१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

साउदी अरेबियाले पाकिस्तानमा २० अर्ब डलर लगानी गर्ने

इस्लामाबाद- साउदी अरेबियाले पाकिस्तानमा २० अर्ब डलर लगानी गर्नेसम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर गरेको छ। साउदी राजकुमार मोहम्मद बीन सल्मानको पाकिस्तान भ्रमणका क्रममा उक्त लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। पाकिस्तानले पछिल्लो समय भुक्तानी सन्तुलनको गम्भीर सङ्कट व्यहोर्दै आएको छ। खस्केको अर्थतन्त्रलाई टेवा दिन उक्त सहयोग महत्वपूर्ण हुने पाकिस्तानको भनाइ छ। 

साउदी पत्रकार जमाल खसोग्जीको हत्याको अभियोगमा निकै आलोचित भएका राजकुमार सल्मान एसियाका तीन मुलुकको भ्रमणको सिलसिलामा पाकिस्तान आएका थिए। राजकुमार सल्मानलाई भव्य स्वागत गरिएको थियाे। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले साउदी अरेबियाले लामो समयदेखि प्रदान गरिरहेको सहयोगका लागि राजकुमार सल्मान र साउदी सरकारप्रति आभार प्रकट गरे। उनले भने, “पाकिस्तान र साउदी अरेबियाबीचको सम्बन्ध अझ नयाँ उचाईमा पुगेको छ।” खानले प्रधानमन्त्री भएपछि यसअघि दुई पटक साउदी अरेबियाको भ्रमण गरिसकेका छन्। 

साउदी राजकुमार इस्लामाबाद नजिकैको सैनिक अड्डामा आइपुग्दा २१ तोपको सलामी दिइनुका साथै प्रधानमन्त्री खान र प्रधानसेनापति जनरल कमार जाभेद बज्वाले राजकुमारलाई स्वागत गरेका थिए। 

राजकुमार सल्मानको भ्रमण भारत र इरान दुबै मुलुकमा तनाबको वातावरण रहेकै समयमा भएको छ। भारतको काश्मिरमा भएको आक्रमण तथा इरानमा भएको अर्को आत्मघाती आक्रमणमा पाकिस्तानको समर्थन रहेको इरान र भारतले दाबी गरिरहेका छन्। पाकिस्तानले भारतको आरोपको खण्डन गरिसकेको छ। भारतमा केही हुनासाथ त्यसको दोष पाकिस्तानमाथि लगाउने भारतको पुरानै प्रचलन हो भन्दै इस्लामाबादले काश्मिरमा भएको घटनामा आफ्नो संलग्नता नरहेको स्पष्ट गरेको छ। 

साउदी राजकुमार पाकिस्तानको दुई दिने भ्रमण पूरा गरी भारत जानेछन्। भारतमा राजकुमार सल्मानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानसँग भेटवार्ता गर्नेछन्। त्यसपछि उनी चीनको दुई दिने भ्रमणका लागि बेइजिङ प्रस्थान गर्नेछन्।

प्रकाशित: ६ फाल्गुन २०७५ ११:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App