१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

उदयपुरमा ठूलो परिमाणको लागूऔषधसहित २ युवा पक्राउ

प्रहरीले बरामद गरेको लागू औषध पत्रकार सम्मेलनमा सार्वजनिक गरिँदै । तस्बिरः महेश्वर/नागरिक

उदयपुर – उदयपुरमा ठूलो परिमाणको लागू औषधसहित बुधबार २ युवा पक्राउ परेका छन्। सदरमुकाम त्रियुगा नगरपालिका ६ देउरीबाट झण्डै १ हजार थान (एम्पुल) बिभिन्न थरीका अवैध लागू औषधसहित २ युवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

स्थानीय जनता मावि देउरीनजिकैबाट फेनारगन, लुपिजेसिक, डाईजेल्याव, नुफन र नाईट्रोसन ट्याब्लेटसहित त्रिनपा ६ जलजलेका २६ वर्षीय गणेश गुप्ता र सोही उमेरकै ओमप्रकाश राई पक्राउ परेका हुन्। गोप्य सुराकीको आधारमा गएको टोलीले पक्राउ गरेको दुवैजनालाई लागू औषधसहित जिल्ला प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार उनीहरूबाट २ सय ६० एम्पुल फेनारगन, १ सय २० एम्पुल लुपिजेसिक, २ सय ७२ एम्पुल डाईजेल्याब, १ सय ६५ एम्पुल नुफिन र नाईट्रोसन १ सय एम्पुल बरामद गरेको छ। शंकास्पद तरिकाले हिँडिरहेका उनीहरूलाई प्रहरीले सोधपुछको क्रममा खानतलासी लिँदा साथमा रहेको झोला र शरिरबाट उक्त परिमाणको लागू औषध बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले पत्रकार सम्मेलनमा जानकारी दिए।

खानतलासीको क्रममा उनीहरूको साथमा रहेको झोला र शरिरका विभिन्न भागमा लुकाएको अवस्थामा उक्त लागू पदार्थ भेटिएको राईले बताए। उनीहरू लागू औषध कारोबारी र प्रयोगकर्ता दुवै हुनसक्ने अनुमान गरिएको र अनुसन्धान कार्य सुरु भइसकेको राईले बताएका छन्। दुवैलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार पक्राउ लागू औषध विगत २ वर्षकै सबैभन्दा ठूलो परिमाणको हो। ‘यसअघि पनि पटक पटक लागू औषध पक्राउ परेको तर यतिधेरै परिमाणको थिएन’ एसपी राईले भने, ‘यो परिमाण विगत २ वर्षयताकै सबैभन्दा ठूलो परिमाणको लागू औषध पक्राउ परेको हाम्रो अभिलेखले देखाएको छ।’

चालु आर्थिक वर्षको माघ मसान्तसम्म लागू औषध कारोबार र प्रयोगकर्ता आरोपमा ४७ जना पक्राउ परिसकेका छन्। उनीहरूको साथबाट लुजिजेसिक ४५ एम्पुल, डाईजेल्याव ८७ एम्पुल, फेनारगन ५४ एम्पुल, नाईटोसन २ सय ४० गोटी, नुफिन १९, डाईलेक्स २९ बोतल बरामद भएको छ।

चालु आर्थिक वर्षभित्रै गाँजा ३.५ किलो बरामद भएको पनि सम्मेलनमा जानकारी दिइयो। चालु आर्थिक वर्ष पक्राउ परेकामध्ये २९ जनाविरुद्ध मुद्दा दर्ता गराई अनुसन्धान अघि बढाइएको भने बाँकी कोही धरौटी राखेर छुटेका छन् भने कतिपय सोधपुछपछि छुटेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

प्रकाशित: २ फाल्गुन २०७५ ०९:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App