१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

यसरी बन्दैछ ह्योल्मो एकीकृत बस्ती (तस्बिर सहित)

हेलम्बु (सिन्धुपाल्चोक)- चर्चित पर्यटकीय गाउँ हेलम्बुको प्रवेशद्धार हो तिम्बु बजार। तिम्बु हुँदै उकालो चढ्दा ह्योल्मो समुदायका पाताला बस्ती छिचालेपछि पुगिने तेम्बाथाङले ध्यान खिच्यो। लाली गुराँश लगायत घना बुट्यानबीच झण्डै सय रोपनी जग्गामा एउटै शैली र आकारमा घरहरु ठडिँदै छन्। न ठूला, न साना, मझौला संरचना। हरियो रंगको कर्कटपाताले छाइएका घरहरु चिटिक्क देखिन्छन्।

उत्तरतिरबाट आमायाङ्री, दोर्जेलाक्पा, थाङपालछ्यो लगायत आधा दर्जनको संख्यामा रहेका हिमाल खुलेका बेला घरहरुको सौन्दर्यमा अझ निख्खरता ल्याउने रहेछ। संरचनाका बुट्टेदार आकर्षक झ्यालमा मन एकटकले अडियो। यो ह्योल्मो समुदायको परम्परागत झ्याल हो। यसलाई स्थानीय भाषमा ‘नाम्बा कोसुङ’ भनिँदो रहेछ। ह्योल्मो संस्कृति कायम राख्दै ठडिएका घरहरुले बाक्लो बस्तीकै रुप लिँदा डेढ सय दिन श्रममा जोतिइसकेका करछिरिङ लामा शेर्पाले दबिएको खुशी छर्न भ्याइहाले, जसरी खुलेका हिमाले चमक छरेका छन्।

यो ह्योल्मो समुदायले ठड्याउँदै गरेको एकीकृत बस्ती हो। ‘अबको एक महिनाभित्र बस्तीभित्र  छिर्छौं,’ हातका औँला भाँचेर दिन गन्दै करछिरिङले भने। उनका अनुसार २०७२ वैशाख १२ को बिनासकारी भूकम्पपछि आसपासका थालथलोबाट विस्थापित पीडित बसोबास गर्ने छन्। यहाँ ४४ घरधुरीको एकीकृत बस्ती विकास भइरहेको हो।

स्थानीय पीडित, हेलम्बु गाउँपालिका, दाता अक्सफाम, साझेदार संस्था जनहित ग्रामीण सेवा समिति र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बहुपक्षीय साझेदारीमा एक वर्षदेखि बस्ती विकास भइरहेको छ। घरलौरी एक सदस्य निस्किएर स्थानीय दिनरात नभनि पुनर्निर्माणमा खटिइरहेका छन्। उनीहरु परम्परा कायम राख्दै ह्योल्मो संस्कृति झल्कने बस्ती बनाउन तल्लिन छन्। तेम्बाथाङ एकीकृत बस्तीका अध्यक्ष साङ्गे लामा बस्ती विकासमा स्थानीयले एक सय ५० दिन श्रमदान गरिसकेको बताउँछन्।

‘सकेसम्म ह्योल्मो संस्कृति झल्काउने बस्ती बनाउनु हाम्रो ध्येय हो,’ उनले भने। उनका अनुसार बस्तीको प्रत्येक घरमा एउटा नाम्बा कोसुङ (परम्परागत झ्याल) राखिएको छ। हरेक घरमा धुँवारहित तन्दुरी चुल्हो प्रयोगमा आउने साङ्गेले बताए। यो ह्योल्मो समुदायको परम्परागत चुल्हो हो।

इन्टरलक इँटा प्रयोग गरी बनेका घरहरु आठ आना जमिनमा फैलिएका छन्। चार आना खुला क्षेत्र राखेर त्यति नै जमिनमा बनेका संरचनामा बरण्डा र तीन कोठा छन्। ‘परम्परागत झ्याल, ढोका र र्इँटा हामीले नै बनाएको हौँ,’ अध्यक्ष साङ्गेले सुनाए। उनका अनुसार तालिमसहित परम्परागत झ्याल बनाउन हेलम्बु गाउँपालिकाले सहयोग गरेको थियो। स्थानीय संस्कृति झल्कने प्रतिझ्यालको लागत एक लाख रुपैयाँ पर्न गएको छ।

चार करोड रुपैयाँ लगानी यो एकीकृत बस्ती सम्पन्न हुँदै छ। जनहितसँगको साझेदारीमा दाता अक्सफामले तीन करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ। बस्ती सम्पन्न हुँदा स्थानीयले एक करोड रुपैयाँ बराबरको श्रमदान हुने छ। ‘पूर्वाधार विकास र बस्ती सम्पन्न भएपछि जीविकोपार्जनमा तीन करोड रुपैयाँमध्येबाटै सहयोग पुर्याउँदै छौँ,’ साझेदार जनहितका कार्यकारी निर्देशक राजेन्द्र शर्माले भने।

बस्तीसम्म पुग्ने मोटरबाटो निर्माणमा गाउँपालिकाले सघाएको थियो। बस्तीमा सामुदायिक भवन, तीनवटा होमस्टे भवन, एक घर एक धारा र शौचालयसहितका पूर्वाधारसमेत बन्ने छन्। खानेपानीका लागि २० हजार लिटरको खानेपानी ट्ंयाकी बनिसकेको छ। प्राधिकरणको लाभग्राही सूचीमा समेटिएका ४० घर एकीकृत बस्तीमा बस्ने छन्। लाभग्राहीमा समेटिन गुनासो भरेका थप चारघरसमेत बस्तीमा समेटिएका छन्। हालसम्म २१ घरको छाना छाउने काम सम्पन्न भइसकेको छ।

बाँकी घरको छाना छाउने, धारा जडान गर्ने, शौचालय बनाउने र अन्तिम ‘फिनिसिङ’ (रंगारोगन) गर्ने काम एकसाथ अघि बढिरहेको शर्माले बताए। ‘एक महिनाभित्र बस्ती समुदायलाई हस्तान्तरण गर्ने गरी कामलाई तीव्रता दिएका छौँ,’ उनले भने। उनका अनुसार गोलाप्रथा गरेर स्थानीयले घर छानिसकेका छन्। घर छान्न हानथाप नहोस भनेर स्थानीयकै सुझावअनुसार गोलाप्रथा गरिएको थियो। निर्माण सम्पन्न हुँदा प्रतिघर लागत १० लाख रुपैयाँ नाघ्ने अनुमान गरिएको छ। अनुदान, श्रमदानसहित पुनर्निर्माणमा स्थानीय लगानी ६ लाख रुपैयाँ पुग्ने प्रभावित बताउँछन्।

यो एकीकृत बस्तीमा पूर्वाधार विकास गर्न प्राधिकरणबाट २ करोड ९० लाख रुपैयाँ बजेट बिनियोजन गरेको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए। ‘गाउँपालिकामार्फत नै यो रकम खर्च हुने छ,’ उनले भने, ‘बस्तीलाई ह्योल्मो क्षेत्रकै नमूना बनाउन गाउँपालिकाबाट पनि पूर्वाधार विकासमा बजेट थप्छौँ।’

आठ अजार रुपैयाँ पर्ने तन्दुरी चुल्हो खरिद गर्न गाउँपालिकाले प्रतिपरिवार तीन हजार रुपैयाँ अनुदान दिने निर्णय गरेको उनले बताए। बाँकी ५ हजार रुपैयाँ दाता अक्सफामले दिने छ। भूकम्पपछि ह्योल्मो संस्कृति झल्कने घर लोप हुने संघारमा पुगेकाले त्यसलाई जोगाउन नमूनाको रुपमा यो एकीकृत बस्ती विकास गर्न लागिएको अध्यक्ष निमाग्याल्जेन बताउँछन्।

               

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App