१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मनाङलाई रोक्दै एपिएफ सेमिफाइनलमा

आहा रारामा शनिबार मनाङ मर्स्याङ्दीविरुद्ध हेड प्रहार गर्दै सशस्त्र (रातो)का बुद्धिमान राई। तस्बिरः उमेश पुन/नागरिक

पोखरा - सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग १–० ले स्तब्ध हुँदै सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७५ को उपाधि विजेता  मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी १७औं आहा रारा गोल्डकपबाट बाहिरिएको छ। विजयी एपिएफ सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतिस्पर्धात्मक खेलमा शनिबार एपिएफले मनाङलाई पराजित गर्दा प्रदीप लामाको गोल निर्णायक भयो।

 उनले ७०औं मिनेटमा टोलीका गोल गरे। सन्तोष श्रेष्ठले मैदानको दायाँ साइडबाट प्रहार गरेको कर्नर किकमा पेनाल्टी एरियाको बीच भागमा अनमार्क रहेका लामाले गरेको हेड प्रहारले सेकेन्ड बार हुँदै जाली चुमेको थियो। सुरुदेखि नै काउन्टर अट्याकमार्फत गोल गर्ने रणनीति बनाएको एपिएफविरुद्ध मनाङ पहिलो हाफमा हाबी भयो। लगातार दबाबमा राखेर खेलेको मनाङले पहिलो हाफमा आधा दर्जन गोल गर्ने अवसर खेर फाल्यो। मनाङले तेस्रो मिनेटमै गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन। मनाङका सुजल श्रेष्ठले पेनाल्टी एरियामा गरेको प्रहार फितलो हुँदा अग्रता लिने मौका गुमायो। त्यसको एक मिनेट पनि बित्न नपाउँदै मनाङले अर्को गोल गर्ने मौका गुमायो।

यस पटक पनि सुजल श्रेष्ठले नै बायाँ साइड विपक्षी डिफेन्डरलाई छलाउँदै गरेको प्रहार फस्ट बार हुँदै बाहिरियो। खेलको २१औं मिनेटमा हेमन गुरुङ गोल गर्न चुके। प्रकाश बुढाथोकीको कर्नर प्रहारमा पेनाल्टी एरियाको बीच भागमा रहेका उनले गरेको कडा प्रहार एपिएफका गोलरक्षक अमृत चौधरीले बचाए। लगत्तै आएको रिबाउन्ड बलमा कमल श्रेष्ठले गरेको प्रहार पनि गोलकिपर चौधरी नै रोके। पहिलो हाफको थपिएको १ मिनेटको अन्तिम समयमा मनाङले गोल गर्ने सुन्दर मौका गुमायो। अञ्जन विष्टले प्रहार गरेको  बल विपक्षी गोलकिपर चौधरीले पन्च गरेर फर्काए। लगत्तै रिबाउन्ड भएको बलमा सुजल श्रेष्ठको हेडर बल बिपक्षी गोलकिपर चौधरीको खुट्टामा लागेर फर्कियो। दोस्रो हाफमा भने मनाङले उत्कृष्ट मुभसमेत निकाल्न सकेन। निर्धारित ९० मिनेटको समय सकिएपछि थपिएको पहिलो मिनेटमै भिक्टोर एमोबीले कडा प्रहार गरेको बल पोलमाथिबाट बाहिरिएको थियो।

पहिलो हाफमा केही कमजोर खेल प्रदर्शन गरेको एपिएफले दोस्रो हाफमा लय समात्यो। पहिलो हाफमा एक पटक पनि मुभ निकाल्न नसकेको एपिएफले खेलको ६८औं मिनेटमा गोल गर्ने अवसर खेर फाल्यो। एपिएफका आशिष लामाले प्रहार गरेको कडा प्रहार फस्ट बार हुँदै बाहिरियो। खेलको ७०औं मिनेटमा प्रदीप लामाको गोलबाट अग्रता लिएपछि झनै हौसिएको एपिएफले ७३औं मिनेटमा अग्रता दोब्बर पार्ने अवसर गुमायो। पेनाल्टी एरियाभित्र अनमार्क रहेका आशिष लामाको प्रहार फितलो हुँदा विपक्षी डिफेन्डर सरोज विकले क्लियर गरे। खेलको ७५औं मिनेटमा सन्तोष श्रेष्ठको कर्नर किकमा रामकुमार कुमालको प्रहार पनि फितलो हुँदा एपिएफ १–० को जितमा सीमित रह्यो।

शनिबारको खेलमा एपिएफका लागि निर्णायक गोलकर्ता प्रदीप लामा ‘म्यान अफ दी म्याच’ भए। उनलाई नगद ५ हजारसहित ट्रफी प्रदान गरिएको थियो। विजयी भएपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले दोस्रो रोजाइका युवा खेलाडीले आफ्नो रणनीतिअनुसार नै खेल्दा जित निस्केको बताए। उनले भने, ‘जुनियर खेलाडीले आज आफूलाई प्रुभ गरे, यो जित उनीहरूको मिहिनेतका कारण सम्भव भएको हो। पहिलो हाफमा बल होल्डमा समस्या देखिए पनि दोस्रो हाफमा लय समातेका कारण जित सम्भव भएको उनको भनाइ थियो। पराजित  मनाङ मर्स्याङ्दी का विदेशी प्रशिक्षक टोपे फुजाले पाएका अवसर सदुपयोग गर्न नसक्दा पराजित हुनुपरेको बताए। उनले भने, ‘खेलमा कहिलेकाहीँ यस्तो हुन्छ।’ प्रतियोगिताअन्तर्गत आइतबार नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुने आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए।

प्रकाशित: १२ फाल्गुन २०७५ ०४:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App