१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

खाजा कटौतीपछि घटे चेपाङ विद्यार्थी

चितवनको माडी–९, बाँदरझुलास्थित जनजागृति आधारभूत विद्यालयमा अध्ययन गर्दै विद्यार्थी। तस्बिरः सविता/नागरिक

चितवन – चितवनको माडी नगरपालिका वडा नम्बर ९ मा रहेको जनजागृति आधारभूत माध्यमिक विद्यालय, स्थानीय बाँदरझुला बस्तीको पुच्छारमा पर्छ। जहाँ ५० विद्यार्थी पढ्छन्। शिशु कक्षामा १५ र कक्षा १ देखि ३ सम्म ३५ जना छन्। प्रधानाध्यापक दण्डपाणि पण्डितका अनुसार तीमध्ये चेपाङ समुदायका २१ जना छन्। यसअघि चेपाङ विद्यार्थीको संख्या यसको दोब्बर थियो। गएको दशैंपछि घटेको हो।

उनका अनुसार यसअघि सरकारले सीमान्तकृत समुदायका विद्यार्थीका लागि विद्यालयमा व्यवस्था गरेको दिवा खाजाको सुविधा यस आर्थिक वर्षदेखि कटौती गरेपछि चेपाङ विद्यार्थी घटेका हुन्। यसअघि दुई वर्षसम्म विद्यालयले विद्यार्थीको उपस्थितिअनुसार खाजाबापत नगदै उपलब्ध गराउने गरेको थियो। पहिलो वर्ष विद्यालयका सबै विद्यार्थीलाई १२ रुपैयाँका दरले तथा दोस्रो वर्ष चेपाङ विद्यार्थीलाई मात्र १५ रुपैयाँका दरले खाजाबापतको रकम उपलब्ध गराइएको प्रधानाध्यापक पण्डितले जानकारी दिए। ‘यस्तो व्यवस्था हुँदा चेपाङ विद्यार्थी दैनिकजसो विद्यालय आउँथे,’ उनले भने, ‘अहिले उनीहरूलाई विद्यालयमा टिकाउनै मुस्किल छ।’

बाँदरझुलाकै श्री दमार आधारभूत स्कुलको अवस्था पनि उस्तै छ। शिशुदेखि कक्षा ३ सम्म पढाइ हुने यस विद्यालयमा १ सय १४ विद्यार्थी छन्। जसमध्ये ८८ जना चेपाङ समुदायका छन् । यस वर्षदेखि खाजा कटौती भएपछि चेपाङ विद्यार्थी नियमित विद्यालय आउन छाडेको शिक्षिका ममता महतोले बताइन्। यसअघि विद्यार्थी स्कुल आएअनुसार खाजाबापतको नगदै अभिभावकलाई दिने गरिएको थियो। त्यसो गर्दा अभिभावकले पनि आफ्ना बालबालिका पढ्न पठाउँथे। विपन्न परिवारका बालबालिका भएकाले खाजाको लोभले पनि नियमित विद्यालय आउँथे। तर अहिले यो सुविधा बन्द भएपछि स्कुल आउने चेपाङ विद्यार्थीको संख्या ह्वात्तै घटेको उनले बताइन्।

सरकारको सहयोगमा सञ्चालित दिवा खाजा कार्यक्रम चितवनमा तीन शैक्षिक सत्रसम्म चल्यो। गएको आर्थिक वर्षमा जिल्लाका १ सय ६० विद्यालयमा सीमान्तकृत समुदायका विद्यार्थीलाई खाजाको सुविधा प्रदान गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका शाखा अधिकृत हेमराज पौडेलले जानकारी दिए। उक्त कार्यक्रम हटेपछि विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न नसकिएको गुनासो विद्यालयहरूबाट आइरहेको उनले बताए। प्रतिविद्यार्थी १५ रुपैयाँका दरले १ करोड ८० लाख ५ हजार ८०६ रुपैयाँ दिवा खाजा कार्यक्रमअन्तर्गत विद्यालयहरूलाई वितरण गरिएको शाखा अधिकृत पौडेलले जानकारी दिए।

जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख दीपेन्द्र सुवेदीका अनुसार बीचमै पढाइ नछाडून्, नियमित विद्यालय आऊन्, विपन्न बालबालिकाको पोषणमा पनि सहयोग पुगोस् भनेर आधारभूत तहका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको थियो। तर यो आर्थिक वर्षदेखि सरकारले उक्त कार्यक्रममा चितवनलाई समावेश नगरेकाले यहाँका विद्यालयहरूमा सञ्चालित खाजा कार्यक्रम हटेको उनको भनाइ छ।

मानव विकास सूचकांक हेर्दा अन्य जिल्लाका तुलनामा चितवन विकसित देखिएकाले उक्त कार्यक्रम बन्द गरिएको उनले बताए। तर खाजा कार्यक्रम हटाउँदा भएको समस्याबारे कार्यालयका तर्फबाट माथिल्लो निकायमा सूचना गरिएको जानकारी पनि जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख सुवेदीले दिए।

प्रकाशित: ८ फाल्गुन २०७५ ०१:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App