१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

गुणस्तर शिक्षा, छात्रवृत्ति र कामको अवसर नै क्यानडाको आकर्षण

उच्च शिक्षाका लागि क्यानडा जान के–कस्ता प्रक्रिया पूरा गर्नुपर्छ भनी परामर्श लिन आउने विद्यार्थी संख्या दिनप्रतिदिन बढ्दै गरेको शैक्षिक परामर्शदाता बताउँछन्। 

‘विद्यार्थीले जापान र अस्ट्रेलियापछि क्यानडा नै रोज्छन्,’ राइटपाथ करिअर काउन्सेलिङका संस्थापक प्रमुख कार्यकारी अधिकृत फिलिप डिसीले भने, ‘विकसित देश भएकाले जागिर पाउने र लाइफ सेटल हुने सम्भावना बढी हुन्छ।’ अहिले मेडिकल फिल्डतिर पनि राम्रो भएर विद्यार्थीको आकर्षण बढेको कन्सलटेन्सीहरू बताउँछन्। ‘विद्यार्थीलाई क्यानडा नै रिफर गर्छौं,’ हब इन्टरनेसनल एजुकेसनका गुञ्जन शर्माले भने, ‘विद्यार्थीको अहिलेका आवश्यकता र चाहनाअनुरूप सेवासुविधा पाउँछन्।’ 

कुन देश जाने भनेर छान्दा विद्यार्थीहरू मुख्य दुई कुरा हेर्छन्– गुणस्तरीय शिक्षा र रोजगारीको अवसर। यी कुराका लागि  क्यानडा एकदमै राम्रो रहेको उनको भनाइ छ। आफ्नो चाहनाअनुरूप उचित शैक्षिक शुल्क, छात्रवृत्तिको सुविधा र सुखी देश भएकाले विद्यार्थीहरूलाई क्यानडा नै रिफर गर्ने गरेको शर्माले बताए। ‘अहिले अमेरिकाले भिसा दिने मौका एकदम कम रहेकाले क्यानडा जानेको संख्या बढेका हो,’ हब इन्टरनेसनले एजुकेसनका प्रमोद खड्का भन्छन्, ‘क्यानडाले पहिलेको तुलनामा अहिले धेरै राम्रो भिसारेट दिएको छ।’ 

आर्थिक वर्ष (आव) २०७३/७४ मा सात सय १५ जनाले ‘नो अब्जेक्सन लेटर’ बनाएका छन्। आव २०७४÷७५ मा एक हजार २२ जना र चालू आवको माघसम्म आठ सय ६४ जनाले ‘नो अब्जेक्सन लेटर’ बनाएको शिक्षा मन्त्रालय वैदेशिक अनुमतिपत्र शाखाको तथ्यांकले जनाएको छ।

अस्ट्रेलिया धेरै नेपाली विद्यार्थीको रोजाइमा पर्छ जसले गर्दा त्यहाँ विद्यार्थीहरूले काम पाउन र आफ्नो खर्च निकाल्न गाह्रो भइरहेको अस्ट्रेलियामा अध्ययनरत विद्यार्थीहरू बताउँछन्।

नेपालबाट बाहिर पढ्न जाने विद्यार्थीहरूको खास उद्देश्य लाइफ सेटलमेन्ट हुने गर्छ। विदेशमा गएर पढे भने राम्रो जागिर पाइन्छ र आफ्नो परिवारको जीवनस्तर उकास्न सकिन्छ भनेर नै धेरै विद्यार्थी विदेशमा पढ्न जान्छन्। अस्ट्रेलिया, अमेरिका र क्यानडा जानुको मुख्य उद्देश्य भनेको ‘पिआर’ र ‘ग्रिन कार्ड’ लिएर त्यही बस्ने नै हुन्छ। 
क्यानडाको भेन्कुअरस्थित फारलेग डिकिन्सन विश्वविद्यालयमा अध्ययनरत छात्रा रेनिसा रौनियार कन्सल्टेन्सी राम्रो नपर्दा विद्यार्थीहरूलाई गाह्रो हुने बताउँछिन्। आफूले सुनेको र सोचेकोजस्तो नभए पनि पढ्ने र पढाउने तरिका सजिलो नै भएको उनको भनाइ छ। सबैभन्दा पहिले कन्सल्टेन्सी छनोटमा ध्यान दिनुपर्ने उनको सुझाव छ। सेन्ट जेभियर्सबाट कक्षा ११ र १२ उत्तीर्ण उनी आफूले चाहेको विषय आइटी (इन्फरर्मेसन टेक्नोलोजी) पढ्न क्यानडा आएको सुनाइन्। क्यानडामा भने पढाइ र कामको सुविधा राम्रो छ भने जाडोमा भने अलि बढी चिसो हुने उनको अनुभव छ।

हरेक विद्यार्थीलाई क्षमताअनुसारको १० प्रतिशतदेखि शतप्रतिशतसम्म छात्रवृत्ति सुविधा दिन्छ। अस्ट्रेलिया र अमेरिकाको तुलनामा ट्युसन फी पनि कम छ। साथसाथै क्यानाडियन डलर पनि अमेरिकी डलरभन्दा कम भएकाले सस्तो पर्न गएको ग्लोबल रिचका प्रमुख नारायण बजाज बताउँछन्। उनका अनुसार अहिले क्यानडा विद्यार्थीको रोजाइमा परेको छ। अहिले माग्रेसन प्रोसेस राम्रो भएकाले क्यानडामा धेरै माग छ। फलस्वरूप धेरैको भिसा लाग्न सक्ने उनको बुझाइ छ। छिट्टै काम गर्ने अनुमति पाउने र पढाइ सकिएपछि नै पिआर पाउने सम्भावना बढी हुने भएकाले पनि क्यानडा राम्रो भएको उनी बताउँछन्। 

राइटपाथका प्रमुख डिसीका अनुसार स्नातक पूरा गरेर जाने विद्यार्थीका लागि क्यानडा राम्रो भएको जानकारी दिए। सजिलै पिएसडब्लु पाउने भएकाले विद्यार्थीको भविष्य राम्रो हुने बताए। ‘पढाइ सकेर त्यहीँ बसेर काम गर्छु भन्दा सजिलै पिआर पाउन सकिन्छ,’ फिलिप डिसीले भने, ‘अहिले बढ्दो प्रविधिअनुसार टेक्निकल, मेकानिकल र कम्प्युटरजस्ता विषय व्यावहारिक ज्ञानमा बढी फोकस गरिन्छ।’

क्यानडाको कलेजले विद्यार्थीको आवेदन स्वीकृत गरेपछि विद्यार्थीले ‘नो अब्जेक्सन लेटर’ सहित एकमुष्ट रूपमा एक वर्षका लागि साढे १३ लाखदेखि १६ लाखसम्म शैक्षिक शुल्क र छात्रावासबापतको रकम बुझाउनुपर्छ भने खानाको छुट्टै तिर्नुपर्छ। ‘ओरिजिनल कन्फर्ममेसन लेटर’ पठाएपछि मात्र दूतावासले भिसा प्रक्रिया अघि बढाउँछ। विद्यार्थीका सबै प्रमाणपत्र चेकजाँच गरेर विश्वासनीय भएर भिसा दिन्छ। पहिलेको तुलनामा अहिले धेरैको भिसा लाग्ने गरेको परामर्शदाताहरू बताउँछन्। 

अहिले प्रविधिको बढ्दो प्रयोगसँगै कम्प्युटरसँग सम्बन्धित विषयमा विद्यार्थी बढी आकर्षित भएका छन्। कम्प्युटर साइन्स, कम्प्युटर टेक्नोलोजी, कम्प्युटर सफ्टवेयर–हार्डवेयर, कम्प्युटर इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी (सिएसआइटी) लगायत विषयमा विद्यार्थीको बढी रुचि देखिन्छ। अहिले क्यानडा जाने विद्यार्थीको संख्या बिस्तारै उकालो लाग्दै गएको छ।

‘नेपालको उच्च शिक्षा पढ्न चाहने विद्यार्थीका लागि पार्टटाइम कामको व्यवस्था गरिएको छैन, त्यसैले काम गरेर पढ्न यहाँ धेरै गाह्रो छ,’ क्यानडा भिसा पाइसकेका श्रीकान्त गुमान्जूले भने, ‘क्यानडामा अस्ट्रेलिया र अमेरिकामा भन्दा राम्रो शिक्षा प्रणाली छ।’ त्यहाँ पढाइसँगसँगै आफ्नो खर्च उठाउन काम गर्न पाइने व्यवस्था छ। ब्याचलर अफ साइस इन इन्फरमेसन टेक्नोलोजी (बिआइटी) पढ्न मे इन्टेकमा जान लागेको उनी बताउँछन्। 

नेपालमा पनि विद्यार्थीहरूलाई पार्टटाइम कामको व्यवस्था गरे बाहिर जानेको संख्या केही मात्रामा घट्ने उनको दाबी छ। क्यानडामा केही समय मेहनत गर्दा पढाइसँगै हुने कमाइले भविष्य पनि सुनिश्चित गर्न सकिने उनी बताउँछन्।
स्वदेशमा रोजाइअनुसारको विषय पढ्न नपाउने र रोजगारीको अवसर पनि नहुने भएकाले विद्यार्थीहरू विदेश गएर पढ्ने मनशाय बनाउँछन्। वैदेशिक शिक्षामा जानेमध्ये केही प्रतिशत विद्यार्थी मात्र स्वदेश फर्कन्छन् भने बाँकी विद्यार्थी त्यही ‘सेटल’ हुन्छन्। अस्ट्रलेयाको जस्तो लामो समय लाग्ने र अमेरिकाको जस्तो झन्झटिलो प्रक्रिया नभएकाले नै विद्यार्थीहरूको रोजाइमा क्यानडा परेको हो।

प्रकाशित: ८ फाल्गुन २०७५ ०३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App