१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तलब नपाएपछि घरबाटै मगाएर खर्च धान्छन् स्वाथ्यकर्मी

दुलेगौंडा(तनहुँ) - तनहुँको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा कार्यरत कर्मचारीले ४ महिनादेखि तलबभत्ता पाएका छैनन्। अस्पतालमा कार्यरत ६० मध्ये करारका ५७ जना स्वास्थ्यकर्मी र  कर्मचारीले असोजयता तलबभत्ता पाउन नसकेका हुन्। ३ जना सरकारले काजमा खटाएको स्थायी दरबन्दीका स्वास्थ्यकर्मी हुन्।

सरकारले बजेट विनियोजन नगर्दा तलब खुवाउन नसकिएको अस्पतालका प्रमुख डाक्टर रामकुमार श्रेष्ठले बताए। चालु वर्षमा सरकारले अस्पतालका लागि अत्यन्तै न्यून बजेट पठाएको उनको भनाइ छ। ‘सरकारले अस्पतालमा कार्यरत कर्मचारीको तलबभत्ता र प्रसासनिक खर्चमा २० लाख रुपैयाँ पठाएको थियो’, अस्पतालका प्रमुख श्रेष्ठले भने, ‘एक महिनामा तलब भत्तामा १५ लाख रुपैयाँ खर्च हुन्छ।’ 

सरकारले पठाएको रकमले एक महिनाको तलब खुवाउन पुगेको उनले जनाए। ‘सरकारले पठाएको रकमबाट साउन महिनाको तलब दिएर पाँच लाख बचेको थियो। अस्पताल विकास समितिको रकम थप गरेर भदौ र असोज महिनाको तलबभत्ता भुक्तान ग¥यौँे’, उनले भने। असोजपछि भने चार महिनाको तलब दिन नसकेको उनले बताए। 

अस्पतालले गर्ने आम्दानीले अस्पताल सञ्चालन गर्न सक्ने अवस्था छैन। चार महिनादेखि तलब नपाउँदा समस्या भएकोे अस्पतालको प्रशासन शाखामा कार्यरत नासु पूजा कार्कीले बताइन्। सिन्धुली घर भएकी उनले मासिक खर्चका लागि घरबाटै रकम मगाउनुपर्ने बाध्यता रहेको बताइन्। ‘आफ्नै जागिर भए पनि बेतलब हुनुपर्दा घरबाट मागेर गर्जो टार्नुपरेको छ’, उनले भनिन्। करारका कर्मचारीको म्याद थप नहँुदा अन्योलको स्थिति सिर्जना भएको छ। ‘एकातिर चार महिनादेखि तलब पाइएको छैन। अर्कोतर्फ करारको म्याद थप हुँदैन’, उनले भनिन्, ‘हामी त अन्योलमा छौँ।’  

यसअघिको अस्पताल विकास समितिले आवश्यकताभन्दा बढी करारका कर्मचारी नियुक्त गरेको भन्दै अख्तियारमा उजुरी परेको स्रोतले बताएको छ। स्रोतले भन्यो, ‘राजनीतिक पहुँचका आधारमा आवश्यकताभन्दा बढी कर्मचारी भर्ती गरिएपछि अख्तियारमा उजुरी परेको छ।’ अस्पताललाई राजनीतिक भर्तीकेन्द्र बनाइएको भन्दै नागरिकस्तमा चर्को आलोचना हुने गरेको छ।

२०६७ सालमा तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको प्रधानमन्त्रित्वकालमा गिरिजाप्रसाद कोइरालाको स्मृतिमा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापनाको निर्णय भएको थियो। सरकारको निर्णयअनुसार शुक्लागण्डकी–५ बेलचौतरामा रहेको सेतीगंगा सामुदायिक अस्पतालको स्वामित्व हस्तान्तरण गरी श्वासप्रश्वास उपचार केन्द्र सञ्चालन गरिएको हो। लामो समयदेखि सञ्चालन भएको अस्पतालमा छुट्टै श्वासप्रश्वास उपचार युनिट स्थापना हुन सकेको छैन। अस्पतालको समेत स्तरवृद्धि भएको देखिँदैन। 

स्वास्थ्य बीमा गरेका बिरामीको भरमा अस्पताल धानिएको छ। बीमा लागू हुनुपूर्व नगण्य रुपमा उपचारका लागी बिरामी आउँथे। गत वर्षको भदौमा स्वास्थ्य बिमा लागू भएयता दैनिक औसत ६०/७० जना बिरामी उपचारका लागि आउने गरेका छन्। 

 

प्रकाशित: ४ फाल्गुन २०७५ ११:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App