१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बम्जन पक्राउ नगरेकोमा संसदमा आक्रोश

काठमाडौं - राष्ट्रियसभाको बैठकमा ‘अनुयायीलाई बेपत्ता पार्ने र बलात्कारसमेत गरेको’ आरोप लागेका रामबहादुर बम्जनलाई पक्राउ नगरेको विषय उठेको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद कोमल वलीले बम्जनबारे विभिन्न प्रमाण बाहिर आउँदा पनि सरकारले किन पक्राउ नगरेको भन्दै प्रश्न उठाएकी हुन्।

‘विभिन्न हत्या र बलात्कार गरेको आरोप लागेका बम्जनलाई अझै सरकारले किन पक्राउ नगरेको हो ? जबकी म बलात्कृत भएँ, पीडित भएँ भनेर सार्वजनिकरूपमा बोलिरहेका छन्,’ वलीले प्रश्न गरिन्, ‘यसबारे सरकारले के कस्तो धारणा बनाएको छ, पक्राउ हुन्छ कि हुँदैन ?’ बाराका बम्जनले आश्रम खोलेर युवतीहरूलाई बलात्कार गर्ने र बेपत्ता पार्ने काम गरेको भन्दै पछिल्लो समयमा घटना सार्वजनिक हुँदै आएका छन्।

गृहमन्त्री रामबहादुर थापाले सांसद वलीले उठाएको प्रश्नको जवाफ दिँदै भने, ‘सो घटनावारे सरकार जानकार छ, यस घटनालाई सरकारले हल्का नभई गम्भीररूपमा लिएको छ,’ गृहमन्त्री थापाले भने, ‘आवाश्यक छानबिन सुरु भइसकेकाले निष्कर्ष आउन साथ परिणाम सार्वजनिक हुनेछ।’ उनका अनुसार सो घटनाका वारेमा प्रहरीले गम्भीररूपमा अनुसन्धान गरिरहेको छ। राष्ट्रियसभाका सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै निर्मला हत्या प्रकरणमा गैरजिम्मेवार काम गरेको आरोपमा बर्खास्तीमा परेका प्रहरी अधिकृतलाई फौजदारी अभियोग लगाउन सकिनेबारे सरकाले सोचिरहेको गृहमन्त्रीको भनाइ थियो। ‘सो घटनाको सही अनुसन्धान गर्न नसक्ने प्रहरी अधिकृतलाई सुरुमा निलम्बन गरियो, त्यसपछि छानबिन भयो र बर्खास्त गरियो, अब पनि छानबिन जारी छ, आवाश्यक परेमा फौजदारी अभियोगमा मुद्दा चलाउन सरकार तयार छ,’ गृहमन्त्री थापाले भने। उनका अनुसार निर्मला हत्या प्रकरणको दोषी पत्ता लगाउन प्रयास सफल हुन नसकेको उल्लेख गर्दै प्रयास भने निरन्तर जारी राखिएको छ।

सो क्रममा गृहमन्त्री थापाले ३३ केजी सुन प्रकरणमा संलग्नहरुको जालो भत्काएको दाबी गरेका छन्। सो घटनामा संलग्न रहेका अधिकांस पक्राउ परिसकेको जनाउँदै अब सो घटनालाई दण्डित गर्ने कार्य अदालतको भएको थापाको भनाइ छ। सिन्डिकेट लगभग अन्तय भएको जनाउँदै त्यसलाई पूर्णरूपमा अन्त्य गर्नका लागि कानुनी झन्झट भएकाले कानुन संसोधन गर्न सरकार लागि परेको जनाएका गृहमन्त्री थापाले सुरक्षालाई विशेष ख्याल गर्दै सिंहदरबार प्रवेशलाई सहज र सरल बनाउन नयाँ सफ्टवेयर विकास गरिरहेको पनि जानकारी गराए। गृहमन्त्री थापाले विभिन्न आन्दोलनका क्रममा मारिएका सुरक्षाकर्मीदेखि राजनीतिक दल आवद्धलाई सहिद घोषणा गर्ने क्रम जारी रहेको जानकारी पनि दिएका छन्।

बैठकमा राजपाका सांसद बृषेशचन्द्र लालले खानेपानी मन्त्री विना मगर र सचिव गजेन्द्र ठाकुरबीच एकअर्कालाई भ्रष्टचारी भन्ने आरोप लगाएकाले छानबिनको माग गरेका छन् भने सरिता प्रसाईले काष्ठमण्डप निमार्णको क्रममा ठड्यााइका चारमध्ये तीन खाँबा कमजोर भएकाप्रति ध्यानाकषर्ण गराएकी छिन। यसैगरी, बैठकले केही नेपाल ऐनललाई संसोधन गर्न बनेको बिद्येयकलाई व्यवस्थापन समिति पठाएको छ। सो ऐनमा छलफल गर्दै सांसदद्वय रामनारायण बिडारी र राधेश्याम अधिकारीले अलगअलग रूपमा विद्येयक पेस नगरी ५६ वटा ऐनलाई एउटै विधेयकमा ल्याउँदा छलफल र बहस गर्न अप्ठयारो परेको गुनासो गर्दै एकमुष्ठ प्रस्ताव ल्याउनुभन्दा अलग अलग प्रस्ताव ल्याउन कानुनमन्त्री भानुभक्त ढकाललाई सुझाव दिए।

प्रकाशित: ९ फाल्गुन २०७५ ०१:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App