१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

प्रचार नरुचाउने व्यवसायी

काठमाडौं – आङछिरिङ शेर्पा, जुन नाम धेरैले सुनेका तर नचिनेका व्यक्ति। एक सफल पर्यटन तथा उड्डयन व्यवसायी। सञ्चारमाध्यममा त्यत्ति आउन नरुचाउने उनै व्यवसायी अब सम्झनामा मात्र रहनेछन्। बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँगै शेर्पाको पनि निधन भएको हो।

मुलुकको उड्डयन क्षेत्रमा अग्रणी स्थान ओगट्ने यति एयरलाइन्सका संस्थापक तथा प्रबन्ध निर्देशक हुन् शेर्पा। मुलुकको पर्यटन र उड्डयन व्यवसायको क्षेत्रमा उनी सफल मात्र होइन ‘शक्तिशाली’ व्यवसायीका रुपमा समेत चिनिन्छन्। उच्च राजनीतिक नेतृत्वसँग राम्रो सम्बन्ध भएका उनले यस क्षेत्रमा चतुर राजनीतिक खेलाडीको परिचयसमेत बनाएका छन्। सबैजसो राजनीतिक दल र नेतृŒवसँग सम्बन्ध कायम गर्नसक्ने क्षमता उनमा थियो। त्यसैले जुनसुकै दल नेतृत्वको सरकार आउँदा पनि आफूअनुकूल नीति बनाउने गरेको आरोप शेर्पामाथि लाग्दै आएको छ।

शेर्पा यो उचाइमा सजिलै पुगेका भने होइनन्। उनले यो सफलता हासिल गर्न निकै संघर्ष गरेको उनका निकट व्यक्तिहरु बताउँछन्। सोलुखुम्बुमा जन्मिएका शेर्पाले भरियाको रुपमा ट्रेकिङ सुरु गरेका थिए। पछि किचेन ब्वाइ हुँदै उनी पर्यटन व्यवसायी बनेका हुन्। सुरुमा उनले आफ्नो दिदी आङडाली शेर्पाले सञ्चालन गरेको शेर्पा सोसाइटी ट्रेकिङमा काम गरेका थिए। त्यही कम्पनीबाट व्यावसायिक रुपमा पर्यटन क्षेत्रमा लागेका उनी पछि थामसेर्कु ट्रेकिङमा आवद्ध भए। थामसेर्कु ट्रेकिङ उनका दाइ लाक्पा सोनाम शेर्पा र भाउजु पासाङल्हामु शेर्पाले सुरु गरेका थिए।

मुलुकमा बढ्दो पर्यटन गतिविधिलाई मध्यनजर गर्दै शेर्पा उड्डयन व्यवसायमा लागेका थिए। सन् १९९८ मा दाजुभाइ मिलेर यति एयरलाइन्स सुरु गरेका थिए। यो एयरलाइन्सले हाल मुलुकको उड्डयन क्षेत्रमा अग्रणी स्थानमा ओगट्न सफल भएको छ। यतिसँगै शेर्पाको लगानीमा तारा एयरलाइन्स, डाइनस्टी एयर, अल्टिच्युड एयर सञ्चालित छन्। सन् २०१४ मा स्थापना भएको हिमालय एयरलाइन्समा पनि शेर्पाको लगानी रहेको छ। त्यसैगरी गोकर्ण फरेस्ट रिसोर्ट, कसरा जंगल एन्ड रिसोर्ट, लुम्बिनी होक्के, यति माउन्टेन होम लगायत ‘चेन रिसोर्ट’मा उनको लगानी रहेको छ। 

आङछिरिङको परिवारमा यो तेस्रो दुर्घटना हो। उनका कान्छा भाइ टेन्डी शेर्पाको २०५५ सालमा पनि हेलिकप्टर दुर्घटनामै मृत्यु भएको थियो। त्यसअघि २०५० सालमा उनकी भाउजु पासाङल्हामुको सगरमाथा आरोहण गरेर फर्कंदा हिमपहिरोमा परेर मृत्यु भएको थियो।

नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष एवं एसियन टे«ेकिङ प्रालिका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा मुलुकले एक सफल व्यवसायी गुमाउनुपरेको बताए। ‘उहाँ एक सफल व्यवसायी हुनुहुन्थ्यो,’ उनले नागरिकसँग भने, ‘काममा लगनशील र निरन्तर लागेकै कारण उहाँ यो सफलताको उचाईमा पुग्नुभएको हो।’ ट्रेकिङ व्यवसायीहरुको संगठन टानमा सँगै काम गरेको शेर्पाले स्मरण गरे। ‘टानमा म सचिव हुँदा उहाँ कार्यकारी सदस्य हुनुहुन्थ्यो। पछि म प्रथम उपाध्यक्ष हुँदा पनि उहाँ सदस्यकै रुपमा सँगै काम गरेका थियौं,’ उनले भने, ‘संस्था र पर्यटन व्यवसायमा उहाँको ठूलो योगदान रहेको छ।’

 

प्रकाशित: १६ फाल्गुन २०७५ ०२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App