१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पूर्वआयुक्त पाठक घुस प्रकरण : अख्तियारले थाल्यो छानबिन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार प्रकरणमा मुछिएका निवर्तमान आयुक्त राजनारायण पाठकविरुद्ध छानबिन थालेको छ। आयोगको मंगलबार बसेको बैठकले सहसचिवको नेतृत्वमा तीन सदस्यीय समिति बनाएर छानबिन सुरु गरेको हो। पाठकले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज विवादमा ७८ लाख रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक भएको छ। भिडियो सार्वजनिक भएपछि पाठकले शुक्रबार पदबाट राजीनामा दिएका थिए।

पाठकको राजीनामा स्वीकृत भएको चार दिनपछि आयोगले अनुसन्धान अधिकृत तोकेर छानबिन थालेको जानकारी प्रवक्ता रामेश्वर दंगालले दिए। ‘पाठकमाथि लागेको आरोपमा अनुसन्धान समिति बनाएर छानबिन थालिएको छ’, प्रवक्ता दंगालले भने, ‘नेपाल इन्जिनियरिङ कलेज घुस प्रकरणमा केन्द्रित भएर अनुसन्धान हुने छ। त्यस क्रममा अन्य अनियमितताका विषय फेला परे त्यसमा पनि छानबिन हुन्छ।’ आयोगले गठन गरेको अनुसन्धान समितिका सदस्यबारे जानकारी माग्दा दंगालले अहिले बताउन नमिल्ने बताए।

चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ घुस लिएको विषयमा छानबिन गर्न सहसचिवको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको छ।

लम्बोदर न्यौपाने सञ्चालक समिति अध्यक्ष रहेको नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाउन पाठकले पटकपटक गरी ७८ लाख रुपैयाँ घुस लिएको भिडियो दिने पक्षबाट सार्वजनिक भएको छ। पाठले भिडियो सार्वजनिक भएपछि दिएको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भए पनि आफ्नै पूर्वआयुक्त पाठकमाथि अनुसन्धान कारबाही अघि बढाउने कि नबढाउने भन्ने विषयमा आयोग अन्योलमा थियो। यस विषयमा आयोगले महान्यायाधिवक्ताको कार्यालयसँग लिखित राय मागेको थियो। महान्यायाधिवक्ताको कार्यालयले सोमबार अनुसन्धान कारबाही अघि बढाउन राय दिएपछि आयोगले तीन सदस्यीय समिति बनाएको हो।

आयोगले पाठकमाथि संविधानको धारा १०१ को उपधारा ८ अनुसार कारबाही प्रक्रिया अघि बढाउने हो कि धारा २३९ अनुसार ? भन्दै महान्यायाधिवक्ताको कार्यालयसँग राय मागको थियो। महान्यायाधिवक्ताको कार्यालयले धारा १०१ को उपधारा ८ ले महाभियोगबारे मात्रै बोलेको तर धारा २३९ मा सार्वजनिक पद धारणा गरेको जो सुकैमाथि पनि छानबिन र कारबाही हुन सक्ने उल्लेख भएको जनाउँदै धारा २३९ मा टेकेर अघि बढ्न आयोगलाई सुझाएको थियो।

‘अनुसन्धानबाट सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले कानुनबमोजिम भ्रष्टाचार मानिने कुनै काम गरेको देखिएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस्तो व्यक्ति र सो अपराधमा संलग्न अन्य व्यक्तिउपर कानुनबमोजिम अधिकार प्राप्त अदालतमा मुद्दा दायर गर्न वा गराउन सक्छ’ धारा २३९ मा उल्लेख छ। त्यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा २९ (२) अनुसार पनि पाठकमाथि कारबाही अघि बढाउन सकिने राय महान्यायाधिवक्ताको कार्यालयले दिएका थियो।

महान्यायाधिवक्ता कार्यालयको सुझावअनुसार आयोगले पाठकमाथि लागेको घुस आरोपमा अनुसन्धान थालेको हो। आयोगले आफ्नै पूर्वआयुक्तको घुस प्रकरणमा छानबिन गरेको सम्भवतः यो पहिलोपटक हो।

सार्वजनिक संस्थान ऐनअन्तर्गत दर्ता भई सञ्चालनमा आएको उक्त कलेजलाई २०७४ वैशाख २५ मा न्यौपाने समूहले कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गराएपछि विवाद सुरु भएको थियो। यही विवाद मिलाइदिने भन्दै २०७४ भदौ र माघमा गरी न्यौपाने समूहबाट पाठकले ७८ लाख रुपैयाँ घुस लिएको भिअियोबाट खुलेको छ। सो कलेजसम्बन्धी विवाद संसद्को शिक्षा समितिले हेरिरहेका बेला घुस प्रकरण सार्वजनिक भएको हो।

प्रकाशित: ८ फाल्गुन २०७५ ००:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App