१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नगर र पुस्तक वितरक बीचको विवादले बालबालिकाले किताब पाएनन्

डोल्पा - यहाँको त्रिपुरासुन्दरी नगरपालिका र किताब वितरक बीच विवाद हुँदा शैक्षिक सत्र सुरु भएको दुई साता बितिसक्दा समेत विद्यार्थीहरुले किताब पाउन सकेका छैनन्।

नगरपालिकाका निमित्त कार्यकारी अधिकृत हिराचन्द्र धरला र किताब वितरक पुर्णकेशर न्यौपाने बीचको आपसी विवादका कारण जिल्लामा आइपुगेका पाठ्यपुस्तक वितरण हुननसक्दा विद्यार्थीहरुले किताब नपाएका हुन्। फागुनको १ गतेबाटै डोल्पामा शैक्षिक सत्र सुुरु भई विद्यालय खुलेपनि नगरपालिका अन्तरगतका वडा नम्बर ७,८,१ र २ मा रहेका १८ विद्यालयका झण्डै १ हजार ५ सय बालबालिकाको हातमा पाठ्यपुस्तक पुगेको छैन।

नगरपालिका भित्रका विद्यालयहरुमा किताब ढुवानी गर्ने जिम्मेवारी पाएको सृष्टि एण्ड स्मृती स्टेशनरी सप्लायर्सका प्रोप्राइटर पुर्णकेशर न्यौपानेले आफुलाई कांग्रेसी समर्थक हो भन्दै पाठ्पुस्तक एजेन्टबाट हटाउने चलखेल नगरले गरेकाे आरोप लगाए। बिस्तारै पाठ्पुस्तक वितरकबाट हटाउने हिसावले आफ्नो विद्यालय क्षेत्र खुम्च्याउँदै लैजाने नियतले विगतमा ढुवानी गरिँदै आएको पहाडा क्षेत्रका ८ वटा विद्यालयको सिफारिस नगरले दिन नमाने पनि जनक शिक्षा सामाग्री केन्द्रबाट विश्वासको आधारमा सबैभन्दा पहिले पाठ्यपुस्तक ल्याइपुर्याएको उनले बताए। नगरले सिफरिस नगरेको विद्यालयका लागि ल्याइएका किताबहरुको भुक्तानी रोक्का गर्ने नगरका निमित्त कार्यकारी धरलाले बताएपछि आफुले किताब वितरण नगरेर थन्क्याएको न्यौपानेले बताए। त्रिपुरासुन्दरी नगरपालिकाका १८ विद्यालयका १५ सय बालबालिकाको लागि १ देखि १० कक्षाका १२ सय थान पाठ्पुस्तक ल्याइएको उनले जानकारी दिए।

निमित्त कार्यकारी हिराचन्द्र धरलाले भने सबैलाई मिलाएर पाठ्पुस्तक ढुवानी गर्ने जिम्मेवारी दिँदा सहज र छिटो रुपमा जिल्लामा पाठ्पुस्तक पुग्न सक्छ भनेर यस क्षेत्रका ध्रुव चलाउने, मनोज बोहरा र पुर्णकेशर न्यौपानेलाई विद्यालय बाँडिएको तर कुनैपनि राजनीतिक पुर्वाग्रह राखेर कार्य नगरेको बताए।

 

प्रकाशित: १७ फाल्गुन २०७५ १०:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App