१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेससँग निहुँ खोज्ने बाँकी रहेको इतिहास छैन : बलायर

पर्वत– नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री बिरबहादुर बलायरले काँग्रेससँग निहुँ खोज्ने बाँकी नरहेको बताएका छन्। मंगलबार यहाँ आयोजित कार्यक्रममा उनले नेकपाले काँग्रेसलाई पेल्न थालेको भन्दै काँग्रेस सडकमा आउँदा नेकपा पनि इतिहास बन्ने चेतावनी दिए। ‘काँग्रेसको इतिहास हेर्नुस, निहुँ खोज्ने बाँकी रहेको इतिहास छैन’ उनले भने, ‘राणाले निहुँ खोजे सकिए, पञ्चायती ब्यवस्थाले निहुँ खोज्यो सकियो, राजाले निहुँ खोजे राजसंस्था नै ढल्यो।’ 

उनले एकपछि अर्को गर्दै नेपाली काँग्रेसलाई दबाउन नेकपाले बल प्रयोग गरेको उनले बताए। संसदमा दुई तिहाई भएकै कारण नेकपाले मार्सल लगाउने काम गरेपनि सडकमा मार्सल लगाएर देखाउन उनले चेतावनी दिए। ‘संसदमा मार्सल लगाएर बल प्रयोग भयो तर सडकमा मार्सल लगाएर देखाउ त’ उनले भने। चिकित्सा शिक्षा बिधेयक आम नागरिकमैत्री नभएको भन्दै उनले माफियाको पक्षमा आएको दाबी गरे। 

डा.गोबिन्द केसीले आम नागरिकमैत्री चिकित्सा शिक्षा बिधेयक ल्याउनका लागि गरेको संघर्षलाई हल्का रुपमा लिएर संसदमा दुई तिहाई माफियाको पक्षमा लागेको आरोप लगाए। काँग्रेस नेता बलायरले निर्मला पन्तको बलात्कार र हत्याका दोषीलाई सरकारले नै लुकाएर दाबी गरे। ‘निर्दोष ब्यक्तिलाई पक्राउ गरेर यातना दिइयो तर शंकास्पदलाई पक्राउ गरिएन, त्यसैले यो सरकारले नै निर्मला पन्तको बलात्कारी र हत्यारालाई लुकाएको छ’ काँग्रेसको तर्फबाट छानबिनमा खटिएका बलायरले भने। बम दिदिबहिनी यो घटनामा पूर्ण जानकार रहेको दाबी पनि उनले गरे। 

पूर्वएमाले र पूर्वमाओबादीबीचको एकता देखावटी मात्रै भएको भन्दै उनले धेरै दिन नटिक्ने दाबी पनि गरे। प्रचण्ड आफ्नो घर छाडेर ओलीको शरणमा गएको दाबी गर्दै बलायरले भने, ‘अहिलेको एकता देखावटी मात्रै हो, अर्काको घरमा शरण लिन जानेहरु स्थायित्व हुँदैनन्।’ उनले नेकपाका अध्यक्ष प्रचण्ड बिचार, कार्यदिशा र सामथ्र्यबिहिन भएको बताए। ‘हिजोको प्रचण्डमा बैद्यको बिचार थियो, बाबुरामको कार्यदिशा थियो र विप्लवको सामथ्र्य थियो’, उनले भने– ‘आजका प्रचण्ड ‘बबाबी’बाट छुट्टिएका छन्।’ 

उनले काँग्रेस नरहँदा नेपाल नै नरहने भन्दै कम्युनिष्टमा राष्ट्रियता नै नरहने दाबी गरे। ‘काँग्रेस नहुँदा नेपाल रहँदै रहँदैन, रह्यो भने मैले मेरै टाउको काटिदिन्छु’ उनले भने। कम्युनिष्टले जनतालाई धोका दिन बाहेक अरु केही नजानेको भन्दै नेकपालाई मत दिएकाहरु जताततै पछुताइरहेको दाबी बलायरले गरे।

उनले नेपाली काँग्रेसभित्र पनि सुधारको खाँचो रहेको भन्दै आफु त्यसमा संघर्षरत रहेको बताए। काँग्रेस भनेर हिँड्ने तर चुनावमा काँग्रेसलाई मत नदिनेहरुलाई अहिले नै अर्को बाटो लाग्न उनले आग्रह गरे। उनले कार्यकर्तालाई कुनैपनि गुटमा नलागी सत्यताको पक्षमा लाग्न पनि आग्रह गरे।

प्रकाशित: २२ माघ २०७५ १५:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App