१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

हेलिकोप्टर दुर्घटनापछि अनेकौं अड्कलबाजी

sunsaan singhadurbar photo

ताप्लेजुङ - ताप्लेजुङको पाथीभरा मन्दिर आसपासमा बुधबार मध्याह्न पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्यान लिएको हेलिकोप्टर दुर्घटनाका विषयमा अनेकौं अड्कलबाजी हुन थालेका छन् । स्थानीयले बाटो बिराएका कारण हेलिकोप्टर दुर्घटनामा परेको अनुमान गरेका छन् भने केहीले क्षमताभन्दा बढी वजन बोकेकाले भार थेग्न नसकी हेलिकोप्टर एक्कासि भुइँमा झरेको बताएका छन् । बढी वजन, गलत बाटो र हावाहुरीका कारण करिब ३ हजार मिटर उचाइको तारेभीरमा जहाज ठोक्किएको अड्कल गर्नेहरु थुप्रै छन् ।

सामान्यतया माउन्टेन फ्लाइटमा जाने हेलिकोप्टरले पाँचजनाको भार थेग्न सक्छ । हिमालयन गाइड्स ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिका प्रबन्ध निर्देशक ईश्वरी पौडेलका अनुसार चालकसहित नेपाली नागरिकको हकमा ६ जनासम्मको भार माउन्टेन फ्लाइटका लागि सामान्य हो । उनका भनाइमा दुर्घटनाको प्रकृति हेर्दा चालक प्रभाकर केसीले कुहिरो छल्न सिस्नेबाट फुरुम्बुको गढीडाँडातर्फको बाटो समातेको हुनुपर्छ । ‘मेरो विचारमा हावाले सही दिशा लिन नदिएर एकैचोटि तारेभीरतर्फ खसाल्यो’, पौडेलले भने, ‘कुहिरो छल्न सिस्नेको शिरबाट गढीडाँडा हुँदै सुकेटारतर्फको यात्रा सोचेका चालकलाई हावाको वेग र कुहिरो बाधक बने र हेलिकोप्टर मोडाउने क्रममा दुर्घटनामा प-यो ।’

बढी वजनदेखि गलत बाटो र हावाहुरीसम्मलाई दोष

थिल्लो फेदीका होटल व्यवसायी इन्द्रनारायण भट्टराईका अनुसार हेलिकोप्टरले पाथीभरा मन्दिरबाट सुकेटार वा राजधानी फर्कने यात्राका लागि जहिल्यै सीधै माथिल्लो फेदीको वल्लो छेउबाट विद्युत् तार टाँगेको क्षेत्र हुदै भालुगौंडेको माथिबाट एकैपटक सुकेटारतर्फ यात्रा तय गर्छ । बुधबार दुर्घटनामा परेको हेलिकोप्टरको उडान त्यसभन्दा विपरीत सिस्नेखोलाको शिरतर्फ गएको छ । ‘जुन बाटोबाट हेलिकोप्टर फर्कियो, त्यो गलत थियो । त्यसमा वजन पनि बढी भएको र हावाको वेगका का।ण हेलिकोप्टरलाई चालकले सही दिशामा मोडाउन खोज्दा सकेनन्’, भट्टराईले बताए । जहाज दुर्घटनालगत्तै दुर्घटनास्थल पुगेका स्थानीय घनश्याम पौडलले हेलिकोप्टरले लिएको गलत दिशा र त्यो क्षेत्रमा हावाको वेग दुर्घटनाका लागि प्रमुख कारण रहेको बताए । ‘सधैंभन्दा अर्कैबाटोमा हेलिकोप्टर गयो । सबै छक्क पर्यौं’, पौडेलले भने, ‘जहाजलाई पहिलाकै स्थानतर्फ मोडाउने क्रममा चालकले प्रयास गरेर उचाइ लिन खोज्दा त्यो सम्भव भएन र हावाको अनियन्त्रित वेगले सीधै तारेभीरमा खसाल्यो ।’ उनले हेलिकोप्टर भीरमा ठोक्किएर नभई एक्कासि झर्दामात्र तारेभीरमा बज्रन पुगेको अनुमान गरेका छन् ।

सामान्यतया माउन्टेन फ्लाइटमा जाने हेलिकोप्टरले पाँचजनाको भार थेग्न सक्छ । तर बुधबार दुर्घटनामा परेको हेलिकोप्टरमा सातजना सवार थिए ।

बुधबार दुर्घटनामा परेको जहाजमा सातजना सवार थिए । गत कातिक दोस्रो साता चालकसहित पाँचजनाको टोली लिएर पाथीभरा भ्रमणमा आएका पर्यटन सचिव कृष्ण देवकोटा चढेको हेलिकोप्टरले पाथीभरा मन्दिरबाट एक यात्रु थपेर उड्न लाग्दा गति लिन सकेको थिएन । त्यसपछि आकस्मिक अवतरण गराई मान्छे ओराली पुनः उडान गराइएको थियो । यसरी हेलिकोप्टर चढेर ओर्लिएका यात्रु थिए पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी सदस्य गोपाल न्यौपाने । ‘मैले त घटना सुन्नेबित्तिकै बढी वजन र मौसमको प्रतिकूलतालाई दोषी ठानें’, पर्यटन सचिव देवकोटासँगको यात्रा संस्मरण सुनाउँदै न्यौपानेले भने । देवकोटासहित मन्दिरको दर्शन गर्न पुगेको टोलीको स्वागतका लागि क्षेत्र विकास समितिको प्रतिनिधि भएर न्यौपाने पाथीभरा मन्दिर पुगेका थिए । ‘सचिवज्यू सहितको टोलीले दर्शन सकेपछि सुकेटारतर्फ जाने क्रममा मैले पनि त्यहाँसम्म जाने इच्छा देखाएँ । चालकले पनि हुन्छ भनेपछि हेलिकोप्टर चढियो ।

हेलिकोप्टर भुइँ छोडेर करिब ३० मिटरजति माथि पुगेपछि चालकले मन्दिर परिसरमै आकस्मिक अवतरण गराए । उनले क्षमताभन्दा बढी वजनका कारण गति लिन नसकेको बताएपछि म ओर्लिएँ र जहाज फेरी उड्यो’, न्यौपानेले सुनाए । उति बेला पनि जहाजले माथिल्लोफेदी–भालुगौंडे हुँदै सुकेटारको यात्रा तय गरेको उनको भनाइ छ । पाथीभरा मन्दिरका पुजारी डिल्ली आचार्यले हेलिकोप्टर उडिसकेपछि मात्रै आफूले फरक स्थानबाट उडेको मेसो पाएको बताए ।

प्रकाशित: १७ फाल्गुन २०७५ ००:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App