१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दाहालकाे गृहजिल्लामा चार अर्बका याेजना

चितवन - सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताले आआफ्नो निर्वाचन क्षेत्र र गृहजिल्लालाई प्राथमिकता दिएर विभिन्न योजना पारेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला चितवनमा ३६ वटा महत्वपूर्ण योजना सञ्चालनमा छन् । करिब चार अर्ब रूपैयाँका ती योजनामध्ये धेरै दाहालको निर्वाचन क्षेत्रमा छन् । दाहाल चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

दाहाल चितवनबाट विजयी भएपछि उनी जिल्ला आउने क्रम मात्र बढेको छैन विकास योजना पनि ओइरिएका छन् । जिल्लामा उनको पहलमा पारिएका ३६ वटा महत्वपूर्ण योजनाको काम भइराखेको दाहालकी स्वकीय सचिव (चितवन क्षेत्र नम्बर ३) निशा न्यौपाने बताउँछिन् । काम भइराखेका योजनामध्ये अधिकांश दाहालको निर्वाचन क्षेत्रका छन् ।

अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा र निर्वाचन क्षेत्र नम्बर ५ मा पनि यसैगरी योजना पारिएको छ । ओलीको निर्वाचन क्षेत्रसहित झापामा दर्जनौं ठूला योजना पारिएको छ ।

दाहाल चितवनबाट विजयी भएपछि उनी जिल्ला आउने क्रम मात्र बढेको छैन विकास योजना पनि ओइरिएका छन् । जिल्लामा उनको पहलमा पारिएका ३६ वटा महत्वपूर्ण योजनाको काम भइराखेको दाहालकी स्वकीय सचिव (चितवन क्षेत्र नम्बर ३) निशा न्यौपाने बताउँछिन् । काम भइराखेका योजनामध्ये अधिकांश दाहालको निर्वाचन क्षेत्रका छन् । दाहालको निर्वाचन क्षेत्रमा भरतपुर महानगरपालिकाका २९ मध्ये १९ वडा पर्छन् । त्यस्तै माडी नगरपालिका पनि क्षेत्र नम्बर ३ मा पर्छ ।

पछिल्लोपटक माघ १७ गते चितवन आएर तीन फरकफरक कार्यक्रममा सहभागी भए दाहाल । यसै क्रममा उनले भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा कार्यक्रम गरेर पाँचवटा आयोजनाको संयुक्त रूपमा शिलान्यास गरे । रानीपोखरीमा पार्क तथा पूर्वाधार, लक्ष्मीनारायण तथा ओमकारेश्वर मन्दिर पार्क तथा पूर्वाधार, केन्द्रीय बस टर्मिनल परिसर निर्माण सुधार, देवघाटमा विद्युतीय शवदाह गृह तथा मलामी प्रतीक्षालय र भरतपुर अस्पतालमा कुरुवा घर एवं पूर्वाधार निर्माणसम्बन्धी योजनाको उनले शिलान्यास गरेका थिए । ४७ करोड ५७ लाख ३० हजार रूपैयाँबराबरका यी योजनाको काम दुई वर्षमा सक्ने लक्ष्य छ । यी पाँचमध्ये तीन योजना दाहालको निर्वाचन क्षेत्रमा पर्छन्।

यस्तै, सहरी विकास मन्त्रालय सघन सहरी विकास कार्यक्रमअन्तर्गत २ अर्ब रूपैयाँको प्याकेज आयोजना पनि सञ्चालनमा रहेको स्वकीय सचिव न्यौपाने बताउँछिन् । ०७७ असार मसान्तमा सक्ने गरी १३ वटा सडक निर्माणको काम पनि प्याकेजअन्तर्गत भइरहेको जानकारी उनले दिइन् । महानगरीय रिङ रोड र लिंक रोडभित्र पर्ने सबै सडकमध्ये ११ वटा दाहालको निर्वाचन क्षेत्रका हुन् । प्याकेजअन्तर्गत मंगलपुरबाट पार्वतीपुर हुँदै मेघौली जाने २१ किलोमिटर प्रचण्ड मार्गको केही भाग पनि पर्छ । दाहाल माओवादी सशस्त्र युद्धकालमा प्रचण्डका नामले चिनिन्थे ।

सडक डिभिजन कार्यालयमार्फत दाहालकै निर्वाचन क्षेत्रमा ३८ करोड ३५ लाख रूपैयाँका विभिन्न ७ वटा योजनासमेत निर्माणका क्रममा छन् । ०७६ असार मसान्तभित्र सक्ने गरी काम थालिएका योजनामा ६ वटा सडक निर्माण र एउटा पार्क निर्माण छ । दाहालकै निर्वाचन क्षेत्रमा पर्ने माडी नगरपालिकाको प्रमुख सडकमा ९ स्थानमा पुल निर्माणसम्बन्धी प्रक्रियसमेत अघि बढाइएको छ । ६४ करोड ११ लाख ३५ हजार रूपैयाँको लागतमा बन्ने ती पुलको प्रक्रियागत काम सुरु भइसकेको जानकारी न्यौपानेले दिइन् । पतरी, रिमाल, बाँदरमुढे, बगई, मुगई, परवी, धाँगर, टुनामुना र रिउ खोलामा पुल निर्माण गर्ने योजना छ । यही आर्थिक वर्षमा निर्माण सम्पन्न गर्नेगरी फागुनमा शिलान्यास गर्ने तयारी भइरहेको जानकारी उनले दिइन् । धुर्मुस–सुन्तली फाउन्डेसनले बनाउने घोषणा गरेकोे गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र सिटी हलको काम पनि दाहालकै पहलमा अघि बढेको उनी बताउँछिन् । दाहालकै निर्वाचन क्षेत्रमा सो रंगशाला बनाउने भनिएको छ ।

हुलाकी मार्गअन्तर्गतको जगतपुर खण्डका लागि १० करोड ७२ लाख र माडी खण्डका लागि २१ करोड १७ लाख रूपैयाँ विनियोजन भएको पनि उनले बताइन् । उनका अनुसार दाहालकै पहलमा भरतपुर पुल्चोकदेखि गोन्द्राङसम्मको सडकलाई छ लेनको बनाउन डिपिआर तयार हुँदै गरेको छ । यसै आर्थिक वर्षमा दाहालको निर्वाचन क्षेत्रका १३ वटा स्कुलमा एकदेखि चार कोठे भवन निर्माण गर्न २ करोड १० लाख रूपैयाँ बजेट व्यवस्था गरिएको छ । यसबाहेक, भरतपुर महानगरपालिका रिङ रोडको डिपिआर तयार, माडी नगरपालिकामा पर्ने बाल्मीकि आश्रम जोड्ने झोलुंगे पुल निर्माण योजना पनि अघि सारिएको छ ।

मेघौलीको साझापुर माविलाई डिजिटल आइटी सिस्टममा लैजाने, महानगरपालिकामा ढल प्रशोधन योजना सञ्चालन प्रक्रिाया पनि अघि बढाइएको स्वकीय सचिव न्यौपानेले जानकारी दिइन् । उनका अनुसार चितवन, नवलपरासी र तनहुँ जोड्ने पुल देवघाटमा बनाउन पनि अध्ययन अघि बढाइएको छ।

योजना लागत 
रानीपोखरीमा पार्क तथा पूर्वाधारलगायत पाँच योजना ४७ करोड ५७ लाख ३० हजार
सघन सहरी विकास कार्यक्रमअन्तर्गत १३ वटा सडक २ अर्ब 
सडक डिभिजन कार्यालयमार्फत ७ वटा योजना ३८ करोड ३५ लाख 
९ स्थानमा पुल निर्माण ६४ करोड ११ लाख ३५ हजार 
हुलाकी मार्गअन्तर्गतको जगतपुर खण्डका लागि १० करोड ७२ लाख 
माडी खण्डका लागि २१ करोड १७ लाख
१३ वटा स्कुल भवन निर्माण गर्न २ करोड १० लाख 

 

प्रकाशित: २७ माघ २०७५ ०७:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App