१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अवैध रूपमा सञ्चालन गरेको भन्दै चुनढुंगा उत्खननमा रोक

उदयपुरगढीको माटीखोलास्थित कसमस सिमेन्टको चुनढुंगा उत्खननस्थल । तस्बिरः महेश्वर

उदयपुर– कसमस सिमेन्ट उद्योगको उदयपुरस्थित चुनढुंगा खानी अवैध भएको भन्दै वन कार्यालयले उत्खननमा बन्देज गरेको छ। ६ महिनाअघि सञ्चालनमा आएको जिल्लाको उदयपुरगढी गाउँपालिका ४ र ५ को सीमामा माटीखोलास्थित अमिलेपाखामा सञ्चालित खानी कानुनी प्रक्रिया नपु-याको पाइएपछि रोक लगाइएको हो।

धनुषाको महेन्द्रनगरस्थित उद्योगमा उत्खनन रोक लगाइएको डिभिजन वन अधिकृत दानबहादुर श्रेष्ठले बताए। उनका अनुसार राष्ट्रिय वनको चुनढुंगा निकाल्नुअघि पूरा गर्नुपर्ने कानुनी प्रक्रिया नअपनाई ढुंगा निकाल्दै लाँदै गरेको सूचनापछि निरीक्षण गर्दा अवैध भएको भेटेपछि उत्खननमा रोक लगाउनुपरेको हो। ‘राष्ट्रिय वन क्षेत्रबाट कानुनी प्रक्रिया नपु¥याई ढुंगा निकासी भइरहेको खबर पाएलगत्तै सबडिभिजन तावाश्रीलाई स्थलगत निरीक्षण गरी रिपोर्ट बुझाउन पत्राचार गरेँ’, श्रेष्ठले भने ‘उसले दिएको रिपोर्टअनुसार अवैध ढुंगा निकालेर लाने गरेको पाइएपछि उत्खनन रोकिएको हो।’

६ महिनादेखि नै चुनढुंगा उत्खनन र निकासी भइरहेको काम अवैध भएको भन्ने कुरा आफूलाई भर्खरै मात्र जानकारी आएको श्रेष्ठले बताएका छन्। राष्ट्रिय वनको खानीक्षेत्र उद्योग सञ्चालकले निजी जग्गा र ऐलानी क्षेत्र भन्दै स्थानीय तह, वन कार्यालय र स्थानीयलाई गुमराहमा पारेर चुनढुंगा लाने गरेको पाइएको पनि डीएफओ श्रेष्ठले बताए। ‘अवैध हो भन्ने कुराको उजुरी आएपछि धेरैसँग सोधपुछ गरियो’, उनले भने, ‘आफैं टोली लिएर स्थलगत भ्रमण गर्दा राष्ट्रिय वनअन्तर्गत परेको भेटियो।’

खानी उत्खनन गर्न आदेश दिने तत्कालीन सम्बन्धित निकायले ध्यान नपु-याउँदा यस्तो कमजोरी हुन गएको वन कार्यालयको बुझाइ छ। उत्खनन आदेश दिनुअघि वडा, गाउँपालिका, सब डिभिजनलगायत सरोकारवाला निकाय र व्यक्तिले गम्भीर भएर अध्ययन गरेको नपाइएको उनले बताए। उद्योग सञ्चालकले सबैलाई झुक्याएको हुन सक्ने अनुमान पनि उनको छ। डिभिजनले मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाउँदै उद्योग सञ्चालकलाई उपस्थितिका लागि पत्राचार गर्ने जनाएको छ। प्रक्रिया नपु¥याई हजारौं घनमिटर ढुंगा निकासी हुँदा लाखौं राजस्व गुमेको भन्दै मुद्दा दर्ता गरी अनुसन्धान थालिएको डिभिजनले जनाएको छ। 

डिएफओ श्रेष्ठका अनुुसार वन कार्यालयले प्रतिघनमिटर ३ रुपैयाँ राजस्व लिने नियम छ भने स्थानीय तहले तजबिजी ऐन बनाएर राजस्व असुली गर्नसक्ने प्रावधान छ । तर, यतिका दिनसम्म ढुंगा निकासी हुँदा लाखौं राजस्व गुमेको अनुमान उनको छ।

सिडिओ विष्णु श्रेष्ठले उत्खनन रोकिएको पुष्टि गरे। डिभिजन वनले आवश्यक कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन गरेको पाइएपछि रोक लगाएको उनले बताए। कसमसले उदयपुरकै कटारी नगरपालिका ८ पट्नाभञ्ज्याङबाट पनि चुनढुंगा उत्खन्न गरी आपूर्ति गर्दैै आएको छ। माटीखोलाबाट केही महिनाअघि मात्र उत्खनन थाले पनि पट्नाभञ्ज्याङबाट २/३ वर्षअघिदेखि नै उत्खनन गरी आपूर्ति गर्दै आएको उद्योगले जनाएको छ। 

कसमस सिमेन्ट उद्योगका खानी व्यवस्थापक कृष्ण दुलालले केही व्यक्तिको उजुरीका आधारमा उत्खनन रोकिएको बताए। खानी विभागबाट लाइसेन्स लिएर कानुनी प्रक्रिया पूरा गरेरै खानी सञ्चालनको तयारी गरिरहेको भन्दै उनले खानीसम्म पुग्ने बाटो खन्दा निस्केका ढुंगा मात्र लाने काम भइरहेको बताए। पाँच हजार हेक्टर क्षेत्रफल रहेको खानीस्थलसम्म सडक पु-याउन गाउँपालिकाको आग्रहमा नौ किलोमिटर सडक उद्योगले भर्खरै खनिदिएको दुलालले बताएका छन्। सिमेन्ट उत्पादक संघका प्रमुख कार्यकारी अधिकृत धु्रव थापासमेत सञ्चालक रहेको कसमस सिमेन्ट नेपाली उद्योगीहरुको लगानीको एकमात्र सिमेन्ट कारखाना भएको दुलालले दाबी गरे। 

खानी सञ्चालनका लागि आवश्यक सबै प्रक्रिया पूरा गरिसकेको भए पनि स्थानीय तह, प्रदेश र संघीय सरकारबीचको समन्वय अभावमा कानुनी अड्चन आउँदा उद्योगलाई मार्का परेको बताए। दुलाल राष्ट्रिय अर्थतन्त्रलाई टेवा पु¥याउने उद्योग सञ्चालनमा सबै क्षेत्रबाट सहयोग हुनुपर्ने अपेक्षा गरेको पनि बताए । 

प्रकाशित: २९ माघ २०७५ ११:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App