१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

हाम्रो ध्यानाकर्षण भएको छ : राष्ट्र बैंक

फाइल तस्बिर

काठमाडौं – लगातारको चर्को बैंक ब्याजदरविरुद्धमा उद्योगी व्यवसायी मुलुकका विभिन्न भागमा आन्दोलनमा उत्रिएको प्रति राष्ट्र बैंकले आफ्नो ध्यानाकर्षण भएको बताएको छ। ब्याजदर धान्नै नसक्ने गरी बढेको भन्दै उद्योगी, व्यवसायीले आन्दोलन घोषणा गरेपछि राष्ट्र बैंकले यस्तो प्रतिक्रिया जनाएको हो।

पछिल्लोेपटक पोखराका उद्योगी व्यवसायीहरु बैंकको चर्को ब्याजदर नघटेको भन्दै आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। बैंकहरुले एकतर्फी रुपमा ब्याजदर बढाएको भन्दै पोखराका उद्योगी, व्यवसायीले बढाइएको ब्याज माघ मसान्तभित्र घटाउन भनेका छन्। उक्त अवधिभित्र ब्याजदर नघटाए चरणबद्ध आन्दोलन गर्ने उद्योग व्यवसायीले चेतावनी दिएका छन्।

यसअघि नेपाल उद्योग वाणिज्य महासंघको सदस्य संस्था उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरले व्यापार, व्यवसाय उठ्नै नसक्ने गरी थलिएको भन्दै तत्काल सम्बोधन गर्न राष्ट्र बैंकसमक्ष माग राखेका थिए।

बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले ब्याजदरबारे उद्योगी, व्यवसायीले छलफल गरिरहेको र ज्ञापनपत्र समेत बुझाएको राष्ट्र बैंकको भनाइ छ।

राष्ट्र बैंक यतिबेला मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने तयारीमा जुटेको छ। चर्को ब्याजदरका विषयमा राष्ट्र बैंकको अर्धवार्षिक समीक्षामा केही सम्बोधन हुँदैछ कि भन्ने प्रश्नमा राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले मौद्रिक नीतिको समीक्षामा समेटिने वा नसमेटिने निर्णय भइनसकेका कारण यसबारेमा आफूले अहिल्यै भन्न नसक्ने बताए। तर, ब्याजदरका बारेमा भने छलफल भइरहेको उनले जानकारी गराए।

प्रतिस्पर्धात्मक क्षमता गुमेको भन्दै उद्योगी, व्यवसायी ब्याज घटाउन माग राखेर सडकमा उत्रिएपछि राष्ट्र बैंक चिन्तित भएको बताइन्छ। सरकारले उद्यम, व्यवसायमैत्री वातावरण बनाएको भनेर दाबी गरे पनि चर्को ब्याजदरले व्यवसाय थलिएको भन्दै उद्योगी, व्यवसायी सडक आन्दोलनमा उत्रिने तयारीमा छन्।

पूर्वका दुई संस्था सम्बद्ध व्यवसायीको मागमा निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले गत साता विज्ञप्ति जारी गर्दै ऐक्यबद्धता जनाएको छ भने मुलुकका अन्य जिल्ला उद्योग वाणिज्य संघहरुले पनि सहमति जनाएका छन्। यसले मुलुकभरका उद्योगी, व्यवसायी चर्को ब्याजदरको विरोधमा एकजुट भएको देखिएको छ। लामो समयदेखि उद्योगी, व्यवसायीले लिने ऋणको ब्याजदर औसतमा १४ प्रतिशतभन्दा माथि पुगेको छ। 

अर्कोतिर निक्षेपको ब्याजदर घट्दा पनि ऋणको ब्याज नघटेपछि व्यवसायी सडकमा उत्रिन बाध्य भएका हुन्। 

बैंक तथा वित्तीय संस्थाका अधिकारीहरु भने उद्योगी, व्यवसायीले भनेजस्तो चर्को ब्याजदर नलिएको दाबी गर्छन्। उनीहरुले निक्षेप–कर्जाबीचको अन्तर (स्पे्रड दर) ४.५० प्रतिशतमात्र लिएको बताएका छन्। 

‘बैंक, वित्तीय संस्थाले पनि सर्वसाधारणबाट निक्षेप लिएर लगानी गर्ने हुन्,’ एक बैंकरले भने, ‘निक्षेपमा कम ब्याजदर दिँदा सर्वसाधारणलाई मर्का पर्छ, उनीहरुलाई बढी ब्याज दिँदा उद्योगी, व्यवसायीलाई मर्का पर्छ।’ दुवै पक्षलाई असर नपुग्ने गरी ब्याजदर निर्धारण गरिएको उनको दाबी छ।

उद्योगी, व्यवसायीले भने ऋणको ब्याजदर बढेको भन्दै घटाउन माग गरेका छन्। बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउँदा आफूहरु मारमा परेको उनीहरुको भनाइ छन्। 

उद्योगी, व्यवसायीले वाणिज्य बैंकबाट लिएको ऋणमा ब्याज सात प्रतिशतबाट बढाएर १४ प्रतिशतसम्म पु¥याएको आरोप लगाएका छन्। ब्याजदर बढाउँदा व्यवसायी मारमा परेको उनीहरुको भनाइ छ। महासंघले यसबारेमा सरकारको ध्यानाकर्षण गराएको छ।

दुई वर्षदेखि बैंक तथा वित्तीय संस्थाबाट एकतर्फी रूपमा ऋणको ब्याजदर अत्यधिक वृद्धि भएका कारणले गर्दा उद्योग, व्यवसाय क्षेत्रको लागत वृद्धि भई सञ्चालनमा कठिनाइ भोगिरहेको विषयमा बारम्बार ध्यानाकर्षण गराएको महासंघको भनाइ छ।

‘महासंघले उठाएका यस विषयलाई सम्बन्धित निकायबाट प्राथमिकता दिई ब्याजदर वृद्धिलाई नियन्त्रण गरी समस्या समाधान गर्ने प्रतिबद्धताका बाबजुद पनि चर्को ब्याजदर नियन्त्रण गर्नेतर्फ कुनै प्रगति नहु“दा त्यसबाट मुलुकभरका उद्योग, व्यवसाय क्षेत्र निकै प्रताडित हुन पुगेका छन्,’ गत साता जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘चर्को ब्याजदर वृद्धिका कारणले एकातर्फ निजी क्षेत्रबाट निर्माणाधीन परियोजनाको लागत वृद्धि भएको छ भने अर्कोतर्फ नया“ परियोजना ल्याउन नसकिरहेको अवस्था छ।’

‘ब्याजदर बढेपछि लागत बढी हुने भएकाले सामानको मूल्य पनि बढेको छ,’ एक व्यवसायीले भने, ‘यसले बजारमा अन्य मुलुकका उत्पादनसँग प्रतिस्पर्धा गर्न यहाँका उद्योगी, व्यवसायीलाई गाह्रो भएकाले व्यवसाय पनि घट्दै गएको छ।’ बैंकले लगनीयोग्य रकमको अभाव देखाउँदै उद्योगीको ढाड सेक्ने गरी अत्यधिक ब्याज बढाएको उनको भनाइ छ। 

बैंकहरुले जसरी ब्याज बढाएका छन् त्यही अनुसार नेपाली वस्तुको उत्पादन गर्ने हो भने लागत बढ्न गई अन्य मुलुकसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने र नेपाली उद्योग क्रमशः धराशयी हुँदै जाने ती उद्योगीले बताए। मुलुकमा सरोकारवाला निकायले ब्याजदर नियन्त्रणका लागि तत्काल नयाँ उपाय, नियम नल्याएमा उद्योगी, व्यवसायी टिक्न नसक्ने अवस्थामा रहेको उनको भनाइ छ।

महँगो ब्याजका कारण उद्योग, व्यवसायको लागत वृद्धि भएको छ। त्यसको असर सर्वसाधारण उपभोक्ताले उपभोग गर्ने वस्तुको मूल्यमा परेको छ। यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पारिरहेको छ। 

नेपाल राष्ट्र बैंक अदूरदर्शी नीतिका कारण लगानीयोग्य रकमको अभाव भएको र यसले ऋणको ब्याजदरमा असर पारेको आरोप उद्योगीहरुको छ। ऋणको ब्याजदर बैंक तथा वित्तीय संस्थाले अस्वाभाविक रुपमा बढाउँदा विशेष गरी ठूला ऋणी मारमा परेका छन्। तत्काल ब्याजदर नघटे उद्योग कलकारखाना बन्द गरेर राष्ट्र बैंकमा साँचो बुझाएर बस्नुपर्ने अवस्था आउन सक्ने चेतावनी उद्योगी, व्यवसायीले दिएका छन्।

‘अस्वाभाविक रुपमा बढेको ब्याजदर तत्काल नियन्त्रण नभए नेपाली उत्पादन विस्थापित हुने अवस्था आउने छ,’ एक उद्योगीले भने, ‘एक्कासि ब्याज अनियन्त्रित रुपमा बढेपछि नेपाली उत्पादनले विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन।’ चर्को कर प्रणाली, ढुवानी तथा भन्सार दर खेप्दै आएका नेपाली उद्योग ब्याज बढेसँगै अझ धराशयी हुने उनको तर्क थियो। तर, नियमन गर्ने निकाय राष्ट्र बैंक र  सरकार कानमा तेल हालेर बसेको व्यवासायीको आरोप छ। 

महासंघले बैंकको ब्याजदर वृद्धि हुने क्रम सुरु भएको भन्दै अव्यावहारिक ढंगबाट एकतर्फी रूपमा ब्याजदर बढाइँदा विगतमा भएको लगानी र आगामी दिनमा हुने लगानीलाई समेत प्रत्यक्ष प्रभाव पारी समग्र अर्थतन्त्र प्रभावित हुने भन्दै ब्याजदर वृद्धि निश्चित सीमाभित्र रहने वातावरण कायम गर्न सरकार, अर्थ मन्त्रालय र राष्ट्र बैंकसमक्ष गम्भीर आग्रह गरेको छ।

प्रकाशित: २८ माघ २०७५ ००:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App