१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सरकारी अनुदान नपाएपछि उखु किसान आक्रोशित

फोटो क्याप्सन : सर्लाहीको हरिवन स्थित खेतमा फलेको उखु। तस्बिर : टंक/नागरिक

सर्लाही – दुई वर्षअघि खेती गरेर गत वर्ष चिनी उद्योगलाई दिएको उखुको सरकारी अनुदान नपाएपछि उखु किसान आक्रोशित भएका छन्। उखु किसानहरुको छाता संगठन नेपाल उखु उत्पादक महासंघले एक साताभित्र सरकारी अनुदान नपाए पूर्व–पश्चिम राजमार्गमा चक्काजामसहितको आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ।

सर्लाहीका उखु किसानलाई सरकारी अनुदान भुक्तानीका लागि गत असोजमै कोष तथा लेखा नियन्त्रण कार्यालय मलंगवामा २६ करोड ७४ लाख ३१ हजार रुपैयाँ निकासा भएको थियो। तर अनुदान रकम पाउन किसानले निकै झन्झटिलो प्रकृया पूरा गर्नुपर्ने भएपछि उक्त रकम त्यसै थन्किएर बसेको छ। 

कतिपय चिनी उद्योगबाट वर्षौंदेखि उखुको भुक्तानी नपाएर छट्पटाएका किसानलाई सरकारले समेत सहज रुपमा अनुदान रकम उपलब्ध नगराएपछि संघर्षमा उत्रन बाध्य हुनु परेको उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए। महासंघले एक साताभित्र सरकारी अनुदान वितरण सुरु नभए फागुन ६ गते पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवन बजारमा उखुको लाँक्रे जुलुस प्रदर्शन, ७ गते दिउँसो १ बजेदेखि एक घण्टा पूर्व–पश्चिम राजमार्गमा चक्काचाम र ८ गते दिउँसो १ बजेदेखि २ घण्टा चक्काजामको कार्यक्रम तय गरेको छ। त्यसपछि पनि माग पूरा नभए पुनः महासंघको बैठक बसी दोस्रो चरणको सशक्त संघर्षको कार्यक्रम घोषणा गरिने अध्यक्ष मैनालीले चेतावनी दिए।

उद्योग मालिकबाट वर्षौंदेखि पैसा नपाएर छट्पटिइरहेका किसानलाई सरकारले समेत अनुदान भुक्तानीमा अनेक झन्झट राखेर थप पीडा दिएको अध्यक्ष मैनालीको आरोप छ। ‘किसानलाई भुक्तानी नदिने उद्योगपतिलाई कारबाही गर्छु भनेर चेतावनी दिने सरकार आफैंले सहज रुपमा अनुदान उपलब्ध गराउन नसक्नुले हामी अचम्मित र आश्चर्यचकित भएका छौं,’ मैनालीले भने, ‘उद्योगपतिको शोषणमा पर्दै आएका किसानप्रति सरकारसमेत अनुदार भएको छ।’ आधुनिक प्रणालीबाट उखु खेतीमा क्रमशः वृद्धि गर्दै मुलुकलाई चिनीमा आत्मनिर्भर बनाउनुपर्नेमा चिनी उद्योगपतिको शोषण अनि सरकारको उदासिन र अनुदार व्यवहारले किसान उखुखेतीबाटै विस्थापित हुने अवस्थामा पुगेको मैनालीको धारणा छ। 

नेपाल उखु उत्पादक महासंघले एक साताभित्र सरकारी अनुदान नपाए पूर्व–पश्चिम राजमार्गमा चक्काजामसहितको आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ।


नगदे बालीको रुपमा उखु खेती गरेका किसान उधारो हुँदै वर्षौं भुक्तानी नपाउँदा चुर्लुम्म ऋणमा डुबेको समेत मैनालीले दुःखेसो व्यक्त गरे। ‘उद्योगपतिबाट समयमै भुक्तानी नपाएर छट्पटिएका किसान, सरकारी अनुदानसमेत सहज रुपमा नपाउँदा भोकभोकै मर्ने अवस्थामा पुगेका छन्,’ उनले भने, ‘अब उखु खेती गर्नका लागि ऋण खोज्दा समेत नपाउने अवस्थामा किसान पुगेका छन्।’

मैनालीका अनुसार जिल्लाको पश्चिम धनकौल स्थित अन्नपूर्ण सुगर मिलले किसानलाई गत विगत वर्षको २० करोड भन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको छ। सरकारले गतवर्ष प्रति क्वीन्टल ५३६ रुपैयाँ ५६ पैसा मुल्य तोक्दै चिनी उद्योगबाट ४७१ रुपैयाँ २८ पैसा तथा सरकारी अनुदान बापत ६५ रुपैयाँ २८ पैसा उखु किसानलाई उपलब्ध गराउने निर्णय गरेको थियो। तर चिनी उद्योगबाटै भुक्तानी नपाएर छट्पटिरहेका उखु किसान सरकारी अनुदान समेत नपाउँदा थप पीडामा परेका छन्। 

कोष तथा लेखा नियन्त्रण कार्यालय मलंगवाका प्रमुख जगतप्रसाद थपलियाले गत असोजमै निकासा आएको उक्त अनुदान रकम किसानले पेश गर्नुपर्ने आवश्यक कागजात प्राप्त नहुँदा त्यसै थन्किएर बसेको बताए। थपलियाका अनुसार किसानले उखु खेती गरेको जग्गाको लालपूर्जाको प्रतिलिपी, चिनी उद्योगलाई दिएको उखुको परिमाण, चिनी उद्योगले भुक्तानी गर्ने गरेको बैंक खाता नं., अरुको जमिन ठेक्कामा लिएको भए भाडा सम्झौता र ऐलानी जमिन भए स्थानीय तहको वडा कार्यालयबाट क्षेत्रफल र उखु उत्पादन परिमाण सहित सिफारिस पेश गरेपछि मात्र अनदान रकम भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ। 

‘अनुदान रकम निकासा गर्ने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पठाएको कार्यविधिमा उक्त कागजात प्राप्त नभई भुक्तानी नगर्नु भनिएको छ’, कोलेनिका प्रमुख थपलियाले भने, ‘तर साँढे ४ महिना वितिसक्दा समेत किसानहरुको तर्फबाट कार्यविधिमा उल्लेख भए बमोजिमको कागजात हामीलाई प्राप्त हुन सकेको छैन र भुक्तानी गर्न सकेका छैनौं।’

जिल्ला स्थित २ वटा चिनी उद्योगले उचित सहयोग नगर्दा पनि किसानलाई अनुदान रकम भुक्तानीमा समस्या भईरहेको थपलियाले जानकारी दिए। ‘उद्योग व्यवस्थापनले किसानहरुबाट आवश्यक कागजात संकलन गरेर स्थानीय वडा कार्यालयहरुको समेत सिफारिस गराए, उद्योगको खातामा पैसा हालिदिन्थ्यौं’, उनले भने, ‘अनि उद्योगले नै किसानको खाता खातामा जम्मा गर्दा सजिलो हुन्थ्यो।’

गतवर्ष ईन्दुशंकरले ३९ लाख ९९ हजार १२२ क्वीन्टल तथा अन्नपूर्णले १२ लाख ८४ हजार ५६२ क्वीन्टल उखु क्रसिङ्ग गरेको थियो। त्यस्तै महोत्तरी, रौतहट, बारा लगायत जिल्लाका चिनी उद्योगमा समेत ठूलो परिमाणमा सर्लाहीबाट उखु गएको छ। यसवर्ष जिल्लामा ईन्दुशंकर र अन्नपूर्ण बाहेक बगदह स्थित महालक्ष्मी सुगर मिलले समेत उखु क्रसिङ्ग सुरु गरेको छ। 
मुलुकमै सबैभन्दा बढी उखु खेती हुने सर्लाहीमा यसवर्ष २६ हजार हेक्टर क्षेत्रफलमा उखु खेती भएको जानकारहरुले बताएका छन्।

प्रकाशित: २८ माघ २०७५ ०१:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App