१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

उचित कर्मचारी समायोजन नभए चिकित्सकहरुले सामूहिक राजीनामा दिने

काठमाडौं – सरकारले हालै गरेको कर्मचारी समायोजनको बिरोध गर्दै सरकारी चिकित्सकहरु आन्दोलित भएका छन। देश संघीयतामा जाँदा सबै सरकारी कर्मचारी जस्तै चिकित्सकको पनि समायोजन हुनु स्वभाविक भए पनि सरकारले गरेको कर्मचारी समायोजन प्रक्रिया गलत भएको सरकारी चिकित्सकहरुले बताएका छन्।

चिकित्सकहरुलाई समायोजन गर्दा पहिले भएका सम्झौताहरुलाई समेत लत्याईएको आन्दोलनरत चिकित्सहरुको आरोप छ। सरकारको कर्मचारी समायोजन गर्ने नीति अनुसार सह–सचिव वा सो भन्दा माथिका पदका कर्मचारीहरुलाई समायोजन नगरिने सहमति भए पनि स्वास्थ्य समूहका ११ तह (सह–सचिव सरह) का ८२ जनाको समायोजन प्रक्रियामा सहभागी गराई उनीहरुलाई स्थानीय निकायमा पठाएको उनीहरुको आरोप छ।

राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डाक्टर प्रकाश दर्जीले भने 'अहिलेको कर्मचारी समायोजन प्रक्रियामा हामी सहभागी भयाैं भने हाम्रो बृत्ति विकास रोकिनुका साथै छात्रावृत्तिमा अध्ययन लगायतका सबै ढोका बन्द हुन्छन।' उनले अगाडि थपे, 'अहिलेको समायोजनका अनुसार जाने हो भने स्थानीय निकायमै सीमित हुनुपर्ने अवस्था आउँछ, यदि स्थानीय निकायको बजेट छैन, बृत्ति बिकास गर्न सकिँंदैन भन्यो भने अगाडि नै बढ्ने अवस्था आउँदैन।'

सुदूरपश्चिम दार्चुलाको गोकुलेश्वर अस्पतालमा कार्यरत डाक्टर रोशन भगत भन्छन ‘हामीले कर्मचारी समायोजनको विरोध गरेका छैनाैं र गर्दैनाैं पनि, तर समायोजन उचित र न्यायसंगत हुुनुपर्ने हाम्रो माग हो।’ संघ मार्फत आफूहरुलाई स्थानीय निकायमा पठाएको खण्डमा आफूहरुको विरोध नहुने तथा एकपटक स्थानीय निकायमा काम गरेपछि फेरी संघमा नै फर्किने अवस्था आयो भने खुसी भएर समायोजन प्रक्रियामा सहभागी हुने डाक्टर भगत बताउँछन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठ स्वास्थ्य सेवाका कर्मचारी समायोजन गर्दा विगतमा भएका सम्झौता कार्यान्वयन नभएको स्वीकार गर्छन्। उनले यसवारे स्वास्थ्य मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग कुरा गरिरहेको र उनीहरुको उचित समायोजन हुने बताउँछन। कर्मचारी समायोजन गर्दा प्रशासनका कर्मचारी र अन्य कर्मचारीलाई विभेद भएको प्रष्टै देखिएको स्वास्थ्य मन्त्रालयको ठहर छ। स्वास्थ्य मन्त्रालय यी सबै विषयमा चाँडै निक्र्यौलमा पुग्ने मन्त्रालयका प्रवक्ता श्रेष्ठले बताए।

सरकारले कर्मचारी समायोजन प्रक्रियामा चिकित्सकहरुको माग पुरा नगरेको खण्डमा सवै सरकारी चिकित्सहरुले राजीनामा दिने तयारी समेत गरेका छन्।

 

प्रकाशित: ८ फाल्गुन २०७५ ०८:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App