१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मृत्यु हुनेको संख्या ३८ सय नाघ्यो

काबुल – दुई दशकदेखि अफगानिस्तानमा जारी युद्धका क्रममा सन् २०१८ मा सबैभन्दा बढी नागरिक मारिएको राष्ट्रसंघको एक प्रतिवेदनले औंल्याएको छ।

सन् २०१७ को तुलनामा सन् २०१८ मा नागरिकको मृत्युसंख्या झण्डै ११ प्रतिशतले बढी भएको छ। राष्ट्रसंघका अनुसार सन् २०१८ को एक वर्षको अवधिमा करिब तीन हजार आठ सय ४ जना मारिनुका साथै सात हजार एक सय ८९ जना घाइते भएका छन्।

सन् २०१८ मा विद्रोही तालिबान र इस्लामिक स्टेटका लडाकूहरुले गरेको अत्यधिक आत्मघाती आक्रमण र बम हमलाका कारण ठूलो संख्यामा सर्वसाधारणको ज्यान गएको थियो।

यो प्रतिवेदन अमेरिका र तालिबानबीच द्वन्द्व अन्त्य गर्ने उपायको खोजी गर्न अर्को चरणको प्रत्यक्ष वार्ता हुनु अघिल्लो दिन सार्वजनिक भएको छ। अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएमा अझ रक्तपातपूर्ण गृहयुद्ध हुने त्रास समेत उत्पन्न भएको छ।

गत वर्ष तीन हजार आठ सय मारिनुका साथै सात हजार एक सय घाइते भएका छन्। विद्रोही तालिबान र इस्लामिक स्टेटका लडाकूहरुले गरेको आत्मघाती आक्रमण र बम हमलाका कारण ठूलो संख्यामा सर्वसाधारणको ज्यान गएको हो।

अफगानिस्तानमा हिंसाका घटना अझ बढ्न थालेपछि कतारको दोहामा अमेरिका र तालिबानबीच वार्ता सुरु भएको हो। राष्ट्रसंघका अनुसार, गत दश वर्षको अवधिमा मात्र कम्तीमा ३२ हजार नागरिकको मृत्यु भएको छ भने ६० हजारभन्दा बढी घाइते भएका छन्।

‘यो मानवीय विपत्ति र त्रासदीको अन्त्य गर्ने समय आइसक्यो,’ राष्ट्रसंघका लागि अफगानिस्तान मिसनका प्रमुख ताडामिची यामामोतोले बताए। ‘नागरिकको हत्या र अपांगता रोक्ने एक मात्र उपाय भनेको लडाईं बन्द गर्नु हो।’
सन् २०१८ मा अफगानिस्तानमा कम्तीमा ६५ वटा आत्मघाती आक्रमणका घटना भएका थिए। तीमध्ये अधिकांश राजधानी काबुलमा केन्द्रित गरिएका थिए। मुलुकभर यी आक्रमणबाट दुई हजार दुई सयभन्दा बढी नागरिकको ज्यान गएको थियो।

अमेरिकी र अफगानी सेनाले बढाएको हवाई हमलाबाट पनि सन् २०१८ मा धेरै मानिसको ज्यान गएको छ। हवाई आक्रमणका कारण पाँच सयभन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ। राष्ट्र  संघको प्रतिवेदनमा हवाई आक्रमणबाट भएको क्षतिको विवरण पहिलो पटक समेटिएको छ।

संयुक्तराज्य अमेरिकाले तालिबान र इस्लामिक स्टेटलाई वार्तामा ल्याउने गरी दबाब सिर्जना गर्न पनि हवाई आक्रमण तीव्र पारिएको छ। अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा यस्ता हवाई आक्रमणलाई दोब्बर बनाइएको छ।

यामामोतोले आमजनतालाई लक्षित गरी भएका सबै आक्रमण अस्वीकार्य भन्दै नागरिक लक्षित आक्रमण रोक्न आह्वान गर्नुभएको छ।

अफगानिस्तानमा सन् १९७९ मा तत्कालीन सोभियत संघले हस्तक्षेप गरेयता निरन्तर हिंसात्मक द्वन्द्व कायम छ। सोभियत सेनाको फिर्तिपछि पनि अफगानिस्तानमा गृहयुद्ध, तालिबानको सत्ता र सन् २००१ मा अमेरिकी हस्तक्षेप भएको छ। 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा तैनाथ सेना फिर्ता गर्ने घोषणा गरेपछि एकाएक हिंसात्मक घटनामा वृद्धि भएको छ। अफगानिस्तानमा अझै १४ हजार अमेरिकी सेना तैनाथ छन्।

प्रकाशित: १३ फाल्गुन २०७५ ०५:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App