१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुन्तला ओसार्न भ्याइनभ्याइ

आफ्नो बगानको सुन्तला टिप्दै याम्खाका किसान रामनिधि आचार्य। तस्बिर : दमन राई/नागरिक

खोटाङ – बगानमा लटरम्म फलेका सुन्तला ट्याक्टरमार्फत सिधै तराई पुग्न थालेका छन्। यस वर्ष याम्खाका किसान रामनिधि आचार्यको बगानबाट चारवटा ट्याक्टरमा ७६ हजार दाना सुन्तला उदयपुरको गाईघाट हुँदै सिराहाको लहान पुर्‍याइएको छ। 

ठेकेदार ट्याक्टर लिएर बगानमै आएपछि प्रतिदाना चार रुपैयाँका दरले सुन्तला बिक्री गरिएको आचार्यले बताए। ‘पहिला–पहिला डोकोमा बोकेर ठेकेदार सुन्तला ठेग्न आउँथे, हामी पनि डोकोमा बोकेर सुन्तला बिक्री गर्न बजार पुथ्यौं,’ आचार्यले भने, ‘अहिले सडक बनेको छ। डोकोबाट निर्यात हुने सुन्तला ट्याक्टरबाट जान थालेको छ।’ 

गाउँलाई जोड्ने कच्ची सडक बन्नुअघि आचार्यको बगानको सुन्तला ढाकरमा बोकेर दिक्तेल, उदयपुरको फत्तेपुर, गाईघाटलगायत सहरमा पुर्‍याउने गरिएको थियो। करिब पाँच रोपनी जग्गामा लगाइएका सुन्तलाबाट यस वर्ष चार लाखभन्दा बढी आम्दानी भएको आचार्यले बताए। जेठो छोरो मेघराज र माईलो छोरो डेगराजसँग मिलेर उनले सुन्तला, कागती र अलैंचीको बेर्ना पनि उत्पादन गर्छन्। 

यस्तै, याम्खाकै किसान रामबहादुर कुँवरको बगानमा उत्पादित सुन्तला पनि बस र ट्याक्टरबाट दिक्तेल, काठमाडौंलगायत सहरमा पुग्ने गरेको छ। डोकोमा बजार लैजाने गरिएको सुन्तला हाल ट्याक्टर र बसको छतमा राखेर बजार पुर्‍याउने गरिएको कुँवरले बताए। बिक्री नभएर फागुन–चैतसम्म बोटमै रहने सुन्तला सडकको पहुँच भएपछि बेलैमा बिक्री भइसक्ने किसानको भनाइ छ। कुँवरले अधिकांश सुन्तला दिक्तेलबजार लगेर बिक्री गर्ने गरेका छन्। 

नले हरेक वर्ष दिक्तेलबजारमा क्यारेटमा राखेर सुन्तला बिक्री गर्ने गरेका छन्। सुन्तलालाई ढाकरमा बोकेर बजार पुर्‍याउने गरेका कुँवरले २०६८ सालदेखि ट्याक्टरमा हालेर बजार पुर्‍याउन थालेका हुन्। उनले २०६८ सालमा ट्याक्टरमार्फत चखेवा–भोजपुर–धरान हुँदै तीन दिन लगाएर सुन्तला धरान पुर्‍याएका थिए। उसबेला धरानमा खोकुछिन्ताङको भन्दा याम्खाको सुन्तलाले राम्रो भाउ पाएको कुँवर बताउँछन्। ‘यसपल्ट सुन्तलाबाट ६ लाख आम्दानी भयो। एउटै बोटबाट ३५ हजारको सुन्तला बिक्री भयो। मेरो बगानको पाँच क्यारेट सुन्तला यूकेसम्म पुग्यो,’ कुँवरले भने, ‘पहिला–पहिला सुन्तला विक्री नभएर फागुन–चैत्रसम्म बोटमै रहन्थे। हाल अर्डरमै सुन्तला बजार पुग्ने गरेको छ। सुन्तलालाई ग्रेडिङ गरेर बजार पुर्‍याउने गरेको छु।’ 

याम्खाका नरबहादुर मुग्राती, गंगा पराजुली, हेमराज आचार्य, सुवास खत्री, रुपनकाजी राई लगायतका किसानले व्यवसायीकरुपमा सुन्तला खेती गर्दैआएका छन्। यस वर्ष याम्खाबाट मात्र करिब २० लाख बराबरको सुन्तला निर्यात भएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले बताए। बगानबाट बिक्री गर्दाभन्दा बजारमा पुर्‍याउँदा बढि आम्दानी भएकाले किसानले गाडीमार्फत सुन्तला बिक्री गर्न लैजाने गरेका छन्।

प्रकाशित: १५ फाल्गुन २०७५ ०१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App