१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पहिलो चरणमा दुई किलोमिटर कालोपत्रे गरिने

सडक फराकिलो बनाउन चार लेनमा विस्तार गर्न लागिएको भरतपुरको बाइपास सडक।  तस्बिर : सविता/नागरिक

चितवन – लेनको भरतपुरको आँपटारीदेखि केन्द्रीय बस टर्मिनल चोकसम्मको बाइपास सडक विस्तारको काम सुरु गरिएको छ। उक्त सडकखण्डलाई चार बनाउन विस्तारको काम सुरु गरिएको हो। पूर्व–पश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डलाई जोड्ने बाइपास सडकको लम्बाई ४.४९ किमि रहेको छ। सडक विस्तारको काम २०७३ को पुसबाट सुरु भए पनि अहिलेसम्म आधा काम पनि सकिएको छैन। 

१५ महिनामा काम सक्नेगरी ०७३ को पुसमा सडक विस्तार गर्न सम्झौता गरिएको थियो। दुई लेनमा विस्तार गर्ने भनेर ठेक्का लगाइएको सडकको डिजाइन परिवर्तन भएका कारण निर्माणमा ढिलाइ भएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर नारायणप्रसाद लामिछानेले बताए। त्यसपछि ६ महिना म्याद थप भएको थियो। अहिले आउने असार मसान्तसम्म सक्नेगरी काम भइरहेको उनले बताए। 

‘लागत अनुमान गरेर ठेक्का लगाएको पनि लामो समय भयो,’ उनी भन्छन्, ‘दुई लेनमा विस्तार गर्न ठेक्का सम्झौता गरिसकेपछि डिजाइन परिवर्तन हुँदा ढिलाइ भएको हो।’ १३ करोड ४५ लाख ८२ हजार सात सय ९१ रुपैयाँको बजेटमा काम सक्नेगरी निर्माण सम्झौता गरिएको छ। डिजाइन भेरियसनपछि अहिले चार लेनमा सडक विस्तारको काम थालिएको इन्जिनियर लामिछानेले बताए। सडक विस्तार गर्न विद्युतकाे पोल सार्नुपर्ने र रुखसमेत काट्नुपर्ने भएकाले थप ढिलाइ भएको उनले बताए। 

सडकखण्डमा रहेको बिजुलीका तीन सय पोल र नेपाल टेलिकमका ८८ पोल सार्ने काम अहिले जारी छ। यस्तै, सडकखण्डमा परेका ९६ रूख काट्ने काम पनि भइरहेको छ। सडकखण्डमा परेका रुख काट्न आठ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। विद्युतका पोल हटाउन दुई करोड २० लाख ९५ हजार रुपैयाँ लाग्ने भनेर विद्युत् प्राधिकरणले बजेट माग गरेकामा पहिलो चरणमा ४० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको उनले जानकारी दिए।

सम्झौता गरिएको रकमबाट पूरै लम्बाइमा चार लेनको सडक नबन्ने भएकाले आधाजसो सडक पहिलो चरणमा निर्माण सम्पन्न गर्ने गरी काम थालिएको उनी बताउँछन्। सडकखण्डको दुई किनारमा रहने नालीसहित २४ मिटर चौडाइ हुने गरी सडक फराकिलो बनाउन लागिएको छ। सडकको बीचमा १.५ मिटरको मिडियन (खाली भाग) हुनेछ। मिडियनको दुईतर्फ सात मिटर चौडाइका दुई–दुई लेनको सडक बन्नेछ। 

दुई लेनको सडकमा मिडियन राखिँदैन। सडक विस्तार दुई लेनमा मात्र गर्दा फेरि चार लेनको बनाउन सडक भत्काउनुपर्ने र दोहोरो खर्च नहोस् भनेर डिजाइन परिवर्तन गरेर मात्र काम थालिएको उनले बताए। इन्जिनियर लामिछानेका अनुसार पहिलो चरणमा केन्द्रीय बस टर्मिनल चोकबाट आँपटारीतर्फ मिडियनसहितको चार लेनको सडक बन्नेछ। ‘विनियोजित रकमले जति पुग्छ त्यतिसम्म निर्माण गर्ने भनेर काम अघि बढाइएको छ,’ उनले भने, ‘यो रकमले करिब दुई किमि सडक तयार हुनेछ।’ 

सडकखण्डको बाँकी भाग विस्तार गर्न अध्ययन गरेर बजेट माग गर्ने तयारी गरिएको उनी बताउँछन्। पहिलेको भन्दा थप बजेट आवश्यक पर्नेबारे केही महिनाअघि सडक विभागलाई जानकारी गराइसकिएको उनले बताए। अध्ययनपछि भने लागत अनुमान गरेर आवश्यक बजेट माग गरिनेछ। सडकको २४ मिटर चौडाइमध्ये पहिलो चरणमा १५.५ मिटर चौडाइको सडक बन्नेछ। सडकको दुईतर्फ गरी बाँकी रहने ८.५ मिटर चौडाइको सोल्डर निर्माणको काम पनि थप माग गरिने बजेटबाटै हुने उनले बताए। 

सडकखण्ड विस्तारको काम अहिलेसम्म ३० प्रतिशत सकिएको छ। विस्तारको काम सुरु भए पनि सडकखण्डमा ढल निकासको व्यवस्थापन गर्न चुनौती रहेको इन्जिनियर लामिछाने बताउँछन्। महानगरपालिकासँग ढल व्यवस्थापनबारे छलफल गरे पनि समस्या समाधानको काम सुरु हुन नसकेको उनले बताए। ढलको पाइप कता बिछ्याउने, कताबाट लैजाने भन्ने छुट्याएर ढल व्यवस्थापन भए सहरी क्षेत्रमा पर्ने सडक सफा र व्यवस्थित हुने उनको भनाइ छ। सडक विस्तारको काम गरिसकेपछि ढल व्यवस्थापन थप झन्झटिलो हुने उनी बताउँछन्।

प्रकाशित: १५ फाल्गुन २०७५ ०१:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App