१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्युबामा नयाँ संविधानका लागि जनमतसंग्रह

हवाना – संयुक्तराज्य अमेरिकाको निरन्तरको दबाब एवं भेनेजुएलाको समाजवादी सरकारलाई समर्थन गरेका कारण समस्यामा परेको क्युबामा नयाँ संविधानका लागि आइतबार जनमतसंग्रह भएको छ।

‘हामी क्युबालीले नयाँ संविधान, दक्षिण अमेरिका र क्यारेबियन क्षेत्रमा उदाहरण प्रस्तुत गर्नका लागि मतदान गर्दैछौं,’ राष्ट्रपति मिगेल डायाज–कनेलले मतदानका क्रममा बताए, ‘हामी भेनेजुएलाका लागि पनि मतदान गर्दैछौं। हामी भेनेजुएलाको पक्षमा छौं किनभने भेनेजुएलामा यस महादेशकै सबैभन्दा ठूलो नाटक मञ्चन भइरहेको छ।’

राष्ट्रपति डायाजले चिली, कोलम्बिया र पाराग्वेका राष्ट्रपतिहरुले भेनेजुएलाका विपक्षी नेता हुँवा गुएइदोको समर्थन गरेकाप्रति पनि आक्रोस पोखे। ‘कोलम्बियाको सीमामा केही राष्ट्रपति छन् र तिनीहरु हासोका पात्रजस्ता देखिएका छन्,’ उनले भने।

१९७६ को संविधानलाई प्रतिस्थापन गर्ने नयाँ संविधानले स्वतन्त्र बजार र निजी लगानीलाई सीमित गर्नेछ जसको सञ्चालन कम्युनिष्ट पार्टीले मात्र सञ्चालन गर्न पाउनेछ।

क्युबाले भेनेजुएलाका लागि अन्तरराष्ट्रिय समर्थन जुटाउने प्रयास गर्नुका साथै अमेरिकी सैनिक अतिक्रमणको विरोध गरिरहेको छ।
भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले भेनेजुएलाको सीमामा ल्याइएको मानवीय सहायतालाई आफ्नो देशविरुद्धको अमेरिकी कदमको संज्ञा दिएका छन्। यस्तो सहायता अधिकांश अमेरिकाबाटै भेनेजुएला सीमामा पुर्‍याइएको छ।

क्युबाली अधिकारीले करिब ८० प्रतिशतले मतदान गरेको बताएका छन्। सत्तारुढ कम्युनिष्ट पार्टीका प्रथम सचिवको शक्तिशाली पदमा आसिन पूर्वराष्ट्रपति राउल क्यास्ट्रोले पनि बिहानै मतदान गरेका थिए।

यस जनमतसंग्रहमा दुईवटा विकल्प मात्र दिइएको थियोः नयाँ संविधानको पक्ष वा विपक्ष अर्थात् हुन्छ वा हुन्न। अमेरिकी सिनेटर मार्को रुबियोले क्युबाको तथाकथित जनमतसंग्रह सत्तामा आफ्नो पकड अझ बलियो बनाउने कुत्सित मनसायबाट गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

सन् १९७६ को संविधानलाई प्रतिस्थापन गर्ने नयाँ संविधानले पनि स्वतन्त्र बजार र निजी लगानीलाई सीमित गर्नेछ। स्वतन्त्र बजार र निजी लगानीलाई कम्युनिष्ट पार्टीले मात्र सञ्चालन गर्न पाउनेछ।

साथै, संविधानले समाजवाद मुलुकको एक मात्र विचारधारा हुने परिकल्पना गरेको छ। यो धारणामाथि क्याथोलिक चर्चले भने आपत्ति जनाएको छ। क्युबाका प्रतिबन्धित विपक्षीले भने मतदान बहिष्कार गरेका थिए।

प्रकाशित: १४ फाल्गुन २०७५ ०२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App