनि गुलाफको  रातो रंगलाई प्रेम भावका साथ जोडीले साटासाट गर्ने चलन छ।

मल हाल्ने तरिका
गुलाफको फूललाई हड्डीको धुलोमल उपयुक्त हुने विशेषज्ञ बताउँछन्। राम्रो र आकर्षक फूल फुलाउनका लागि हड्डीको धुलो गुलाफको फूलका लागि उपयुक्त हो। हड्डीको धुलोमा न्यूट्रेन, क्याल्सियम जस्ता तत्व हुने भएकाले गुलाफलाई फुल्न सहयोग हुने बताउँछन्, केसी। फूल फुल्न बिरुवालाई नाइट्रोजन, फसफोरस र पोटासजस्ता खाद्य तत्वको आवश्यक हुन्छ। क्याल्सियम, सल्फर, म्याग्नेसियमको पनि त्यत्तिकै महत्व हुने केसीको तर्क छ। बेला–बेलामा मलजल गर्दा बिरुवा मजबुत हुने भएकाले गुणस्तरीय फूल फुल्छ। 

गाईको गोबर पनि गुलाफलाई उपयुक्त हुन्छ। पिना, कम्पोस्ट मल हाल्न सकिन्छ। गुलाफलाई मल हाल्दा गमलामा होस् वा जमिनमा नै किन नहोस् माटोले छोपेर हाल्नु पर्छ। गुलाफको बोटको वरिपरि हल्का खन्नु पर्छ। खनिसकेपछि वरिपरि खाल्डो बनाएर सो खाल्डोमा मल हाल्नुपर्छ र मल हालिसकेपछि माटोले छोपिदिनु पर्छ। माटोले छोप्दा एक त मलको दुर्गन्ध बाहिर आउँदैन भने राम्रोसँग मल लाग्छ पनि। 

जाडो मौसममा हल्का गुलाफको जरा काटिँदा बिरुवालाई असर हुँदैन। आवश्यकताअनुसार वर्षमा ४÷५ पटकसम्म मल राख्न सकिन्छ। तर जाडो मौसममा भने राम्रोसँग मल राख्नुपर्छ।  फुलिसक्ने बित्तिकै हाँगाबिँगा काटिदिनुपर्ने बताउँछन्, महासचिव पोख्रेल। काटेपछि नयाँ कोपिला आएर फूल फुल्छ। राम्रोसँग मलजल गर्दा १२ इन्चे गमलामा रोपेको एउटा गुलाफको बोटमा ३५ थुँगासम्म फुल्ने बताउँछन्, रोजडेलका राई पनि। 

गुलाफको फूलका लागि पनि हल्का किसिमको माटो उपयुक्त हुन्छ। गार्डेन वा गमलामा गुलाफ रोप्दा चार बोरा माटोमा एक बोरा धानको भुसको खरानी फिटेर गुलाफ रोप्नु उपयुक्त हुन्छ। गुलाफमा ‘लाइ’ लगायतका कीरा तथा रोग लाग्न सक्छन्। पातलाई कीराले खाइदिन सक्छ। त्यसैले समय–समयमा विषादी पनि हाल्नुपर्ने हुन्छ। बजारमा यसको विषादी पाइन्छ। 

गार्डेन र ग्रिन हाउस
गुलाफको फूल घर, गार्डेन र सेट हाउस (प्लास्टिकको घर) भित्र पनि फुलाउन सकिन्छ। व्यावसायिक रुपमा फुलाइने गुलाफ सेट हाउसभित्र फुलाइन्छ। जुन गुलाफको थुगा विभिन्न सजावटका लागि बिक्री गरिने बताउँछन्, पोख्रेल। खेतीका लागि डज गुलाफको भेराइटी नै राम्रो हुने बताउँछन्, विशेषज्ञ। खुला ठाउँमा पनि गुलाफ राम्रै फुल्छ। गर्मी आवश्यक हुन्छ, फुल्न।  गमलाका लागि भने स्थानीय जातका गुलाफ नै राम्रो हुने महासचिव पोख्रेलको तर्क छ। हाइब्रिड जातका गुलाफ कसैलाई गिफ्ट दिन पनि टिकाउ हुन्छन्। फूलको पत्र खस्दैनन्। जाडोको मौसममा करिब तीन हप्तासम्म पनि गुलाफको फूल टिक्ने बताउँछन्, केसी। 

गर्मी भन्दा जाडोमा टिक्छ 
सजाउने गुलाफका लागि करिब एक फिटभन्दा लामो डाँठसहित गुलाफ काट्नुपर्छ। पानीमा डाँठ डुबाउँदा लामो समयसम्म टिक्छ। १÷२ दिनमा करिब आधाइन्च पानीमा डुबाएको भागको गुलाफको डाँठ काट्दा पानी राम्रोसँग सोसेर गुलाफको फूल टिक्ने बताउँछन्, केसी। तामाङ पनि जाडो मौसममा टिपेको गुलाफको थुँगा टिक्ने बताउँछन्। गर्मी मौसममा भने जाडो मौसमको तुलनामा टिपेको फूल कम टिक्छ। गर्मी मौसममा फूल टिपेको करिब एक हप्ता टिक्ने बताउँछन्,राई पनि। गुलाफको फूलको डाँठ भने सफा पानीमा डुबाउनु पर्छ। 

गुलाफको औषधीय गुणसमेत रहेको विशेषज्ञ बताउँछन्। गुलाफमा भिटामिन सी को मात्रा हुने विशेषज्ञको तर्क छ। बेलुका सुत्ने बेलामा दुई चम्चा गुलाफको जल पानीमा मिसाएर नियमित सेवन गर्नाले पेट सफा हुने र कब्जियतसमेत कम हुने विशेषज्ञ बताउँछन्। घर मात्रै हैन विवाहको कार सजाउन पनि गुलाफको प्रयोग त्यतिकै हुने गरेको छ। विवाहको कार सजाउँदा गुलाफको फूल अनिवार्य जस्तै भएको छ, नेपालमा पनि। काठमाडौंलगायतका मुख्य सहरमा गुलाफको फूलको बिक्री बढिरहेको छ। 

प्रकाशित: १९ फाल्गुन २०७५ ०७:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App